Comments Add Comment

चिकित्सकले गलत रगत दिँदा बालिकाको मृत्यु !

२३ वैशाख, काठमाडौं । बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा डाक्टरको लापवाहीले ५ वर्षीया बालिकाको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । मुटुको शल्यक्रिया गर्दा डाक्टरले गलत समूहको रगत चढाएपछि मृत्यू भएको उनीहरुको दाबी छ ।

सर्लाही सिसौरिया घर भएकी आकृतिकुमारी शाहलाई २ महिनादेखि मुटुको समस्या उत्पन्न भएको थियो । डाक्टरले मुटुको भल्वमा प्वाल परेको बताएर शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए । बालिकाका काका सुरेन्द्र शाहका अनुसार गत १७ गते शल्यक्रिया गरिएको थियो ।

उनले अनलाइनखबरसँग भने, ‘सबै मेडिकल रिपोर्टहरुमा उनको ब्लड ग्रुप ओ पोजिटिभ लेखिएको थियो । तर, अपरेसनका क्रममा बाहिर आएर डाक्टरले ए पोजिटिभ रगत चाहियो भन्नुभयो । त्यहीअनुसार हामीले ए पोजिटिभ रगत व्यवस्था गर्‍यौं । तर, अपरेसनपछि हामीलाई बिरामी भेट्न दिइएन ।’

उनले गलत रगत चढाउनासाथ आकृतिको मृत्यू भएको हुन सक्ने आशंका व्यक्त गरे ।

‘मैले १९ गते उनलाई हेर्दा भेन्टिलेटरमा चढाइएको थियो । हामीलाई जिवित छिन् भनेर देखाउन मात्रै भेन्टिलेटरमा राखिएको रहेछ । हामीले सोध्दा होस खुल्न आँटेको छ भन्थे । तर उनीहरुले झूट बोलिरहेका थिए,’ साहले भने । यो बीचमा अस्पतालले किर्ते मेडिकल रिपोर्टहरु बनाएको उनको आरोप छ ।

‘अपरेसन अगाडि मैले सबै मेडिकल रिपोर्ट फोटोकपि गरेर राखेको थिएँ । तर, अहिले उनीहरुले देखाएको रिपोर्टसित त्यो मिल्दैन । सक्कली लुकाएर सबै किर्ते रिपोर्ट बनाएछन्,’ उनले भने ।

अपरेसन अगाडि मञ्जुरीनामामा सही गर्न लगाइएको थियो । उक्त मञ्जुरीनामामा अपरेसन असफल हुने सम्भावना १ देखि अढाई प्रतिशत रहेको उल्लेख भएको साह बताउँछन् ।

‘तर अहिले त्यसलाई हातले सच्याएर २० देखि ३५ प्रतिशत बनाएका छन्,’ उनले भने ।

डाक्टरहरुले आज साढे चार बजे परिवारलाई बालिकाको मृत्यू भएको जानकारी दिएका थिए । सो खबर सुन्नासाथ बालिकाका बाबु र आमा मुर्छित बनेको सुरेन्द्रले बताए ।

‘बच्चाको मृत्यू भएको भनेर हामीलाई कागजमा सही गर्न भन्नुभयो । तर, हामीले मानेनौं । अस्पतालमा दाजु भाउजु र ममात्र छौं । हाम्रो पक्षमा बोलिदिने कोही छैन,’ उनले भने ।

आफूहरुले कागजमा सही नगरेपछि मृतकलाई एम्बुलेन्समा राखेर बाहिर निकालिएको देखेको उनले बताए ।

‘सायद उनीहरुले आफ्नो अनुकुलमा पोष्ट मार्टम रिपोर्ट बनाउने छन्,’ उनले आशंका गरे ।

साहका अनुसार अस्पतालका निर्देशक ज्योतिन्द्र शर्मा नेतृत्वको टोलीले शल्यक्रिया गरेको थियो । अनलाइएनखबरले यस विषयमा बुझ्न शर्मासँग सम्पर्क गर्न खोज्दा उनको फोन उठेन । शर्माले आफूहरुलाई घटनाको छानविन गरेर तीन दिनभित्रमा निसाफ दिने बताएको साहले जानकारी दिए ।

‘उहाँ आफैंले गल्ति गर्ने अनि आफैंले छानविन गर्ने कस्तो कुरा हो यो ?’ साह भन्छन् । आफूहरुले निसाफ नपाएसम्म शव नबुझ्नले उनले बताए ।

‘जबसम्म गल्ती गर्ने डाक्टरलाई कारवाही हुँदैन, तबसम्म हामी शव बुझ्दैनौं,’ उनले भने । आफूहरु प्रहरीमा उजुरी गर्ने तयारीमा रहेको उनले बताए ।

बालिकाको परिवारको आर्थिक स्थिति कमजोर छ । साहका अनुसार बालिकाका बाबु तीन महिना अगाडि वैदेशिक रोजगारीमा गएका थिए । तर, छोरी बिरामी भएपछि फर्केका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment