Comments Add Comment

पञ्चायतकालको सडक सपनाले गणतन्त्रमा मूर्तरुप लियो

चार जिल्ला जोड्ने सालझण्डी-जुठापौवा-सुगुरढुंगा सडक उद्घाटन

२५ वैशाख, बुटवल । रुपन्देहीको सालझण्डीबाट पाल्पा, गुल्मी, अर्घाखाँची जोड्ने सडकको शुभारम्भ गरिएको छ । वि.स. २०३८ सालदेखि नै निर्माणको चर्चा भएको सडकको बुधबार मात्रै उद्घाटन गरिएको हो ।

कृषि सडकका रुपमा ट्रयाक मात्रै खोलिएको सडकलाई अहिले मोटर गुड्ने गरी बिस्तार गरिएको छ । सडकको बुधबार प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले उद्घाटन गरे ।

उनले कृषिको बजारीकरण तथा ग्रामीण पर्यटनको प्रबर्द्धनमा सघाउ पुग्ने भएकाले सम्भावित रणनैतीक सडक अन्तरगत बिस्तार र स्तरोन्नती थालिएको बताए ।
२६ किलोमिटरको दुरी रहेको सालझण्डी-जुठापौवा-सुगुरढुंगा सडकलाई साढे ६ मिटर चौडाइको बनाइएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत रुपन्देहीको सालझण्डीबाट सुरु भएर पाल्पाको रैनादेवी छहरा गाउँपालिका र अर्घाखाँचीको पाणिनी गाउँपालिका हुँदै गुल्मीको रुरु गाउँपालिकामा जोडिने छ ।

सालझण्डी-जुठापौवा-सुगुरढुंगा सडक सडकमा संघीय सरकारको ससर्त अनुदानबाट ५० लाख बजेट छुटि्टएको छ । त्यसमध्ये सडक निर्माणका लागि चालु आर्थिक वर्षमा २७ लाख ३६ हजारमा भावना कन्टक्सन बुटवलले ठेक्का पाएको छ ।

यसबाट सडकको नाली काट्ने र १ हजार ८ सय क्षेत्रमा कालोपत्रे गरिने छ । आगामी आर्थिक वर्षमा सबै सडक कालोपत्रे गर्ने पाल्पाका प्रदेश सांसद तुलाराम घर्तीमगरले बताए । सडक पुगेपछि उत्पादित बस्तुले उचित मूल्य र बजार पाउने उनले भनाइ छ ।

रुपन्देहीका प्रदेश सांसद भूमिश्वर ढकाल र सैनामैना नगरका प्रमुख चित्रबहादुर कार्कीले लुम्बिनी आउने पर्यटकलाई ग्रामीण क्षेत्रमा लगेर घुमाउन र बसाइ अवधि बढाउनसमेत सडक उपयोगी हुने दाबी गरे ।

प्रदेश सांसद नारायण आचार्यले कृषि उत्पादन बजार ल्याउने सडक भएकाले विस्तारलाई प्राथमिकता दिइएको बताए ।

सो सडकलाई उत्तर-दक्षिण जोड्ने मूल सडक बनाउन सकिने जनाइएको छ । यसले तराईका २ जिल्ला र पहाडका ३ जिल्लामा आवागमनमा सहजता थप्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment