Comments Add Comment

काठमाडौंबाट ८ महिनामा १ हजार ३९८ मोटरसाइकल हराए, ३७६ मात्र भेटिए

ट्राफिकले यसरी खोज्छ चोरीको मोटरसाइकल

Photo Credit : अनलाइनखबर अर्काइभ । केही महिनाअघि प्रहरीले सार्वजनिक गरेको चोरीको मोटरसाइकल ।

१६ वैशाख, काठमाडौं । काठमाडौं–६, बौद्धका होमनाथ खतिवडाको मोटरसाइकल चोरी भयो । मोटरसाइकल चोरी भएपछि उनले ट्राफिक प्रहरी कार्यालयमा उजुरी गरे । खोजी तथा अनुसन्धान गर्दै जाँदा मोटरसाइकल फेला पर्‍यो । ट्राफिक प्रहरीले आवश्यक प्रक्रिया पुर्‍याइ मोटरसाइकल खतिवडालाई बुझायो ।

दैनिक काम समेत अवरूद्ध भइरहेको अवस्थामा प्रहरीबाट मोटरसाइकल पाएपछि भावुक हुँदै प्रहरीले जनताका लागि गरेको कामप्रति उनले खुशी व्यक्त गरे ।

धादिङ सेर्तुङ–३ का बेमान तामाङको मोटरसाइकल पनि चोरी भयो । मोटरसाइकल चोरी भएपछि दैनिक रुपमा काम गर्न समस्या पर्‍यो । उनले प्रहरीमा उजुरी दिए ।

ट्राफिक प्रहरीले खोजी तथा अनुसन्धान थाल्यो । त्यसक्रममा चोरी गरेर राखिएको ठाउँसम्म प्रहरी पुग्यो । हराएर पाउने आशा मारेको मोटरसाइकल पाएपछि उनी अझै बढी खुशी भए ।

चोरी भएको मोटरसाइकल यसरी फेला पर्छ भन्ने लागेकै थिएन उनले भने, “प्रहरीले गरेको काम देखेपछि प्रहरीप्रति पूर्ण विश्वास लाग्यो ।”

खतिवडा र तामाङ जस्तै धेरैको मोटरसाइकल चोरी हुने गरेको छ । यो क्रमलाई रोकथाम गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले कार्ययोजना नै बनाएर काम गर्न अगाडि बढेको छ ।

कम्पाउण्डको ताला फुटाएर हुने मोटरसाइकल चोरी बढीः पन्त

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त भन्छन्, ‘चोरी भएका मोटरसाइकल खोजतलासको काममा पीडित सहायता इकाईका प्रहरी कर्मचारीहरू सादा पोसाकमा खटिन्छन् ।’

‘शंकास्पद मोटरसाइकल जाँच गर्ने, वर्कशपमा चेक गर्ने, इन्जिन तथा चेसिस नम्बर जाँच गरी रुजु गर्ने र चोरीको हो वा होइन पत्ता लगाउने गरिन्छ’, एसएसपी पन्तले भने, ‘पीडितको निवेदनको आधारमा कम्प्युटर फाइलमा इन्जिन नम्बर तथा चेसिस नम्बरको खोजी समेत गरिन्छ । यसबाट हराएको र नहराएको एकिन हुन्छ ।’

विशेष गरी लक भाँचिएको, वायरिङका तारहरु यत्रतत्र छरिएको अवस्थामा भेटिएको मोटरसाइकल बारेमा थप अनुसन्धान हुन्छ । मोटरसाइकल बढि मात्रामा चोरी हुने स्थानमा निगरानी गर्ने, शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने र कानूनी कारबाही गरिन्छ । समय समयमा सचेतनामूलक पर्चा वितरण पनि गर्ने गरिन्छ । धेरै जसो साँझ र रातको समयमा घर कम्पाउण्डको ताला फुटाएर मोटरसाइकल चोरी हुने गरेको भेटिने गरेको छ ।

चोरीका मोटरसाइकल प्रायः दुर्गम बस्तीमा घाँस दाउरा बोक्न, दुध ओसारपसार गर्ने काममा प्रयोग हुने गरेका पाइन्छ । राजधानीका मोटरसाइकल दुर्गम जिल्लामा लगेर नक्कली ब्लुबुक बनाएर चलाउने, नयाँ मोटरसाइकलको पाटपूर्जा खोली पुराना सक्कली मोटरसाइकलमा राख्ने र काम नलाग्ने पार्टपूर्जा बेवारिसे अवस्थामा फाल्ने गरेकाले पनि मोटरसाइकल फेला पार्नमा समस्या देखिएको छ ।

चोरी हुनबाट बच्न ह्विललक, डिसलक, ब्रेकलक, फ्युललक लगाउन अल्छी नमान्ने र सम्भव भएसम्म जिपिएस ट्रयाकर लगायतका उपकरणको जडान गरी मोटरसाइकल चोरीबाट सुरक्षित रहन सकिने एसएसपी पन्तको भनाइ छ ।

भेटिने दर न्यून

चालु आर्थिक वर्षको आठ महिनामा काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाबाट १ हजार ३ सय ९८ वटा मोटरसाइकल चोरी भएको तथ्याङ्कले देखाएको छ । तीमध्ये ३ सय ७६ वटा मोटरसाइकल फेला परेका छन् ।

फेला परेकामध्ये २ सय ६३ वटा मोटरसाइकल सम्वन्धित व्यक्तिलाई तथा ९९ वटा मोटरसाइकल भन्सार कार्यालयमा बुझाएको छ । वाँकी ३० वटा मोटरसाइकल सम्वन्धित व्यक्तिलाई बुझाउन बाँकी छन् । चोरीमा संलग्न ६९ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानूनी कारवाही गरेको छ ।

काठमाडौंको बौद्ध, जोरपाटी, पेप्सीकोला, बानेश्वर, कोटेश्वर, चावहिल, गौशाला, महाराजगञ्जस्थित शिक्षण अस्पताल वरपर, बुढानिलकण्ठ, ठमेल, सुन्धारा, बालाजु, कलंकी, पुल्चोक, ग्वार्को, जावलाखेल र लगनखेलबाट बढी मात्रामा मोटरसाइकल चोरी हुने गरेका छन् ।

उपत्यका बाहिर बिर्तामोड, दमक, विराटनगर, धरान, इनरुवा, सप्तरी, रौतहट, कास्की, रुपन्देही, सुर्खेत र कैलाली लगायतका विभिन्न ठाउँबाट बढी मात्रामा मोटरसाइकल चोरी हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

यसैगरी आ.व. २०७४/०७५ मा १ हजार ६ सय ३४ वटा मोटरसाइकल चोरी भएका थिए । तीमध्ये ४ सय ८१ वटा मोटरसाइकल प्रहरीले फेला पार्न सफल भएको थियो । ३ सय ४१ वटा मोटरसाइकल सम्वन्धित व्यक्तिलाई बुझाएको थियो भने ८३ वटा मोटरसाइकल भन्सार कार्यालयमा बुझाएको थियो । बाँकी ८९ वटा मोटरसाइकल सम्वन्धित व्यक्तिलाई बुझाउन वाँकी छन् ।

ट्राफिक प्रहरीले ४२ जनालाई पक्राउ गरी आवश्यक कानूनी कारवाही गरेको थियो ।

मोटरसाइकल चोरी भएमा जति छिटो ट्राफिक प्रहरीलाई खबर गर्‍यो त्यति नै मोटरसाइकल भेटिने सम्भावना रहन्छ

कारबाही

मुलुकी फौजदारी (संहिता) ऐन २०७४ को परिच्छेद २०, धारा २४१ को कसुरमा मोटरसाइकल चोरी गर्ने वा गराउने व्यक्तिलाई सोही परिच्छेदको धारा २४२ अन्तर्गत दुई वर्षदेखि सात वर्षसम्म कैद र २० हजार रुपैयाँदेखि ७० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ ।

चोरी हुने गरेका मोटरसाइकल ट्राफिक प्रहरीले सक्रिय भएर खोजी तथा अनुसन्धान गरी सम्बन्धित धनीलाई बुझाउँदै आएको छ । चोरीमा संलग्न व्यक्तिलाई कानूनी कारबाही गर्दै आएको छ ।

साथै, मोटरसाइकल चोरीलाई रोकथाम गर्न विभिन्न ठाँउमा खटिएर डिउटी गर्ने ट्राफिक प्रहरीले जथाभाबी पार्किङ नगर्न आग्रह गर्दै आएको छ । मोटरसाइकल चोरी हुनुभन्दा पहिले स्वयं धनी सचेत भएमा चोरीमा कमि आउने ट्राफिक प्रहरीको अपेक्षा छ । मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा समेत ट्राफिक प्रहरीले फेला पारी पक्राउ गरेको छ ।

चोरी भएमा जति छिटो ट्राफिक प्रहरीलाई खबर गर्‍यो त्यति नै छिटो मोटरसाइकल भेटिने सम्भावना रहन्छ ।

चोरी भएको लामो समयपछि खबर गर्दा मोटरसाइकल अन्य स्थानमा लैजाने र चोरी गर्ने व्यक्ति समेत भाग्न सक्ने भएकाले तत्काल ट्राफिक प्रहरीलाई खबर गर्नु राम्रो हुने प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment