Comments Add Comment

छापामा आज : एक्सरे गर्न जेनेरेटर बोक्छन् डोल्पाका गाउँले

१६ वैशाख, काठमाडौं । राजधानी काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले आज फरक–फरक विषयलाई प्राथमिकतामा राखेका छन् । केहीले दुर्गम क्षेत्रको स्वास्थ्य सेवाबारे सरोकार राखेका छन् भने कुनैले यातायात क्षेत्रको बेथिति, सरकारी जग्गा दुरुपयोगलगायत विषय उठाएका छन् ।

अन्नपूर्णले डोल्पाको स्वास्थ्य सेवा प्रवाहबारे मुख्य समाचार बनाएको छ । अन्नपूर्णका अनुसार, यहाँको सेवा प्रवाह कति कमजोर छ भने उपचार गर्न आउने बिरामी आफैंले जेनेरेटर ल्याउनुपर्ने बाध्यता छ । जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएका हुन् ।

समाचार अनुसार, बिरामीको आफन्तले जेनेरेटर व्यवस्था गरेपछि मात्रै अस्पतालले एक्सरे गरिदिने गरेको छ । बजारबाट प्रतिघण्टा पाँच सय रुपैयाँ भाडामा जेनेरेटर ल्याउने गरेको स्थानीय बताउँछन् ।

स्थानीय तहमा देखिएको बेथिति उधिन्ने प्रयास पनि आजको अन्नपूर्णले गरेको छ । समाचार अनुसार, बजेट हात पार्न पटके उपभोक्ता समिति खडा गर्ने प्रवृत्ति देशभरका स्थानीय तहमा देखापरेको छ । यसरी खडा भएका पटके समिति करोडौंका आयोजना हत्याउन सफल भएका छन् । करोडभन्दा माथिका आयोजना पटके समितिले निर्माण गर्न पाएपछि पदाधिकारीमा डोजर मोह बढेको अन्नपूर्णले लेखेको छ ।

कान्तिपुरले भीमदत्त राजमार्गमा बढ्दो सवारी दुर्घटनाबारे एक सामग्री छापेको छ । कान्तिपुरका अनुसार, एउटै चालकले हजार किमिसम्मको लामो दूरीमा सवारी चलाउनु दुर्घटनाको प्रमुख कारण हो । जोखिम मोलेर चालकहरुले सवारी चलाउने गरेका भए पनि नियामककारी निकाय ट्राफिक प्रहरीले नियन्त्रणको साटो नाजायज फाइदा लिने गरेको समाचारमा उल्लेख छ ।

त्यस्तै, नेकपाका विभिन्न ३ जिल्लाका सचिवद्वारा शपथ अस्वीकार गरेकोदेखि सगरमाथाको आधारशिविरमा ३ शव भेटिएको सम्मका खबर कान्तिपुरको पहिलो पृष्ठमा छ ।

नागरिकले सरकारी जग्गा अतिक्रमणकै विषयलाई आज पनि प्रमुख समाचार बनाएको छ भने राजधानीले नेपालमा लगानी गर्न राष्ट्रपतिले चिनियाँ लगानीकर्तालाई गरेको आग्रहलाई समेटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment