Comments Add Comment

पत्रकारका मुद्दाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछु : प्रचण्ड

पत्रकार महासंघले बुझायो १६ बुँदे ध्यानाकर्षण पत्र

Photo Credit : CM Prachand

१५ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले प्रेस स्वतन्त्रता कुण्ठित नहुने गरी कानुन निर्माणमा आफ्नो भूमिका रहने बताएका छन् । प्रधानमन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराउने उनले बताए ।

आइतबार नेपाल पत्रकार महासंघको १६ बुँदे ध्यानाकर्षणपत्र बुझ्दै प्रचण्डले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सरकार र आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए । संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै उनले अब कानुन बनाउने बेलामा पनि सम्वन्धित सरोकारवालासँग छलफल गरेरै गर्नुपर्ने बताए ।

उनले आफू अहिलेको ठाउँसम्म आउनुको श्रेय पत्रकार र प्रेसकै भएको उनले बताए । ‘हामीले उठाएका मुद्दाहरु जनतासम्म पुरार्‍उने कुरामा पत्रकार महासंघले सस्थागतरुपमा र समग्र प्रेसले भूमिका खेलेको नभए म यहाँ हुने थिइनँ,’ प्रचण्डले भने, ‘यस अर्थमा म अहिले जहाँ छु पत्रकार र प्रेसकै कारण भएको हुँ ।’

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता, प्रेसमैत्री कानुन निर्माणलगायतका १६ बुँदा समेटिएको ध्यानाकर्षण पत्र प्रचण्डलाई बुझाएका छन् । सो ध्यानाकर्षण पत्रमार्फत महासंघले जायज माग राखेको प्रचण्डले बताए ।

उनले भने, ‘पत्रकार महासंघको तर्फवाट तपाईंहरुले उठाउनु भएको कुरा जायज छ । यो विषयमा पार्टी र सरकारमा छलफल हुन्छ । म पनि प्रधानमन्त्रीलाई यसबारे ध्यानाकर्षण गराउँछु । तपाईहरुका कुरा सरकारसमक्ष पुर्‍याउने र सम्भव हुने जति काम गर्न म पनि पहलकदमी लिन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment