+

फिफाका सदस्य राष्ट्रलाई थप रकम बाँड्ने इन्फान्टिनोको संकेत

२०८३ असोज  १३ गते १२:५७ २०८३ असोज १३ गते १२:५७

१३ असोज, काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको सञ्चित कोषबाट सदस्य राष्ट्रहरूलाई थप रकम उपलब्ध गराउन आफू तयार रहेको संकेत दिएका छन् ।

बीबीसी स्पोर्ट्सले प्राप्त गरेको पत्रमा इन्फान्टिनोले फिफाको अनुमानित ४.४ अर्ब पाउन्डको नगद सञ्चितिबाट जिम्मेवार रूपमा उपलब्ध गराउन सकिने ‘अधिकतम स्तरको अतिरिक्त कोष’ वितरणलाई समर्थन गर्ने बताएका छन् ।

युरोपेली फुटबल महासंघ (यूईएफए) र उत्तर तथा मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रको फुटबल महासंघ (कन्काकाफ) ले फिफालाई आफ्नो सञ्चित रकमबाट प्रत्येक २११ सदस्य राष्ट्रलाई १ करोड अमेरिकी डलर उपलब्ध गराउन माग गरेका छन् । उक्त प्रस्तावमाथि अक्टोबर १५ मा बस्ने फिफा काउन्सिलको बैठकमा छलफल हुनेछ ।

इन्फान्टिनोले पत्रमा रकमबारे आफूले अहिले नै कुनै निश्चित धारणा नबनाएको बताएका छन् । ‘एउटा निश्चित रकमले छलफल सुरु गर्न सक्छ, तर विश्वव्यापी नीति तय गर्न त्यसले मात्र पुग्दैन’ उनले लेखेका छन् ।

इन्फान्टिनोमाथि पछिल्लो समय फिफा फर्वार्ड इन्टरप्राइज (एफएफई) योजनाका कारण दबाब बढेको छ । उक्त योजनाअन्तर्गत विश्वकप तथा फिफाका अन्य प्रतियोगिताको व्यावसायिक अधिकारमा निजी लगानीकर्तालाई हिस्सा बिक्री गर्ने प्रस्ताव गरिएको थियो । चौतर्फी आलोचनापछि उक्त योजना फिफाले फिर्ता लिएको थियो ।

इन्फान्टिनोले पछिल्लो पत्रमार्फत फिर्ता लिइएको योजनाको पुनः बचाउ गर्दै त्यसको उद्देश्य फुटबलमा थप लगानीका लागि रकम जुटाउनु रहेको दाबी गरेका छन् ।

यसअघि यसै महिनाको सुरुवातमा इङ्ल्यान्ड फुटबल संघकी अध्यक्ष तथा फिफा उपाध्यक्ष डेबी हेविटले एफएफई योजनासँग सम्बन्धित सबै कागजात सार्वजनिक गर्न इन्फान्टिनोसँग माग गरेकी थिइन्। उनले योजनाबारे स्वतन्त्र समीक्षा गर्नसमेत माग गरेकी छन् ।

इन्फान्टिनो सन् २०२७ को मार्चमा फिफा अध्यक्षका रूपमा चौथोपटक निर्वाचन लड्ने तयारीमा छन् । उनका सम्भावित प्रतिस्पर्धीले वैकल्पिक उम्मेदवार अघि सार्न नोभेम्बर १८ सम्मको समय पाउनेछन् ।

-बीबीसीबाट

जियानी इन्फान्टिनो फिफा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय