News Summary
Generated by OK AI. Editorially reviewed.- गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याणले जेनजी सहिद परिवारप्रति सम्मान व्यक्त गर्दै लिङ्क्डइनमा भावुक सन्देश सार्वजनिक गरेका छन्।
- जेनजी सहिद परिवार कल्याणकारी समाजले उनलाई मंगलबार सम्मान गरेको र कार्यक्रममा सहिद परिवारका सदस्यसँग भेटघाट भएको थियो।
- गोल्याण फाउण्डेशनले २२ सहिदका ३१ बालबालिकालाई कक्षा १२ सम्म शैक्षिकवृत्ति र २२ सहिदका ४३ बुवाआमालाई स्वास्थ्य बीमा दिएको छ।
२५ भदौ, काठमाडौं । गोल्याण ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक अक्षय गोल्याणले जेनजी सहिद परिवारप्रति सम्मान व्यक्त गर्दै सामाजिक सञ्जाल लिङ्क्डइनमा भावुक सन्देश सार्वजनिक गरेका छन्।
जेनजी सहिद परिवार कल्याणकारी समाजले मंगलबार उनलाई सम्मान गरेको तथा सहिद परिवारसँग भेटघाट भएको सन्दर्भमा गोल्याणले सन्देश सार्वजनिक गरेका हुन्।
जेनजी सहिद स्मृति दिवसको सम्झना गर्दै उनले कार्यक्रममा सहभागी सहिद परिवारका सदस्यको पीडा अझै ताजा रहेको उल्लेख गरेका छन्।
‘त्यहाँ भेला भएका सबैको मुहारमा पीडा ताजा थियो, मानौं घटना हिजोमात्रै भएको हो,’ उनले लेखेका छन्, ‘प्रज्वलित हरेक दियोको ज्वालामा र मौन रहेका हरेक अनुहारमा त्यो पीडा महसुस गर्न सकिन्थ्यो।’
औपचारिक कार्यक्रमपछि सहिद परिवारसँग भएको भेटले आफूलाई सोचमग्न बनाएको उनले बताएका छन्। ‘त्यो कोठामा आँशुका बीच पनि आत्मीयता र न्यानोपन थियो, चिरपरिचित जस्तो सहजता झल्किन्थ्यो,’ उनले भनेका छन्, ‘किनभने एक वर्ष अवधिमा हामीबीच भएको निरन्तर भेटघाट, नानीबाबुहरू पढ्ने विद्यालय भ्रमण र कुराकानीले अपरिचित थिएनौं।’
कार्यक्रमस्थलमा देखिएको आत्मीयता नै आफूहरूका लागि सबैभन्दा ठूलो सम्मान भएको गोल्याणले उल्लेख गरेका छन्। अक्षयको नेतृत्वमा रहेको गोल्याण ग्रुपले सामाजिक सहकार्यात्मक संस्था गोल्याण फाउण्डेशनमार्फत सहिदका सन्तानलाई कक्षा १२ सम्म शैक्षिकवृत्ति प्रदान गर्दै आएको छ। त्यस्तै, शैक्षिकवृत्तिमा नसमेटिएका सहिद परिवारका बुवाआमाका लागि वार्षिक १० लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरिदिएको छ।
फाउण्डेशनले घोषणा गरेको एक वर्षमै आफ्नो प्रतिबद्धता कार्यान्वयन गरेको जनाएको छ। हाल २२ सहिदका ३१ जना बालबालिकाले शैक्षिकवृत्ति पाउँदै आएका छन्। उनीहरूका लागि फाउण्डेशनले मासिक जनही ४० हजार रुपैयाँका दरले वार्षिक ४ लाख ८० हजार रुपैयाँ खर्च गर्दै आएको छ।
त्यसैगरी, २२ सहिदका ४३ जना बुवाआमा स्वास्थ्य बीमामा आबद्ध भएका छन्। पहिलो वर्षमै करिब ८ लाख रुपैयाँ बीमा दाबीबापत भुक्तानी भएको फाउण्डेशनले जनाएको छ।
सहिद परिवारसँगको सहकार्यले उनीहरूलाई गोल्याण परिवारकै एक हिस्सा बनाएको गोल्याणले बताएका छन्। ‘सहिदका छोराछोरीहरू हाम्रा पनि छोराछोरी हुन् र बुवाआमा हाम्रा पनि,’ उनले भनेका छन्, ‘हामी सम्मान, जिम्मेवारी र सहिदहरूको बलिदानलाई कहिल्यै नबिर्सने प्रतिबद्धताका साथ यो यात्रालाई सँगसँगै अघि बढाइरहेका छौं।’
सहिद परिवारसँगको एक वर्षको सम्बन्धले एउटै परिवारको आकार दिएको उल्लेख गर्दै उनले आगामी यात्रा पनि सँगसँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया 4