+
+

प्रदेश १ को राजधानी विराटनगरमै राख्ने नेकपाको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २२ गते २१:०८

२२ वैशाख, विराटनगर । प्रदेश १ को स्थायी राजधानी विराटनगर नै कायम हुने भएको छ । दुई तिहाई बहुमत रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी राजधानी विराटनगर बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गरेको छ ।

नेकपा संसदीय दलको निर्णयअनुसार प्रस्ताव दर्ता भएको छ । राजधानी विराटनगर रहने तर, कार्यपालिका, व्यवस्थापिकालगायतका संरचना इटहरी विराटनगर सुन्दरहरैंचा आसपास संरचना निर्माण गर्ने नेकपा संसदीय दलको निर्णय छ ।

मुख्यमन्त्री शेरधन राईले सहमतिका लागि यस्तो प्रस्ताव आएको अघि सारिएको बताए । ‘कांग्रेसकै आग्रहमा बृहत विराट क्षेत्र हटाएका हौं,’ उनले भने, फरकफरक प्रस्ताव आएपछि नेकपाले जुन प्रस्ताव राखेको छ, त्यसमा सहमति हुन्छ ।’

प्रदेशको स्थायी राजधानीबारे प्रदेशसभामा चार वटा प्रस्ताव दर्ता भएका छन्, जसमा धनकुटा र विराटनगर प्रदेश राजधानी हुनुपर्ने उल्लेख छ ।

सत्तारुढ नेकपाकै तीन सांसदले धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने प्रस्ताव राखेका छन् । संसदीय दलको निर्णय विपरित दर्ता भएको प्रस्तावको प्रस्तावक निरन राई तथा समर्थक इन्द्रमणि पराजुली र कुसुमकुमारी श्रेष्ठ छन् ।

मुख्यमन्त्री राईले भने नेकपाका सांसदहरुलाई अराजक हुने छुट नभएको भन्दै कारबाही गर्ने चेतावनी दिए ।

प्रदेशको स्थायी राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले टुंगो लगाउने संवैधानिक व्यवस्था छ ।

प्रदेश १ मा नेकपाको दुई तिहाई बहुमत छ ।

नाम अझै टुंगिएन

मुख्यमन्त्री राईका अनुसार प्रदेशसभाको नामबारे अहिले कुनै प्रस्ताव दर्ता हुने छैन । सभामुखसँग परामर्शपछि यही वा अर्को अधिवेशनमा प्रस्ताव ल्याउने तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?