Comments Add Comment

कथाः हर्जना

हप्ता दिनभरिको कामको चापाचापलाई विश्राम दिने भनेको मेरालागि आइतबार मात्रै हो । बाहिर चियो थियो र यही बाहानामा हिटरको तातो लिइरहेँ । हातमा हर्रराउँदो कफीले बाफसँगै बास्ना छरिरहेको थियो ।

‘आहा ! कफी, चिनी, दुध र कफीको एकदमै मात्रा मिलेछ, आखिर मेरो अनुभवी हात न पर्‍यो ।’आफ्नै प्रसंसा गरेँ ।

केही घुड्की पिएको मात्र थिएँ मोबाइलमा फोनको घण्टी बज्यो । जापानको ठाउँमा हत्तपत्त मेरो मोबाइलमा फोन आउँदैन । आयो भने पनि काम गर्ने ठाउँबाट मात्रै हो । सबै नेपालीहरू अत्यन्तै व्यस्त छन् । नेपालतिरबाट मेसेन्जर र भाइवरमा मात्र फोन आउने गर्छ । कसले गरेछ हँ अहिले, व्यग्र उत्सुकताले फोन नम्बर हेर्छु । सेभ गरेकै नम्बर रहेछ, पुष्पाको । अब स्वाद लिई लिई मजाले कफीको चुस्का लिन्छु र मनमगनले आफ्नो सुर गर्छु भन्ने सोचेकी थिएँ, फोन आइदियो ।

पुष्पा त्यति सारो फोन गर्ने मान्छे त होइन आज किन गरिछ ? मनभित्र अनेकौँ तर्कना चल्न थाले । मेरो आइतबार बिदा भन्ने थाहा पाएर त फोन गरेकी होली ।

निष्क्रिय भावमा फोन उठाएर भने, ‘हेलो पुष्पा’

उताबाट स्वाँ स्वाँ लामो सास तानेको सुनियो र लगत्तै पुष्पाको आवाज आयो, ‘दिदी ! एहिमे युनिभर्सिटी जाने चोकमा छिटो आउनु न, म दुर्घटनामा परेँ ।’

‘दुर्घटना’ कल्पनै नगरेको कुरा, एक्कासि सुन्दा म छाँगाबाट खसेजस्तै भएँ ।

‘हो दिदी ! दुर्घटना, छिटो आउनुन है?’ अलि अलि रुन्चे स्वर निकालेर पुष्पा बोली । पुष्पाको वाक्यले ऊ ठूलै आपत्मा परेकी भन्ने कुरामा मलाई कुनै शंका रहेन । खाँदाखाँदैको कफी टेबलमै छाडेर दौडेँ ।नजिकैबाट एम्बुलेन्सको साइरन बजेको आवाज आइरहेको थियो । लौन, कतै यो एम्बुलेन्स पुष्पालाई नै लिन आएको त होइन ? ठूलै चोटपटक लाग्यो क्या हो उसलाई । एहिमे युनिभर्सिटी जाने चोकमा माथिल्लो बाटोबाट चोकलाई लक्षित गरेर आइरहेको एम्बुलेन्स तल्लो बाटोबाट दौडदै गरेकी मैले स्पष्ट देखेँ । एम्बुलेन्स चोकमा आएपछि एम्बुलेन्सलाई बाटो छाड्न चल्दाचल्दैका गाडीहरू जहाँको तहीँ उभिएको पनि देखेँ, जब एम्बुलेन्स किनारा लाग्यो अनि गाडीहरू आ–आफ्ना लेनमा दौडिए । एम्बुलेन्सको यो अवस्था टाढैबाट नियाल्दै आइरहेकी मलाई, ‘म दुर्घटनामा परेँ दिदी छिटो आउनू’ भन्ने पुष्पाको आत्तिएको वाक्य सम्झिदाँ जाडोको मौसममा पनि मलाई चिटचिट पसिना आइरहेको महसुस गरेँ ।

हे भगवान् ! कुनै अनिष्ट नहोस् पुष्पालाई भन्दै हस्याङफस्याङ गरेर म पुग्दा ऊ सडकको किनारामा असहाय जस्तै बनेर बसिरहेकी रहिछ । एम्बुलेन्सकै जस्तो रातो बत्ती भएको पुलिसको गाडी पनि सडकको छेउमा किनारा लागिरहेको देखेँ ।

नजिकै पुगेपछि एउटा जापनीजपुरुषले पुष्पालाई दाइजोबु दाइजोबु (ठीक छ ?) भनेर सोधिरहेका थिए । पुष्पाले उनीहरूलाई कुनै उत्तर दिएकी थिइनँ । जापान आएको चार पाँच महिना भइसके पनि पुष्पाले जापानी भाषा कामचलाउ सम्म पनि बनाएकी थिइनँ ।अलि अलि बुझ्थी मात्र, उत्तर फकार्उन जान्दैनथी । जापानीहरू अङ्ग्रेजी भाषाप्रति त्यति मोह राख्दैनन् । हाम्रो नेपालमा जस्तो अङ्ग्रेजी बोले आफ्नो शान बढ्छ भन्ने पनि उनीहरू सोच्दैनन् । सडकका साइनबोर्ड, होर्डिङबोर्ड लगायत पसलका नाम पनि जापानी भाषाको हीरागाना, काताकाना वा खान्जीमा नै लेखिएका छन् । कताकति मात्र देखिन्छअङ्ग्रेजी भाषामा लेखिएको साइन बोर्ड । थ्याङ्क यु सम्म नभन्ने उनीहरूले आरिगातो (धन्यवाद) शब्दको नै प्रयोग गर्छन् । अङ्ग्रेजी भाषाप्रति पुरै वितृष्णा छ उनीहरूलाई । आँखामा आँसु निकालेर पुष्पाले म आउने बाटोतिर आँखा बिछ्याएकी रहिछ, मलाई देखेपछि बचेराले माउ भेटेजसरी उसको अनुहारमा उज्यालो थपिएको महसुस मैले परैबाट गरेँ ।

पुलिसलाई कोनिचिवा (नमस्कार) गरेर टाउको झुकाएर पुष्पापट्टि फर्किएँ र सोधेँ‘कस्तो छ अहिले ? कसरी भयो यो ?”

‘साइकलमा थिएँ । बाटो काट्दा गाडीले ठक्कर दियो ।’ पुष्पाले बच्चाले दिने जस्तो सरल उत्तर दिई। केही पर पुष्पालाई मैले नै चढ्न दिएको साइकल लडिरहेको देखियो ।

‘हरे शिव !’मेरो मुखबाट अनायासै भगवान्को नाम निस्कियो ।

नजिकै उभिएका पुलिसले मतिर फर्किएर सोधेँ । निहोङ्गो देकिमास्का (जापनीज भाषा बोल्न सक्नुहुन्छ)? मैले सुकोसी सुकोसी देकिमासु (अलिअलि सक्छु) ।मेरो कुराले पुलिसको अनुहारमाखुसीका धर्साहरू देखिए । अरूको देशमा आइसकेपछि आफ्नो दैनिकी चलाउन पनि त्यस देशको भाषामा थोरै भए पनि जानकारी राख्नु पर्छ, नत्र असाध्यै दुःख पाइन्छ । जापानमा पनि उनीहरूको भाषा बोल्न जान्नेलाई निकै प्राथमिकता दिएको मैले महसुस गरेकी छु । हुन त म जापान आएको एक वर्ष मात्रै भएको थियो तैपनि मैले आपूmलाई भइपरी आउने समस्या टार्न सक्ने सम्मको भाषिक सीप हासिल आफ्नै मिहिनेतले गरेकी थिएँ ।

‘दुर्घटनामा पर्ने तपाईकी को हुन्? कुन देशको हो तपाईहरू ? उनको कुन भिजा हो ? उनको सहयोगी को छ ?’ प्रहरीहरुले मलाई धमाधम प्रश्न सोध्न थाले । मैले सकेको उत्तर दिइरहँदा र दुर्घटना पछि पनि त्यहाँ कुनै गाडी जाम भएन । मैले काठमाडौंमा यस्तै दृष्यको कल्पना गरेँ ।

एक जना बूढी मान्छे पुष्पाको नजिकै अघिदेखि देखेकी थिएँ तर उनलाई केही सोध्न भ्याएकी थिइनँ । दुर्घटना कसरी भयो भन्ने कुरा सबै सिसी क्यामेराको फुटेजमा रेर्कड थियो त्यसलाई हेरेर कसको गल्ती होे, पत्ता लगाउन पुलिस लागि परेका थिए । साथमा रहेको वाकिटकीमा कुराकानी पनि गरिरहेका थिए । सँगसँगै दुर्घटना गराउने गाडीचालकलाई पनि केरकार गरिरहेका थिए । पुष्पालाई पनि कसरी बाटो काट्यौ भनेर ममार्फत सोधिरहेका थिए । उसले साङ्केतिक भाषाबाट आफ्नो कुरा राखिरहेकी थिई । उसले आपूmले बाटो काट्दा मान्छेको आकृतिमा रहेको हरियो बत्ती झिपिकझिपिक गरिरहेको कुरा बताईरहेकी थिई ।

वाकिटकीमा पुलिसले गरेको कुराकानीबाट अनुमान गर्दा सिसि क्यामेराको फुटेजको निष्कर्ष तुरुन्तै आए जस्तो लाग्यो ।पुलिसले हामीतिर फर्किएर, साइकल यात्री आएको देख्दादेख्दै गाडी चलाउनु सरासर गल्ती भएको भन्दै दुर्घटनाको दोषी गाडी धनीको भएको किटान गरे । पुलिसको कुरा सुनेर मैले लामो सास ताने र यो खुसीको खबर पुष्पालाई सुनाएँ । साइकल यात्रीको गल्ती भएको भए के के लफडामा परिने हो भन्ने भयले ऊ कालीनिली भइरहेकी थिई । गाडी धनीले पुलिससामु टाउको निहुराएर माफ गर्नुस भन्दै आफ्नो गल्ती सजिलै स्वीकार गरे । आफ्नो बचाउका लागि कुनै गलफती गरेनन् । गल्ती स्वीकार गर्नेबाहेक अरु उपाय पनि नदेखेर होला भन्ने लाग्यो ।

‘अब बिरामीलाई लिएर अस्पताल जाऔँ ।’ पुलिसले भने ।

मैले पुष्पालाई एम्बुलेन्समा चढ्न सहयोग गरेँ । बिरामीको ख्याल राख्ने जिम्मेवारी दुर्घटना गराउने गाडी चालकलाई सुम्पिएर पुलिसहरू हामीबाट बिदा भए ।ऐया, ऐया भन्दै र ढाड समाउँदै पुष्पा एम्बुलेन्सभित्र छिरी । पाँच मिनेटको दुरीमा थियो अस्पताल । मैले दुर्घटनामा परेको पुष्पाको साइकल लिएर पछि पछि आउँछु भनी गाडी चालकलाई भनँे ।

सबै दुर्घटना चुपचाप हेरेर बसेकी बूढीआमालाई हिँड्ने बेला पुलिसले दोमो दोमो आरिगातो गोजाइमास (धेरै धेरै धन्यवाद) भने । पुलिसलाई फोन गरेर बोलाउने बूढीआमा उनी भएको थाहा पाएपछि मैले पनि आरिगोतो भनेर शिर निहुराएँँ ।

००००

जाडोको याम हुनाले अस्पताल अगाडिको कम्पाउण्डका साकुराका बोटहरू नाङ्गा थिए । स–साना आरूका बोटजस्ता देखिने यी बोटमा एउटै मात्र पनि पात थिएन । शिशिरको सिरेटोले गर्दा सबै पातहरू झरेका थिए । फेब्रअरीको अन्त्यसम्ममायी बोटमा लपक्कै कोपिला लाग्ने र मार्च महिना सुरु हुनेबित्तिकै साकुरा फुल्ने प्रतीक्षामा सिंगो जापान थियो । साकुराको सौन्दर्यवृद्धिको लागि सरकारले यति धेरै लगानी गरेर साकुराका वृक्षहरू हुर्काएको थियो कि शायदै अरू देशमा त्यसो गर्लान् ।

खास ठूलो दुर्घटना नभए पनि पुष्पा साइकलबाट बजारिदाँ उसको ज्यान थर्किएको रहेछ त्यसैले अनुहार अँध्यारो बनाउँदै उसले अस्पतालको बेडमा पनि ऐया ! ऐया ! गरिरहेकी थिई । घरिघरि ढाडतिर पनि छामिरहेकी थिई । ज्यानले पनि ऊ अलि खाइलाग्दी नै थिई । पुष्पाको अनुहारको हाउभाउ देखेर गाडीधनीलाई अत्यन्तै नरमाइलो लागिरहेको थियो, उनले पटकपटक गोमेनासाई गोमेनासाई (सरी, सरी) भनिरहेका थिए ।

पुष्पाले बारंबार ढाडमा छामिरहेका कारण तुरुन्तै ढाडको एक्स–रे पनि गरिएछ । कति छिटो रिर्पोट पनि आएछ । रिर्पोट हेर्दै पुष्पातिर फर्किएर डाक्टरले भने, “डन्ट वरी ।” शायद विदेशी बिरामी देखेर यति दुई शब्द अङ्ग्रेजीमा बोलेका होलान् । मैले लख काटेँ ।

आत्तिनु पर्ने केही छैन भनेर डाक्टरले नदुख्ने औषधी र केही भिटामिन किन्नका लागि प्रेस्क्रिप्सन रिर्पोट तयार गरेर नर्सलाई दिए र कोठाबाट बाहिरिए । नर्सले उक्त रिर्पोट मलाई दिइन् ।यी सबै घटनाक्रमहरू सोचे न सम्झे भइरहेको थियो । शायद दुर्घटना भन्ने चीज बाजा बजाएर आउने क्षण होइन भनेजस्तो लागिरहेको थियो मलाई । अस्पताल लगेको एक घण्टामा पुष्पाका श्रीमान् उदास अनुहार लिएर अस्पताल आइपुगे । श्रीमान्लाई देख्नेबित्तिकै धन्न बाँचे भन्ने लागेछ कि पुष्पा रुन लागी । पुष्पाको हात समातेर सहानुभूति देखाउँदै उनका श्रीमानमसँग घटनाक्रमका बारेमा सोधपुछ गर्न लागे ।मैले सङ्क्षेपमा बताएँ । पुष्पाको चेकअप भइसकेको थियो ।यी सबै काम सकेर हामी अस्पतालबाट बाहिरिनै लाग्दा उनका श्रीमान् आएका थिए । हिँड्दाहिड्दै मैले त्यो कागज पुष्पाका श्रीमान्लाई दिएँ ।तर, गाडी धनीले औषधी किनेर आपूmले ल्याउने कुरा गरे र पछि पछि अस्पतालमा आउँदा लाग्ने खर्च पनि एकमुष्ट दिने कुरा गरे ।

गाडी धनी निकै दयालु रहेछन् भन्ने लाग्यो ।

घटनास्थलबाट कोठामा आउने पाँच मिनेटको दुरी थियो । साइकल दुर्घटनाप्रति पुलिसले देखाएको चासो र नागरिकप्रति देखाउने बफादारिताको मनमनैप्रशंसा गर्दै म कोठामा आइपुगेँ । ज्यान पनि मोटाउन थालेर हो कि अथवा साइकलमा घुँइकिने बानीले हो हिँड्दा पनि स्याँ स्याँ भएजस्तो भयो । यस्तो दौडधुप गरेर गएकी मलाई धन्यवाद दिदी भनेर पुष्पाका लोग्ने स्वास्नी कसैले भनेनन् । जापान आएर यति शिष्टाचार पनि जानेका रहेनछन् तिनीहरूले भन्ने लाग्यो ।

घर फर्कदाँ दुई घन्टा बितेको थियो । ढोकाबाट छिर्नेबित्तिकै टेबलमा रहेको कफीको मगतिर आँखा गयो । उत्साहका साथ अघि तयार पारेको कफी टेबलमा हिउँजस्तै बनेको रहेछ ।

कफीलाई तताएर खाऊँ कि के गरुँ होला ? एउटा प्रश्न तेर्सियो ।कफी पनि कहाँ तताई तताई खान्छन् र आफ्नो मनले आफैलाई गिज्यायो । जापानीहरू प्रायः हरेक खानेकुराहरू चिसै खान्छन् । कफी त झन् पुस–माघको महिनामा पनि भेन्डिङ मसिनबाट झिकेर चिसै खान्छन् । खासै तातो खान मन पर्दैन भन्छन् ।

मैले पनि उनीहरुकै सिको गर्दै चिसो कफी स्वाट्ट पारेँ ।

एकपटक पुष्पाको हाल सोध्न साँझतिर फोन गरेँ ।

‘दिदी म त बेलुकाको काममा जान सकिनँ भनेर फोन गर्न पनि बिर्सेछु। अघि भर्खरै अफिसमा सुचना दिएँ । अब एक दुई दिन काममा आउन सक्दिनँ पनि भनेँ ।’ कुराकानीका क्रममा पुष्पाले खुसी हुँदै भनी, ‘दुर्घटनामा परेको भनेपछि अफिसले पनि आराम गर भन्यो ।’

‘ठीकै गर्‍यौं। ज्यान बजारियो भन्थ्यौ अब कम्तीमा एक, दुई दिन त आराम गर्न परिहाल्यो नि ।’

‘हो दिदी ।श्रीमान् चाहीँ काममा फर्किसक्नु भयो काममा ।’

अब गाडी धनीको गल्ती भनेर पुलिसले पत्ता लगाइसक्यो । उसले कति हर्जाना तिर्ने भन्ने कुरा पछि थाहा भइहाल्छ नि, हाम्रो देशमा जस्तो दयामाया र ल भैगो मिलौँ न त भनेर यहाँ हुँदैन, नियम र कानुनले चल्ने देशमा । त्यही भएर पनि दुर्घटना हुँदा बाहिरी मानिसले वास्ता गर्दैनन् । सबै व्यस्त हुने भएकाले सबै कुरा प्रहरीले गर्छ । धन्य फुर्सदमा भएकी बुढीले तिमीलाई देखिछिन् ।’

‘हो है दिदी ?’

‘हो नि यहाँको त कुरै बेग्लै छ नि ।’

००००

तीन महिना अघि मैले पुष्पालाई कामको सिलसिलामा भेटेकी थिएँ । नेपाली नेपाली भए पनि जापानमा आएर नै परिचय भएको थियो । उनको घर गुल्मी भन्थिन्, मेरो घर काठमाडौँ । पहाडको बसाइ हुनाले उनलाई साइकल चलाउन निकै मुस्किल परेको थियो । अझ, जापानका सडकहरू साइकल मैत्री थिए । साइकलको छुट्टै बाटो थियो, त्यसैले उनलाई अझ सजिलो भइरहेको थियो ।

‘बिस्तारै बिस्तारै बानी पर्छ पुष्पा, ट्राफिक नियमलाई राम्ररी ख्याल गरेर मात्र चलाऊ है, साइकल चलाउने विद्यार्थी र वृद्ध मानिसलाई पनि पहिलो प्राथमिकतामा राखेर साइकल चलाऊ । हस्याङफस्याङ गरेर जथाभावी साइकल नकुदाऊ है ?’

बाटोमा सँगै भेट्दा मैले उसलाई सम्झाउँदै म अघि बढिरहेकी हुन्थे । पुष्पाको यो दुर्घटना नौलो भने थिएन यसभन्दा अघि पनि कंयौँ नेपाली दाजुभाइ दिदीबहिनीले गाडीमा साइकल ठोक्काएर दुर्घटनामा परिसकेका थिए । नियम बुझेर आपूmले हिँड्ने बाटोको बारेमा राम्ररी अध्ययन गर्नु अगाडि नै काममा दौडिन हतार पथ्र्यो सबैलाई । अझ जे पर्ला सोही पर्ला भन्दै अनुभवीका कुरा बेवास्ता गर्ने पनि उत्तिकै थिए । दुर्घटना भइहाले पछि पुलिसले सोध्ने दुई चार वाक्य पनि नबुझेर वाल्ल परेको देख्दा उस्तै वैराग्य लाग्दथ्यो । आपूm कुन देश जाँदै छु त्यहाँका सामान्य शिष्टाचारजन्य वाक्यहरू के के भन्ने कुराहरू नेपालमा बग्रेल्ती खुलेका भाषा सिकाउने संस्था र अनुभवीले लेखेका किताबहरू पनि थिए तर तिनको बारेमा ज्ञान राख्न पनि पहिला त मानिस चेतनशील नै हुनुपर्ने रहेछ । अशिक्षाको परिणामबाट भोग्ने पाइला पाइलाका समस्याबाट उनीहरू ग्रसित हुनु परेको देख्दा कठै, भन्न बाहेक अरू केही विकल्प थिएन ।

दुर्घटनामा परेको केही दिनपछिपुष्पा काममा जानथालिन् । एक दिन मैले उनलाई बाटोको छेउमा साइकल अड्याएर मोबाइलमा कुरा गरिरहेको देखेँ ।

उनले पनि मलाई देखिन् । उनी फोनमा कसैलाई गौरवका साथ सुनाइरहेकी थिइन्, ‘बुझ्यौ, तलब महिनाको तीन लाख वरिपरि छ ।सबै कुरा ठीक छ । आदि इत्यादि ।’

कुरा गराइबाटै बुझेँ, उनी आफन्तलाई पूmलबुट्टा भरेर कुरा गरिरहेकी थिइन् । दिनको दस,बाह्र घण्टा उभिदाँउभिदाँ कति ढाड दुख्छ, कति पाइताला पोल्छ । तिर्खा लाग्दा पानी नखाईनखाई, भोक खपी खपी दुःख गरेर कमाउनु छ फेरि बढाइचढाई । रूखबाट पात टिपेझैँ पैसा टिपेजसरी कुरा पो गर्छे बा । पुष्पाको कुरा सुन्दा मलाई झनक्क रिस पनि उठ्यो ।

फोनको वार्तालाप सकिएपछि पुष्पाले मतिर हेरेर मुसुक्क हाँसी ।

‘तिमीले दुई लाख कमाउन त कति हैरानी खेपेकी छाँै फेरि किन तीन लाख भनेकी नि ?’ मैले आफ्नो खसखस थाम्न नसकेर सोधिहालेँ ।

‘दुई लाखको ठाउँमा तीन लाख भन्न के गल्ती भो र दिदी । त्यसले मलाई नेपालमा कम्ता हेप्थी । यसलाई देखाउन भए पनि भोलि समुन्द्रतिर गएर मज्जाले फोटोसेसन गर्नु छ ।’ ऊ मज्जाले हाँसी ।

‘अँ साँच्ची दिदी अस्ति साइकल दुर्घटना पछिको कुरा तपाईलाई भन्नै बाँकी छ ।’

‘के कुरा हो भनिहाल न त?’मलाई ढिला हुन लागेको संकेत गरेँ ।

‘दिदी मलाई त गाडीधनीले चार लाख हर्जाना तिर्‍यो नि ।’

‘चार लाख ?’आश्चर्यले मेरा नयन उचालिए ।

‘हो र कसरी त्यत्रो रकम पाइयो?’

‘ठूला सवारीसाधनले साना सवारीसाधनलाई जहिले पनि प्राथमिकतामा राख्नु पर्छ रे । अझ पैदल यात्री तथा साइकल यात्रीलाई त सडक प्रयोगकर्ताको पहिलो नम्बरमा नै राख्दा रहेछन् । मैले बाटो काट्दा हरियो मान्छे झिपझिप गर्दागर्दै रातो मान्छेको चिन्ह आएको थियो । साइकल यात्री देख्दादेख्दै उसले गाडी ल्याउनु उसको गल्ती देखिएको ठहर पुलिसबाट भएको रहेछ ।’ उसले नयाँ कुरा भनेकी थिइन । मलाई भने उसले कसरी चार लाख क्षतिपूर्ति पाई भनेर खसखस लाग्यो ।

‘के आधारमा क्षतिपूर्तिको रकम दिदोँ रहेछ ?’

“क्षतिपूर्ति रकम भनेर दिनका लागि पुलिसले नै गाडीधनीलाई अह्राउँदो रहेछ ।”

‘कति माग गर्‍यौं त उसो भए ?’ मैले भनेँ ।

‘मैले साइकलको बीस हजार, म बजारिदाँ मेरो खल्तीमा भएको आइफोन फुट्यो भनेँ, आइफोन अलि अलि पुरानो भएकोले त्यसको चालीस हजार भनेँ ।’

‘तर फोन त केही भएको छैन नि है ?’

‘छैन नि त्यसै भन्दिएकी नि । डाउन जकेट लगाएकी थिएँ त्यो च्यातियो भनेँ त्यसको दसहजार।पन्ध्र दिन काममा जान सकिनँ दिनको दस हजार कमाउँथे भनेँत्यसको एक लाख पचास हजार, अस्पताल फलोअपमा गइरहनु पर्‍यो यसको यति हजार भनी विभिन्न शीर्षकको पैसा हिसाब गर्दा चार लाखको क्षति भयो भनेर दाबी गरेँ अनि पाएँ ।’

‘त्यसरी विभिन्न शीर्षकमा पैसा माग्ने आइडिया कसले दियो नि ?’

जापनीजहरू अत्यन्तै सोझा र इमान्दार हुन्छन्, तिमीले सुहाउने गरेर रकम दाबी गर पाउँछ्यौ भनेर अस्ति नै साइकल दुर्घटनामा पर्नु भएकी दिदीले सिकाउनु भएको थियो । उहाँले पनि त्यसैगरी रकम प्राप्त गर्न भएको थियो रे ।

‘अनि गाडीधनीले कुनै सामानको पनि चेकजाँच नगर्ने रहेछन् त ?’

‘अँह गरेनन्,यहाँ एकअर्कालाई अविश्वास गर्न मिल्दो रहेनछ । खुरुक्क पैसा दिए र मैले रकम बुझी लिएँ, भन्ने कागजमा साइन गराए ।

‘मलाई त कम्ती खुसी लागेन दिदी यत्रो रकम पाउँदा ।’

‘ए ! चिट्ठै परे जस्तो भएछ त है ?’ मैले हाँसेर भनेँ ।

‘हो नि दिदी यसरी पैसा पाउने भएपछि त, भगवानका कानमा भने नपरोस, यस्ता दुर्घटनामा जति परे पनि के भो र है ?’

‘हँ के भनेकी पुष्पा ? फेरि भन त ?’

मेरो कान नजिकैमा सनन्न वाण आएजस्तो लाग्यो । ती वाणले ममाथि अट्टहास गर्दै भनिरहेको प्रतीत भयो, दुर्घटनामा पर्दा दुईटा हातै भाँच्चिएको भए के हुन्थ्यो ?दुईटा खुट्टै भाँच्चिएको भए के हुन्थ्यो ?अथवा ज्यानै तल माथि परेको भए के हुन्थ्यो ? यसरी खुसी मनाउने विषय “दुर्घटना”कहिल्यै बन्न सक्छ र ? म साइकलमा हिँड्दा हिड्दै पुष्पाका कुराले झयाप्प रोकिइछु र साइकल डोर्‍याउन पुगिछु । ल है दिदी मेरो त बेलुकाको काम छ साइकल डोर्‍याएर हिँड्न भ्याउँदिनँ भोलि फेरि भेटौंला भनेर पुष्पा बाई भनेर दौडिई । म सुस्त गतिले आफ्नो गन्तव्यमा लागेँ ।

दिमागमा पुष्पाको दुर्घटना र चार लाख हर्जाना रकम नाचिरहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment