Comments Add Comment

कोरम नपुगेपछि संसदीय समितिका बैठक आन्तरिक !

Photo Credit : फाइल तस्वीर

१६ वैशाख, काठमाडौं । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा तारागाउँ रिजेन्सी होटल्सको अनियमितताबारे उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची थियो ।

बिहान साँढे ११ बजेलाई बोलाइएको बैठक निर्धारित समयमै सुरु भएको समिति सभापति पवित्रा निरौला खरेलले घोषणा गरिन् । तर, २५ सदस्यीय समितिको बैठकमा ७÷८ जना मात्रै सांसद उपस्थित थिए । अर्थात, गणपुरक संख्या (कोरम) पुगेको थिएन ।

‘समितिले हालसम्म गरेका काम कारबाहीको पनि गम्भीरतापूर्वक छलफल गरौं । उपसमितिले बनाएको प्रतिवेदन (तारागाउँ रिजेन्सी होटल्समा भएको अनियमितता)बारे पनि छलफल गरौं । सरकारलाई दिएको निर्देशनका सन्दर्भमा कति प्रगति भएको छ भन्ने बारेमा सरकारका प्रतिनिधिलाई बोलाएर छलफल गर्ने कि !’ बैठकको प्रारम्भमा सभापति निरौलाले भनिन् ।

सांसद अग्निप्रसाद सापकोटाको नेतृत्वको उपसमितिले गत चैत २४ गते मूल समितिमा घाटा देखाएर तारागाउँ होटल्समा अनियमितता भएको ठहर गर्दै प्रतिविदन पेस गरेको थियो ।

सोही दिन मूल समितिले उपसमितिको प्रतिवेदनका आधारमा तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरिदिएको १५० रोपनी जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याउन सरकारलाई निर्देशन दिएको थियो । तारागाउँ विकास समितिका पदाधिकारीले अख्तियारको दुरुपयोग गरेको भन्दै छानबिन गर्न पनि निर्देश गरिएको थियो ।

सोही प्रतिवेदनवारे विस्तृत छलफल गर्ने भन्दै बोलाइएको आइतबारको समिति बैठकमा पत्रकारलाई प्रवेश दिइएन् अर्थात बैठक कक्षबाट बाहिर निकालियो ।
‘आज कोरम पुग्ने अवस्था पनि छैन । आन्तरिक रुपमा बसौं भन्ने छ । गाह्रो नमानिदिनुहोला’ समिति सभापति निरौलाले भनिन् । त्यसपछि बैठककक्षमा छिरेका पत्रकार बाहिर निस्किए ।

राज्य व्यवस्था समितिमा पनि …

आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बारा, पर्सा लगायतका जिल्लामा हावाहुरीले गरेको क्षतिबारे छलफल गर्ने कार्यसूची थियो ।

समितिले उपसमिति बनाएर हुरी प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेको थियो । उपसमितिको सोही स्थलगत प्रतिवेदनमाथि छलफल गर्न भन्दै बिहान साढे १२ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भयो तर, पत्रकारलाई प्रवेश दिइएन् ।

मर्यादापालकले दिउँसो २ बजेपछि गृहमन्त्री रामबहादुर थापा पनि बैठकमा सहभागी हुने र पत्रकारलाई प्रवेश दिइने, त्यसअघि समितिले आन्तरिक छलफल गर्ने भन्ने सूचना भित्रबाट आएको भन्दै पत्रकारलाई सुनाए ।

साढे दुई बजेतिर समितिकी उपसचिव बबिता मिश्रले बैठक स्थगित भएको जानकारी दिइन् । ‘आजको कार्यसूची (बारा, पर्सा लगायतका जिल्लामा हावाहुरीले गरेको क्षतिबारे स्थलगत अध्ययन प्रतिवेदन) का सम्बन्धमा सबै सरोकारवालाहरुसँग बृहत छलफल गर्ने भन्ने भयो र आजको बैठक स्थगित भयो’ उनले भनिन् ।

बैठकबाट बाहिरिँदै केही सांसदहरुले भने गृहमन्त्री रामबहादुर थापा बैठकमा सहभागी नभएकोले बैठक स्थगित भएको बताएका थिए । समिति बैठकमा गृहसचिव प्रेम कुमार राई भने ढिला गरी उपस्थित भएका थिए ।

समिति सचिवालयका अनुसार समितिको अर्को बैठक भोलि (१७ गते मंगलबार) बस्नेछ । उक्त बैठकमा हावाहुरी प्रभावित क्षेत्रको स्थलगत अध्धयन गरी तयार उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ । समिति सभापति शशी श्रेष्ठकै नेतृत्वमा गठित उपसमितिले हावाहुरी प्रभावित क्षेत्रको अध्ययन गरी प्रतिवेदन तयार पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment