Comments Add Comment

लथालिंग संरचनाकै भरमा कांग्रेसको जागरण अभियान !

१३ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यही वैशाख अन्तिम साताबाट ‘राष्ट्रिय जागरण अभियान’ सुरु गर्दैछ ।

अभियानको मुख्य उद्देश्य पार्टीलाई ब्युझाउने र राष्ट्रिय राजनीतिमा दबाव सिर्जना गर्ने भनिएको छ । तर, पार्टी संगठन लथालिंग भएको अवस्थामा सुरु गर्न लागिएको जागरण अभियान कति प्रभावकारी होला भन्ने प्रश्न कांग्रेसकै नेताहरुको छ ।

कांग्रेसको संशोधित विधानअनुसार केन्द्रदेखि वडासम्म सात तहका कार्यसमिति हुनुपर्ने हो तर, अहिले केन्द्रीय कार्यसमिति र जिल्ला कार्यसमिति मात्र सक्रिय छ । प्रदेश, प्रतिनिधिसभा क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, गाउँ/नगर र वडा कार्यसमिति बनेकै छैनन् ।

महासमितिबाट विधान संशोधन गरेको चारमहिना नाघिसक्दा कांग्रेसले पार्टीलाई संघीय संरचनामा ढाल्न सकेको छैन ।

पार्टीको वर्तमान केन्द्रीय कार्यसमितिको चार वर्षे कार्यकाल आगामी फागुनसम्म छ । विधान अनुसार चारवर्षभित्रै महाधिवेशन गर्न तल्ला समितिहरुको अधिवेशन सुरु गर्ने बेला भइसक्यो । विधानले दिएको सुविधाअनुसार एक वर्ष म्याद थप्ने हो भने पनि संक्रमणकालीन व्यवस्थाअनुसार संघीय संरचना बनाउन सकिन्छ ।

तर, कांग्रेस न अधिवेशन गर्ने, न त संघीय संरचनाअनुसार प्रदेश समिति बनाउने तयारीमा छ ।

आम चुनावमा नराम्ररी हार व्यहोरेपछि थलिएको कांग्रेस लामो समय आरोप प्रत्यारोपमा सीमित भयो ।

संस्थापन इतर नेताहरुले चुनावी हारको दोष पार्टी सभापति शेरबहादुर देउवालाई दिए भने संस्थापन पक्ष नेतृत्वको बचाउमा उत्रियो । प्रहार र प्रतिरक्षाको सिलसिला सिथिल भएपछि राष्ट्रिय जागरण अभियान घोषणा भएको छ ।

कांग्रेसले २५ वैशाखदेखि २५ जेठसम्म ७७ वटै जिल्लामा पहिलो चरणको जागरण अभियान सञ्चालन गर्ने कार्यक्रम बनाएको छ । दोस्रो चरणमा ३३० निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७५१ स्थानीय तहमा जागरण अभियान लैजाने कार्यक्रम छ ।
जागरण अभियान घोषणासँगै तत्काल पार्टीको तल्लो कमिटीहरु बन्ने सम्भावना टरेको देखिएको छ । पार्टी संरचनाहरु नै नभएको अवस्थामा चलाइने जागरण अभियान प्रभावकारी हुनेमा कांग्रेस नेताहरुले शंसय वयक्त गर्छन् ।

युवा नेता गगन थापा पार्टीलाई संघीय संरचनामा ढाल्न जरुरी भइसकेको बताउँछन् । प्रदेश र स्थानीय तहरुमा पार्टी कमिटी नहुँदा प्रमुख प्रतिपक्षीको भूमिका समेत राम्रोसँग खेल्न नसकेको उल्लेख गर्दै थापा प्रतिप्रश्न गर्छन्, ‘२३०/४० वटा स्थानीय तह जितेका छौं । त्यहाँ जनताको अपेक्षा अनुसार काम भए नभएको कसले हेर्छ ? हामी हारेको ठाउँमा प्रतिपक्ष खोई ?’

अर्का नेता चन्द्र भण्डारी पनि अभियान चलाएर जनतालाई कांग्रेस आयो भनेर देखाउन राम्रो भएपनि त्यसका लागि संगठन आवश्यक पर्ने बताए । भन्छन्, ‘हामी जनतामाझ जानु, कांग्रेस आयो भनेर देखाउनु र सरकारबारे कमी कमजोरी औल्याउनु राम्रो हो । तर, संगठन नहुँदा त्यसलाई कसले सम्हाल्छ ?’

संस्थापन इतरका कतिपय नेताहरु जागरण अभियानलाई पार्टी सभापति देउवाको बठ्याँई मान्छन् । हिजो चुनाव लगत्तै तल्ला समितिहरुसम्म चुनावी समिक्षा गरौं भन्दा सभापति स्वयंले नमानेका स्मरण गर्दै एक नेता भन्छन्, ‘अहिले पार्टीभित्र उहाँको आलोचना केही मत्थर भएको छ र सरकारतिर ध्यान गएको बेला जागरण अभियान ल्याइएको हो । संरचना नै नभई कसरी सफल हुन्छ ?’

कांग्रेसको कमिटीहरु मात्र होइन, उसको भ्रातृ संगठनहरुको संरचनापनि लगालिंग अवस्थामा छ । नेपाल विद्यार्थी संगठनको निर्वाचत कमिटी भंग भइसकेको छ भने नयाँ गठन गर्न सकेको छैन । तरुण दल लगायतका भ्रातृ संगठनहरु पनि लामो समयदेखि अधिवेशन नभएका कारण थिलथिलो अवस्थामा छन् ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा पनि पार्टी संरचना व्यवस्थित नभएको स्वीकार गर्छन् । त्यस्तो बेला चलाइने जागरण अभियान कति प्रभावकारी होला भन्ने प्रश्नमा शर्मा भन्छन् । ‘कांग्रेस संरचनाविहीन भएको होइन, व्यवस्थित नभएको मात्र हो । भएका संरचनाहरुलाई नै सक्रिय बनाउन अभियान चलाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment