Comments Add Comment

असिनापानीले हिउँदेबाली नष्ट

Photo Credit : प्रतीकात्मक तस्वीर

१४, वैशाख, डडेल्धुरा । जिल्लामा परेको असिनापानीले खाद्यान्न, फलफूल र तरकारीलगायतका हिउँदेबालीमा क्षति पुर्याएको छ ।

असिनापानीले अजयमेरु गाउँपालिकाको वडा नं १, २, ३ र ४ का मगराउ, भुलकुँडा, खतेडा, बजकोट, चुल्लेलगायतका आधा दर्जन गाउँमा लगाइएको तरकारी बाली तथा गहुँ, जौँ नष्ट पारेको हो ।

दिउँसो करीब एक घण्टा परेको असिनापानीले पाक्न थालेको गहुँ र जौँसहित अन्य अन्नबाली पूर्णरूपमा नष्ट भएको अजयमेरु–१ का लक्ष्मी भट्टले जानकारी दिइन् । साथै ओखर, जुनार, सुन्तलामा समेत क्षति पुगेको भट्टको भनाइ थियो । त्यस्तै तरकारी पनि पूर्णरूपमा नष्ट भएको खतेडाका किसान धर्मानन्द भट्टले बताए ।

भित्र्याउने बेला भएको गहुँबाली पूर्णरूपमा नष्ट भएपछि खाद्यान्नको अभाव हुने भन्दै स्थानीयबासिन्दा गणेश पाण्डेले चिन्ता व्यक्त गरे । गाउँपालिकाको लेकाली गाउँमा गँहु प्रमुख खाद्यबालीका रूपमा रहेको बताउँदै पाण्डेले भने, ‘गहुँबाली नष्ट हुँदा अब के खाने भन्ने पीरले सताएको छ ।’

असिनापानीले भएको क्षतिको अनुगमन गरेर विवरण लिने काम भइरहेको र क्षतिपूर्तिका लागि कार्यपालिकाको बैठकबाट निर्णय लिने गाउँपालिका अध्यक्ष उमेश भट्टले बताए । यसैगरी गाउँपालिकाको टोलीले असिनापानीले क्षति गरेको स्थानको अनुगमन गरी क्षतिको विवरण लिने काम भइरहेको र छिट्टै राहत उपलब्ध गराउने बताइएको छ । करीब ४५ वर्षपछि यति ठूलो असिनापानी परेको स्थानीयवासी वडा नं १ का अध्यक्ष दत्तीसिंह भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment