Comments Add Comment

समाजवादी पार्टीमा पूर्वएमालेको वर्चश्व !

शीर्ष नेतृत्वमा पूर्वमाओवादीदेखि पूर्वराजावादीसम्म

२३ वैशाख, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी एकीकरण भई समाजवादी पार्टी नेपालको जन्म भएको छ । पार्टीको शीर्षतहमा पूर्वप्रधानमन्त्रीदेखि बहालवाला मन्त्री र मुख्यमन्त्रीसम्म छन् । नेताहरुको उल्लेख्य टीम रहेको समाजवादी पार्टीमा पूर्वएमाले नेताहरुको बाक्लो उपस्थिति छ ।

फोरमबाट १६ जना र नयाँ शक्तिबाट ९ जना गरी २५ पदाधिकारी रहने यो पार्टीमा दुई पदाधिकारी भने चयन हुन बाँकी छ ।

समाजवादी पार्टीका घोषित २३ पदाधिकारीमा पूर्वएमाले पृष्ठभूमिका नेताहरूको वर्चस्व छ । पार्टीमा मधेसवादीदेखि चित्रबहादुर केसीका कार्यकर्ताको समेत सहभागिता छ । समाजवादी पार्टीमा उर्वर नेतृत्व रहेको सो पार्टीका नेताहरुले दाबी गरेका छन् । जनताले ठूलो अपेक्षा गरेका चिरपरिचित एवं उदीयमान नेता/कार्यकर्ता आफ्नो पार्टीमा रहेको उल्लेख गर्दै प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले घोषणा सभामा समाजवादी पार्टीले आउँदो चुनावपछि देशकै नेतृत्व गर्ने दाबी गरे ।

पूर्वएमाले हाबी

नयाँ पार्टीमा पूर्वएमालेका अनुभवी नेताहरुको टीम समाहित भएको छ । तत्कालीन एमालेको पदाधिकारी एवं केन्द्रीय कमिटीमा रहेका, पूर्वसांसद र मन्त्री समेत भइसकेको नेताहरु समाजवादी पार्टीमा देखिएका छन् ।

समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राई पूर्वएमालेका उपाध्यक्ष रहिसकेका पुराना अनुभवी नेता हुन् । उनले एमालेमा हुँदा पार्टी नेताका रुपमा मात्रै नभएर सांसद र मन्त्रीका रुपमा समेत भूमिका निर्वाह गरेका थिए । उनी एमाले छाडिसकेपछि पनि पूर्वसभासद थिए ।

पहिलो संविधानसभाका बेला राज्य पुनर्संरचना आयोगले दिएको सुझाव अनुसार पहिचान र सार्मथ्यका आधारमा ११ प्रदेश बनाउनुपर्ने मागबाट एमाले हटेपछि राईले एमाले छाडेर नयाँ पार्टी गठन गरेका थिए । पछि उनी फोरमसँग एकतामा सामेल भए ।

हाल समाजवादी पार्टीका सह-अध्यक्ष बनेका राजेन्द्र श्रेष्ठ पनि एमालेकै पूर्वनेता हुन् । उनी विगतमा काठमाडौंमा एमालेका चर्चित नेताका रुपमा चिनिन्थे । अहिले उनी प्रतिनिधिसभा सदस्यका रुपमा कार्यरत छन् ।

त्यसैगरी उपाध्यक्षहरू मध्ये हेमराज राई र रकम चेम्जोङ पनि पूर्वएमाले नेता हुन् । रकम चेम्जोङ विगतमा धनकुटाबाट एमालेका सांसद निर्वाचित भएका थिए । उनी पूर्वमन्त्रीसमेत हुन् । त्यस्तै महासचिव रणध्वज कन्दङवा र उपमहासचिव डम्बर खतिवडा पनि पूर्वएमाले नेता हुन् । नयाँ पार्टीका सचिव बनेका पर्शुराम बस्नेत पनि पूर्वएमालेबाटै राजनीतिमा आएका नेता हुन् ।

त्यसो त समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव पनि एक जमानामा एमालेमा थिए । उनी एमालेबाट सुनसरीमा चुनावसमेत लडेका थिए । पछि उनी माओवादीमा प्रवेश गरे । वीचैमा माओवादी छाडेर मधेसी जनअधिकार फोरम गठन गरी मधेस आन्दोलनमा लागे ।

पूर्वमाओवादीबाट को-को ?

नयाँ समाजवादी पार्टीमा पूर्वएमालेको मात्रै अनुहार देखिएको छैन, पूर्वमाओवादीको पनि अनुहार देखिएको छ । घोषित २३ पदाधिकारीहरुमा पूर्वमाओवादीबाट ४ जना रहेका छन् ।

पार्टीका संघीय परिषद अध्यक्ष डा. भट्टराई पूर्वपधानमन्त्री हुन् । तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्धमा नेतृत्वदायी भूमिका खेलेका भट्टराई शान्ति प्रक्रियापछि माओवादीबाटै प्रधानमन्त्री भएका थिए । प्रधानमन्त्री हुनुअघि ०६५ सालमा पनि भट्टराई पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सफल अर्थमन्त्रीको परिचय बनाउन सफल भएका थिए ।

त्यस्तै, समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला यमी पनि पूर्वमाओवादी नेतृ हुन् । महासचिव गंगानारायण श्रेष्ठ पनि पूर्वमाओवादीका चर्चित युवा नेता हुन् ।

मधेस आन्दोलनको छायाँ

पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मधेस अन्दोलनपछि उदाएका नेता हुन् । समाजवादी पार्टी घोषणा सभामा केही नेताहरुले अध्यक्ष यादवलाई ‘संघीयताको पिता’ भनेर पनि सम्बोधन गरेका थिए । क्षेत्रीय राजनीतिबाट उदाएको भए पनि राष्ट्रिय राजनीतिमा आफ्नो स्थान खोजीरहेका नेताहरुमध्ये एक हुन् यादव । हाल उनी संघीय सरकारको उपप्रधान एवं स्वास्थ्यमन्त्री छन् ।

नवघोषित समाजवादी पार्टीका उपाध्यक्ष एवं प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत ०५७ सालमा फोरम स्थापना भएदेखि नै उपेन्द्र यादवलाई सक्रियरुपमा सघाउँदै आएका युवा नेता हुन् । उनी पूर्वसभासदसमेत हुन् ।
समाजवादी पाटीृका सचिव मोहम्मद इस्तियाक राई मुस्लिम आन्दोलनमा लागेर फोरमबाटै राजनीतिमा आएका युवा नेता हुन् । उनी हाल संघीय सरकारको शहरी विकास मन्त्री छन् ।

त्यसैगरी महासचिव रामसहायप्रसाद यादव मधेस आन्दोलन सुरु भएपछि शिक्षण पेशा छाडेर फोरमबाटै राजनीतिमा सक्रिय नेता हुन् । प्रदेश २ का अर्थमन्त्रीसमेत रहेका कोषाध्यक्ष विजयकुमार यादव पनि पूर्वमधेसवादी नेता हुन् । जनतान्त्रिक तराई मुक्ति मोर्चाका नामबाट सशस्त्र आन्दोलन गर्दै आएका यादव पछि उपेन्द्र यादव नेतृत्वको फोरमबाट राजनीतिमा सक्रिय भए ।

पूर्वपञ्चदेखि चित्रबहादुर केसीका कार्यकर्तासम्म

त्यसो त समाजवादी पार्टीमा पूर्वराजावादीको पनि सहभागिता छ । उपाध्यक्ष पर्शुराम खापुङ राप्रपाबाट नयाँशक्ति पार्टी हुँदै आएका नेता हुन् । उनी पूर्वसांसद तथा पूर्वमन्त्री हुन् । त्यसैगरी उपाध्यक्ष रेणुकुमारी यादव फोरममा लाग्नुपूर्व राजावादी पार्टी राप्रपामा थिइन् ।

समाजवादी पार्टीका उपाध्यक्ष नवराज सुवेदी पूर्वमसालका नेता हुन् । ०५१ सालमा सुवेदी र परि थापाले चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रतिनिधिसभामा भूमिका खेलेका थिए । प्युठानका पूर्वसांसद रहेका सुवेदी नारायणकाजी श्रेष्ठको एकताकेन्द्र- मसाल हुँदै माओवादीमा पुगेका थिए । पछि उनी डा. बाबुराम भट्टराईसँगै माओवादीबाट निस्किएर नयाँ शक्ति पार्टीमा आवद्ध भए ।

त्यसैगरी उपमहासचिव प्रकाश अधिकारी पूर्वनेकपा माक्र्सवादी र दानबहादुर विश्वकर्मा पूर्वएकताकेन्द्रका नेता हुन् । सचिव दुर्गा सोव दलित आन्दोलन हुँदै नयाँ शक्तिमा थिइन् ।

ठूलो पार्टीको झल्को !

सत्तारुढ नेकपामा दुईजना (ओली र प्रचण्ड) अध्यक्ष छन् । त्यही मोडलमा दुई अध्यक्ष रहने गरी नयाँ शक्ति र फोरम नेपालले पनि पार्टी एकीकरण गरेका छन् । सोमबार प्रज्ञा भवनमा आयोजित समाजवादी पार्टी घोषणा सभामा सत्तारुढ नेकपाकै झल्को दिलाउने केही दृश्यहरु देखिए ।

पहिलो- नेकपाका एक अध्यक्ष ओली प्रधानमन्त्री छन् । समाजवादी पार्टीका एक अध्यक्ष यादव उपप्रधानमन्त्री छन् । दुबै पार्टीका एक/एक अध्यक्ष -दाहाल र भट्टराई) पूर्वमाओवादी नेता हुन् ।

दोस्रो- नेकपाको जिल्ला कमिटी एकता घोषणा सभामा अध्यक्षद्वयको सभा हल प्रवेश र समाजवादी पार्टीका अध्यक्षद्वयको सभाहल प्रवेशको दृश्य उस्तै थियो । हात हल्लाउँदै अध्यक्षद्वय सभाहल प्रवेश गर्दा दर्शकदीर्घाबाट नेता/कार्यकर्ताले सिठी फुक्दै ताली बजाएर स्वागत गरेका थिए ।

तेस्रोे- नेकपाको पार्टी एकीकरण घोषणामा नेता/कार्यकर्ताको खचाखच उपस्थिति थियो । समाजवादी पार्टी घोषणा कार्यक्रममा पनि ठूलो पार्टीको झल्को दिनेगरी प्रज्ञा भवन खचाखच भरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment