Comments Add Comment

कुखुराको मासु खाँदा बर्डफ्लु सर्छ ?

यसरी देखापर्‍यो बर्डफ्लु

२४ वैशाख, काठमाडौं । नेपालमा पहिलो पटक बर्डफ्लु (एचफाईभ एनवान) देखिएको छ । त्यसबाट संक्रमित बिरामीको मृत्यु भइसकेको छ । यो अवस्थामा बर्डफ्लुबाट जोगिने उपायहरु अवलम्वन गर्न अत्यावश्यक भएको छ ।

बर्ड्फ्लु पंक्षीबाट मानिसमा सर्ने रोग हो । एच फाइभ एनवान भाइरसको मुख्य स्रोत काग लगायतका चराचुरुङ्गी र कुखुरा हुन् । बर्डफ्लू कुखुराको मासु, सूली, प्वाँख, सिंगान, र्‍याल, दाना, अण्डा, अण्डा राख्ने क्रेट आदिबाट सर्न सक्छ ।

यसअघि नेपालमा मौसमी इन्फ्लुएन्जा (एचवान एनवान) देखिएको थियो, जसबाट मानिसको मृत्यु सम्भावना निकै कम हुन्थ्यो । एचवानएनवान भाइरसबाट लाग्ने रुघाखोकी, ज्वरो, नाक रातो हुने, शरीर दुख्ने र चाँडै निको हुन्थ्यो ।

एचवान एनवान वर्षमा तीन पटक देखिन्छ । यो ए, बी, सी र डी गरी चार प्रकारको हुन्छ । त्यस्ता भाइरसका दैनिक ५० वटा स्याम्पल (घाँटीको ¥याल) प्रयोगशालामा आइपुग्छन् । करिब दुई महिना अघि आएका स्याम्पलहरु मध्ये एउटा एचवान एनवानका चार प्रकार भन्दा अलग देखियो ।

त्यसको प्रकृति छुट्याउन नसकेपछि हामीले परीक्षणको लागि जापान पठायौं । त्यसको रिपोर्ट वैशाख ४ गते आयो । लगत्तै हामीले स्वास्थ मन्त्रालयमा जानकारी गरायौं– नेपालमा बर्डफ्लु देखियो ।

डा. हरिशचन्द्र उप्रेती

कति खतरनाक बर्डफ्लु

बर्डफ्लु पनि अलि फरक प्रकृतिको इन्फ्लुएन्जा भाइरस नै हो । यसको स्टेन्ट कम्पोजिसन नै फरक खालको हुन्छ । मानिसबाट मानिसमा सर्ने सिजनल फ्लुले मृत्यु गराउने सम्भावना अति न्युन हुन्छ ।

सिजनल फ्लुबाट ‘हाइ रिक्स’मा रहेका अर्थात् शिशु, ६० वर्षभन्दा बढी उमेरका, रोगप्रतिरोधी क्षमता कमजोर भएका, गर्भवतीको मात्र मृत्यु हुने सम्भावना हुन्छ, त्यो पनि न्यून । पहिले यही भाइरसलाई बर्डफ्लु भनिदै आएको थियो ।

पंक्षीबाट मानिसमा सर्ने बर्डफ्लुको पनि लक्षणहरु सिजनल फ्लुका जस्तै हुन्छन् । फ्लुको सबै लक्षण भएको र ३८ सेन्टिग्रेटभन्दा बढी ज्वारो आएका मानिसको नमुना परीक्षण गरिन्छ । हाच्छ्यूँ आउने, नाक बहने, खोकी लाग्ने तर, ज्वरो छैन भने त्यसलाई सामान्य रुपमा लिने गरिन्छ । तर, ज्वरो नभएका मानिसमा पनि बर्डफ्लु हुन सक्छ ।

बर्डफ्लु पंक्षीबाट मानिसमा सर्छ तर, सजिलै सर्दैन । जब सर्छ, लाखौंलाई प्रभावित पार्छ । बर्डफ्लु पहिलो पटक सन् १९७८ मा पक्षीमा र १९९७ मा मानिसमा देखिएको थियो ।
मान्छेमा आइसकेपछि बर्डफ्लु निकै छिटो अरु मान्छेमा सर्छ । यो निकै चिन्ताको विषय बनेको छ । श्वासप्रश्वास, नजिकको सम्पर्क, थुक, खकार, मुखका छिटालगायतको माध्ययमबाट एचफाइभ एनवान जिवाणु एक व्यक्तिबाट अर्कोमा सर्छ ।

बर्डफ्लुले मानिसको छिटो मृत्यु गराउँछ । रुघाखोकी लाग्ने, ज्वरो आउने, जिउ दुख्ने लक्षणहरु देखिएको १० दिनभित्रै मृत्यु हुन्छ । २००३ देखि हालसम्म विश्वभर ८६० जनामा एचफाइभ एनवान भाइरस संक्रमण भएको अनुमान छ ।

बर्डफ्लु लागेका चराचुरुङ्गी उड्दा उड्दै भुईंमा खस्छन् । रुखमा बसिरहेको काग वा चराचुरुङ्गी झोक्रिएको, अकस्मात खसेको देखिएमा शंका गर्नुपर्ने हुन्छ । यद्यपि, त्यस्ता चराचुरुङ्गीलाई प्रयोगशालामा परीक्षण गरेर मात्र बर्डफ्लुको पुष्टि हुन्छ ।

कुखुराको मासु खाँदा सर्छ ?

धेरै मानिसहरुलाई कुखुराको मासु, अण्डा खानेवित्तिकै बर्डफ्लु लाग्छ भन्ने परेको छ । बर्डफ्लुको मुख्य स्रोत नै कुखुरा भएकाले यस्तो लाग्नु अस्वाभाविक होइन तर, मासु खाने भन्दा कुखुरा फार्ममा काम गर्ने, कुखुरा ओसार्ने, मासु काट्ने मानिस बढी जोखिममा हुन्छन् ।

७० डिग्री सेल्सियसको तापक्रममा एचफाइभ एनवान जिवाणु नष्ट हुने हुनाले राम्रोसँग पाकेको मासु खाँदा बर्डफ्लु लाग्ने डर हुँदैन । मरेको, झोक्राएको कुखुराको मासु भने खानु हुँदैन । काँचो अण्डा भुलेर पनि खानु हुँदैन ।
बर्डफ्लुबाट जोगिन चराहरुको वरिपरि रहँदा सावधानी अपनाउनु हो । कहिलेकाहीँ एकै पटक धेरै कुखुरा बिरामी हुन्छन् । त्यस्तो अवस्थामा पनि बर्डफ्लुको शंका गर्नुपर्छ । त्यसैले, फार्ममा काम गर्ने मानिसले अनिवार्य रुपमा माक्स, पञ्जा, गाउन लगाउनुपर्छ ।

(राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक प्रा.डा. उप्रेतीसँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment