+
+
Shares

गोठमै पुगेर गाई-गोरुको ट्रयाकिङ गर्नुपर्छः मेयर शाक्य

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १३ गते १९:४५

१२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले छाडा चौपायाको समस्या हटाउन गाई गोठमै पुगेर गाइगोरुको ट्रयाकिङ गर्नुपर्ने बताएका छन् ।

शुक्रबार महानगरको कृषि विभाग, पशु सेवा महाशाखाले आयोजना गरेको रेविज रोग सम्बन्धी अन्तरक्रियामा बोल्दै मेयर शाक्यले सडकमा पाइने छाडा चौपायाको पहिचान गर्न अब छिमेकी नगर सिमानामा भएका गाई गोठमा गएर तिनीहरुलाई ट्रयाकिङ गर्नुपर्ने बताए ।

‘सहरमा कुकुर पाल्न सोख गर्ने तर व्यवस्थापनमा गैरजिम्मेवार पशुप्रेमीलाई जिम्मेवार बनाउनुपर्छ,,’ शाक्यले भने,’ बजेट व्यवस्था गरेरै सहरमा पाइने छाडा कुकुर र चौपायाबाट हुने जोखिम हटाइन्छ ।’

पशु पंक्षी डुलिरहने हुनाले कुकुर र छाडा चौपाया व्यवस्थापन गर्ने कामलाई महानगरभित्र मात्र सीमित गरिनु नहुो मेयर शाक्यको भनाइ छ ।

अन्तरक्रियामा बोल्दै वडा ३२ का अध्यक्ष नवराज पराजुलीले एकीकृत रुपमा कार्यक्रम अघि बढाउनु पर्ने खाँचो औंल्याए ।

अन्तरक्रियामा डा. माधव दाहालले नेपालमा बर्षेनी करीब १२५ जना मानिस र करीब १ हजार पशु रेविजकै कारण मर्ने गरेको तथ्यांक प्रस्तुत गरे ।

‘संख्या सानो हुन सक्छ तर अबस्था जटिल हो । यो त मर्नेको मात्र संख्या हो । कुकुर र अन्य जनावरले टोकेर रेविजको त्रास बोकेर अस्पताल पुग्ने मानिसको संख्या ठूलो छ,’ उनले भने ।

रेविजको औषधि किन्न टेकु अस्पतालले मात्र वाषिर्क करीब २० करोड रुपैयाँ खर्च गर्ने गरेको छ ।

अन्तरक्रियामा महानगरीय सामुदायिक कुकुर व्यवस्थापन ‘मनुमित्र’का समुदाय परिचालन संयोजक बसन्त गौतमले काठमाडौंका २६ वटा वडाका सामुदायिक कुकुरलाई बन्ध्याकरण गरिसकिएको बताउँदै आउँदो जेठ महिनाभित्र सबै वडाका कुकुर बन्ध्याकरण सकिने बताए ।

यस अवधिमा ८ वटा रेबिजग्रस्त कुकुर भेटिएका थिए । अन्तरक्रियामा आफा नेपालका सुप्रभात बस्नेतले वडा नं. २ का सामुदायिक कुकुरहरुका कानमा ट््याग झुण्ड््याइएको बताउँदै अब ती कुकुरको अवस्था अभिलेखीकरण हुने बताए ।

अन्तरक्रियामा सामुदायिक कुकुरभन्दा घरमा पाल्ने गरिएका कुकुरको दर्ता गरेर तिनीहरुलाई प्रचलित मापदण्डका आधारमा मात्र पाल्न दिइने व्यवस्था गरिनु पर्नेमा जोड दिइएको थियो । घरमा कुकुर पाल्ने अर्काको अगाडि लगेर दिसा पिसाब गराइदिने सहरबासीको आचरण डरलाग्दो समस्या भएको बताइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?