Comments Add Comment

कोलकाताले पन्जाबलाई ७ विकेटले हरायो, शुभमन गिल बने हिरो

Photo Credit : IPL

२१ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा कोलकाता नाइटराइडर्सले किंग्स इलाभेन पन्जाबलाई ७ विकेटले पराजित भएको छ ।

शुक्रबार राति मोहालीमा टस हारेर पहिले व्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८३ रन बनाएको थियो । कोलकाताले १८ ओभरमा ३ विकेटको क्षतिमा १८५ रन बनाउँदै जित हासिल गर्‍यो ।

कोलकाताको जितमा शुभमन गिल हिरो बने । ४९ बल सामना गरेका उनले ५ चौका र २ छक्काको मद्दतमा नटआउट ६५ रन बनाए । शुभमन गिलले ३६ बलमा अर्धशतक पूरा गरेका थिए । आईपीएलको जारी सिजमा उनको यो तेस्रो अर्धशतक हो । आईपीएल क्रिकेटमा उनले पहिलो पटक उनले म्यान अफ द म्याचको पुरस्कार पनि जिते ।

कोलकाताका लागि क्रिस लिनले ४६, आन्द्रे रसेलले २४ र कप्तान दिनेश कार्तिकले नटआउट २१ रन योगदान गरे ।

पन्जाबका लागि मोहम्मद शामी, रविचन्द्रन आश्विन र एन्ड्र्यु टोयले १-१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले साम करेनको ५५, निकोलस पुरनले ४८ र मयंक अग्रवालको ३६ रनको मद्दतमा १८३ रन बनाएको थियो ।

रणनीतिमा सफल बने कार्तिक

यो म्याचमा कोलकाता गर या मरको स्थितिमा थियो । यो म्याच हारेको भए अन्तिम चारमा पर्ने सम्भावना सकिन्थ्यो । त्यसैले कप्तान दिनेश कार्तिकले नयाँ चाल चल्दै माथिल्लो क्रमका ब्याट्सम्यान शुभमन गिललाई सलामी ब्याट्सम्यानको रुपमा उतारेका थिए ।

म्याचको टर्निङ प्वाइन्ट त्यतिबेला आयो जतिबेला रविचन्द्रन आश्विन आफ्नो चौथो तथा इनिङको १३ औं ओभरमा बलिङ गर्न आए । उनको सामना शुभमन गिलले गरे । गिलले छक्का र चौका प्रहार गरे । त्यसपछि आश्विन अत्तालिए । पाँचौ बल त उनले अफ स्टम्प भन्दा धेरै बाहिर वाइड बलिङ गरे । आश्विन प्राय यस्तो बलिङ गर्दैनथिए । उनले आत्मविश्वास गुमाएको यो बलिङबाट थाहा हुन्थ्यो ।  यो ओभरमा आश्विन १८ रन खर्चिन बाध्य भए ।

अन्तिम चारमा पर्ने सम्भावना कायमै

यो जितसँगै कोलकाता १२ अंकसहित तालिकाको पाँचौ स्थानमा पुगेको छ । उसले अन्तिम चारमा पर्ने सम्भावना कायमै राखेको छ । अब कोलकाताको अन्तिम प्रतिस्पर्धा आइतबार मुम्बई इन्डियन्ससँग हुनेछ । यदि मुम्बईलाई हराएमा कोलकाता अन्तिम चारमा समावेश हुने छ ।

अझै अंक तालिकामा उभन्दा माथि सनराइजर्स हैदरावाद छ । उसको पनि १२ अंक छ । हैदरावादले शनिबार दिल्लीविरुद्ध खेल्ने छ । उसको जित या हार र त्यसपछि आइतबार कोलकाताको जित या हारले नै आईपीएलमा प्लेअफमा पुग्ने कुराको टुंगो लाग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment