Comments Add Comment

बालुवाटार जग्गा खरीद प्रकरणमा अख्तियारकै ४ पूर्वपदाधिकारीको मिलेमतो

१४ वैशाख, काठमाडौं । शनिबारीय सामग्रीसहित आज प्रकाशित दैनिक पत्रिकाहरुले बालुवाटार जग्गा खरीद प्रकरणदेखि बेइजिङमा राष्ट्रपतिले गरेको सम्बोधनसम्मका विषयलाई प्राथमिकतामा राखेका छन् । त्यस्तै, खुलामञ्च अतिक्रमण, नागरिकताबारे सर्वोच्चले गरेको आदेश, बेरोजगारी समस्यालगायत विषय पनि आजका पत्रपत्रिकाहरुमा समेटिएका छन् ।

बालुवाटार जग्गा खरीद प्रकरणबारे निरन्तर चासो देखाउँदै आएको कान्तिपुरले आज पनि यसमै केन्द्रित भएर मुख्य समाचार लेखेको छ । समाचार अनुसार बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चार पदाधिकारीको मिलेमतो एवं संलग्नताको प्रमाण फेला परेको छ ।

करिब डेढ दशकको अवधिमा अख्तियारको नेतृत्व गरेका तीनसहित चार पदाधिकारीले त्यस प्रकरणको उजुरीलाई अनुसन्धान नगरी असफल बनाएको दाबी कान्तिपुरको छ । कान्तिपुरमा अनुसार, यसमा अख्तियारका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्की र दीप बस्न्यातसँगै पूर्वआयुक्त ललितबहादुर लिम्बु र वेदप्रसाद सिवाकोटी संलग्न देखिएका छन् । उनीहरुले यस प्रकरणमा संलग्नलाई कारवाही गरी जग्गा फिर्ता गराउन सकिने अवस्था हुँदाहुँदै पनि उजुरीमाथि छानबिन गर्न उदासीनता देखाएका थिए ।

यस वर्ष अर्थतन्त्रको आकार ४ खर्ब ३३ अर्ब २८ करोड रुपैयाँले बढ्ने भएकोलाई पनि कान्तिपुरले समेटेको छ । त्यस्तै, दाजुलाई प्रदेश ३ का मन्त्रीले २३ योजना दिएको खुलासा पनि आजको कान्तिपुरले गरेको छ । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले २३ वटा योजना दाजु श्यामनन्दन यादवलाई सम्पेका हुन् । उनको सिफारिसमा सामाजिक विकास मन्त्रालयले श्यामनन्दनलाई ६ करोड १७ लाख रुपैयाँबराबरका योजना पारिदिएको समाचारमा उल्लेख छ ।

अन्नपूर्णले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको दूरावस्थाबारे मुख्य समाचार लेखेको छ । विकट यो क्षेत्रमा यातायातलगायत सडक पूर्वाधार नपुग्दा जनजीवन कष्टकर बन्दै आएको छ ।

देशका बेरोजगारहरुको हिसाब पनि आजकाे अन्नपूर्णले निकालेको छ । अन्नपूर्णका अनुसार, ५ लाख ११ हजार पुरुष र ३ लाख ९७ हजार महिला बेरोजगार छन् । श्रम बजारमा हाल ८० लाख नेपाली उपलब्ध छन् । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको श्रमशक्ति सर्वेक्षण, २०१९ अनुसार बेरोजगारी दर ११.४ प्रतिशत छ ।

जितेन्द्रनारायण देवको अध्यक्षतामा रहेको एक सदस्यीय नागरिकता वितरण टोलीले ०५४ मा बाँडेका नागरिकता बदर गर्न सर्वोच्चले आदेश दिएकोलाई नागरिकले प्राथमिकताका साथ लेखेको छ । ०५४ मा प्रमुख जिल्ला अधिकारी मातहत नरहेका अधिकृत टोलीले ३४ हजारलाई नागरिकताको प्रमाणपत्र दिएको भन्दै सर्वोच्चले ती नागरिकता खारेज गर्न आदेश दिएको हो । सर्वोच्चको विशेष इजलासले यसअघि नै खारेज गरेका ती नागरिकता सरकारले हटाउन सकेको थिएन ।

गोरखापत्रले आज अलि पृथक विषय मौसम भविष्यवाणीबारे प्रमुख समाचार बनाएको छ । अन्य मुलुकहरु मौसमको पूर्वानुमानमा निकै अगाडि रहे पनि नेपाल भने प्रविधि र जनशक्ति दुवै हिसाबले पुरातन र चुनौतीपूर्ण अवस्थामा रहेको गाेरखापत्र समाचारको सार छ ।

नयाँ पत्रिकाले वर्ष ०७६ आशाको वर्ष हुने लख काटेको छ भने समाचारपत्रमा कक्षा ११ र १२ का प्रश्नपत्र सीसीटीभीको निगरानीमा रहने खबर छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment