Comments Add Comment

चितवनमा प्रदेशस्तरीय प्रहरी विद्यालय सञ्चालन

१३ वैशाख, चितवन । नेपाल प्रहरीले चितवनमा प्रदेशस्तरीय प्रहरी विद्यालय सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुरस्थित श्री आधारभूत विद्यालयमा नै प्रहरीले विद्यालय सञ्चालन गरेको हो ।

आधारभूत विद्यालयको २ बिघा जग्गा र कक्षा कोठा प्रहरीलाई दिइएको छ । सो विद्यालयमा विद्यार्थी संख्या कम भएपछि गाभ्न लागिएको थियो । विद्यालयमा जम्मा ५९ जना विद्यार्थी अध्ययनरत थिए । प्रहरीले विद्यालय सञ्चालन गरेपछि त्यहाँ अध्ययन गरिरहेका ती विद्यार्थीलाई कक्षा ५ सम्म प्रहरीले नै निःशुल्क पढाउने छ ।

शुक्रबारबाट कक्षा सञ्चालन गरिएको विद्यालयका प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए । कक्षा १ देखि ५ सम्म २५३ जना विद्यार्थी भर्ना भएका छन् । प्रहरी परिवारका २९ जना विद्यार्थी छन् भने बाँकी सबै नागरिकका बालवच्चा भर्ना भएका छन् ।

कक्षा १ र ३ मा दुई-दुई सेक्सन रहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । विद्यालयमा १५ जना प्रहरी र १० जना शिक्षक छन् । विद्यालयमा विद्यार्थी ल्याउन र लैजान दुईवटा बस दैनिक भाडा तिर्ने गरी लिइएको अधिकारीले बताए ।

विद्यालयमा ६० प्रतिशत प्रहरी कर्मचारी र ४० प्रतिशत स्थानीय नागरिकका छोराछोरी भर्ना गरिने छ । महानगरसँग सम्बन्धित वडा र छिमेकका २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने सम्झौता पनि भएको छ

प्रदेशस्तरीय प्रहरी स्कुल हाल कक्षा ५ सम्म सञ्चालन गरिने छ । हरेक वर्ष कक्षा थप गर्दै १२ सम्म पढाउने उद्देश्यका साथ स्कुल खोलिएको अधिकारीले बताए । एउटा कक्षामा ३० जनाको दरले सुरुवातमा एक सय ५० जनालाई पढाउने लक्ष्य भए पनि विद्यार्थीको चाप अधिक भएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ ।

प्रहरीले चलाएको यो नवौँ स्कुल हो । विद्यालय सञ्चालनका लागि गत चैत १ गते नेपाल प्रहरी र भरतपुर महानगरपालिकाबीच सम्झौता समेत भैसकेको छ । सम्झौताको अनुमोदन महानगरपालिका कार्यपालिका बैठकले गरिसकेको छ ।

विद्यालयमा ६० प्रतिशत प्रहरी कर्मचारी र ४० प्रतिशत स्थानीय नागरिकका छोराछोरी भर्ना गरिने छ । महानगरसँग सम्बन्धित वडा र छिमेकका २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने, पाँच लाखको अक्षयकोष स्थापना गरी त्यस क्षेत्रका गरिब जेहेन्दार विद्यार्थीलाई अन्य स्कुलमा पढ्दा छात्रवृत्ति दिने सम्झौता भरतपुर महानगरपालिकासँग भएको छ ।

प्रहरी कल्याण कोष अन्तर्गत विद्यालय निर्माणका लागि प्रहरीले १५ करोड खर्च गर्ने योजना बनाएको छ । विद्यालयमा प्रहरी व्यारेक, आवासीय भवन, खेल मैदान, अत्याधुनिक विद्यालय भवन रहने गरी प्रहरी प्रधान कार्यालयले योजना बनाएको छ । ‘फेजबाइज रुपमा निर्माणको काम अघि बढ्छ,’ एसएसपी दीपक थापाले भने, ‘पहिलो चरणमा ५ करोड खर्च गर्छौं, साउनबाट काम सुरु हुन्छ ।’

प्रहरी विद्यालयको गुरुयोजना अनुसार यस वर्ष दिवा कक्षामात्र सञ्चालन गरिने छ भने अर्काे वर्षबाट आवासीय सुविद्यासमेत विद्यार्थीले प्राप्त गर्नेछन् । प्रहरी एसएसपी थापाले स्थानीय गरिब र अल्पसंख्यक जनजातिका बालबालिकाहरुले पाँच वर्षसम्म निःशुल्क अध्ययन गर्न पाउने जानकारी दिए ।

नेपाल प्रहरीले सातै प्रदेशमा प्रहरी आवासीय विद्यालय स्थापना गर्ने भएको छ । प्रहरी अधिकृत तथा जवानका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्ने योजनमा प्रहरी प्रधान कार्यालय छ । प्रदेश नम्बर ३ को चितवन र प्रदेश नम्बर ६ को सुर्खेतमा प्रहरीले चालु आर्थिक वर्षमा नै विद्यालय सञ्चालन गर्ने योजना प्रहरीको छ ।

यसअघि मध्यमाञ्चल विकास क्षेत्रको रौतहटमा प्रहरी विद्यालय सञ्चालनमा थियो । सो ठाउँ हाल प्रदेश नम्बर २ मा परेपछि प्रदेश नम्बर ३ को चितवनमा प्रहरी विद्यालय खोलिएको एसएसपी थापाले बताए ।

प्रदेश १ को धरान (सुनसरी), प्रदेश २ को गरुढा (रौतहट), गण्डकी प्रदेशको बेलचौतारा (तनहुँ), प्रदेश ५ को घोराही (दाङ) र सुदूरपश्चिमको धनगढी (कैलाली) का प्रहरी विद्यालयमा विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन् ।

चितवनमा सेनाले पनि सैनिक विद्यालय सञ्चालन गर्दै आएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिकामा केही वर्ष अगाडिबाट सेनाले विद्यालय सञ्चालन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment