Comments Add Comment

श्रीलंकाका सेना र प्रहरीले भने- देश अब सुरक्षित

२५ वैशाख, काठमाडौं । श्रीलंका अब सुरक्षित रहेको त्यहाँ सुरक्षा अधिकारीहरुले बताएका छन् । इस्टर सन्डेको बेला भएको श्रृंखलाबद्ध बम आक्रमणमा संलग्न आतंकवादीहरु कोही पक्राउ परेको र कोही मारिएकाले देश अब सुरक्षित भएको श्रीलंकाका सेना र प्रहरी अधिकारीहरुको भनाइ छ ।

सुरक्षा अधिकारीहरुले श्रीलंकाबासीलाई संयुक्त रुपमा अपिल गर्दै भनेका छन्, ‘देशलाई पूरै तरिकाले सुरक्षित बनाइएको छ । अब सामान्य जिन्दगीतिर फर्किनुहोस् ।’

गत २१ अपि्रलमा श्रीलंकाका चर्च र होटलहरुमा भएका श्रृंखलावद्ध विष्फोटमा २५० भन्दा बढीको मृत्यु भएको थियो । आक्रमणमा नेशनल तौहिद जमातको संलग्नता रहेको श्रीलंका सरकारको निष्कर्ष छ ।

तर, हालै इस्लामिक स्टेट समूहका प्रमुख अबु बकर अल बगदादीले एक भिडियो सार्वजनिक गर्दै इराकमा हारेको बदला लिन श्रीलंकामा विष्फोट गराइएको बताएका थिए ।

कार्यकारी प्रहरी प्रमुख विक्रमरत्नेले आतंकवादीहरुले लुकाएर राखेका सबै विष्फोटक पदार्थहरु पनि बरामद गरिइसकेको जानकारी दिएका छन् । हाल श्रीलंकाका विद्यालयहरुमा सुरक्षा सम्बन्धी चेतनामुलक र जागरणमुलक कार्यक्रम पनि भइरहेको छ ।
श्रीलंका प्रहरीका प्रवक्ता रुआन गुणसेकराका अनुसार इस्टर सन्डेको बेला आक्रमण भएपछि १४० जनाभन्दा बढी शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको छ । यसमा नौ जना महिलासमेत छन् ।

इस्टर सन्डेको बेला भएका श्रृंखलाबद्ध विष्फोटपछि श्रीलंकाले २ सय इस्लामिक धर्मगुरुसहित ६ सय विदेशीलाई देश निकाला गरेको छ ।

सेनानायक लेफ्टिनेन्ट महेश सेनानायकेले देशको सुरक्षालाई ध्यानमा राख्दै सेनाले आफ्नो तर्फबाट आवश्यक कदम चालेको बताएका छन् । सामाजिक सन्जालमा फैलाइने भ्रामक सूचनाबाट डराउन नपर्ने उनले बताएका छन् ।

यसैगरी सेनाका अधिकारीहरुले श्रीलंकाका तटीय क्षेत्र र विमानस्थलमा पनि आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको बताएका समाचार एजेन्सीले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment