Comments Add Comment

अपांग भनेर विद्यार्थीलाई भर्ना लिन अस्वीकार

२८ वैशाख, काठमाडौं । शनिवारीय अंकसहित प्रकाशित आजका पत्रिकाका हेडलाइन फरक फरक समाचार बनेका छन् । नेपाल अवैध शरणार्थीको केन्द्र बनेको, नेपालको कुटनीतिको प्राथमिकता नै अस्पष्ट रहेको, नेपाल वायु सेवा निगमका सबै विमानको खरिद प्रक्रिया नै त्रुटीपूर्ण रहेको लगायतका समाचार फ्रन्टपेजमा पढ्न पाइन्छ ।

यी बाहेक प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले संसदमा प्रयोग गरेका अमर्यादित शब्द रेकर्डबाट हटाउन सभामुख कृष्णबहादुर महराले दिएको निर्देशनलाई पनि पत्रिकाहरुले प्राथमिकता दिएका छन् ।

६ वर्षीय रविन परियारलाई पोखराको छोरेपाटनस्थित छोरेपाटन माविले अपांग भनेर भर्ना लिन अस्वीकार गरेको विषय कान्तिपुरको मुख्य समाचार बनेको छ । रविनले दुवै खुट्टा टेक्न सक्दैनन् । हिँडडुल गर्न अरुको सहारा चाहिन्छ । शरीर भने हृष्टपुष्ट छ । बोल्न र लेख्न कुनै समस्या छैन तर छोरेपाटन माविका प्रधानाध्यापक लक्षमण थापाले भर्ना लिन अस्वीकार गरे । नर्सरी उत्तीर्ण भए पनि माथिल्लो कक्षामा भर्ना हुन नपाएपछि रविन घरमै बसिरहन बाध्य भएको कान्तिपुरले लेखेको छ ।

कान्तिपुरका अनुसार नेपाल वायु सेवा निगमले २०७१ र २०७५ सालमा गरी दुई पटक भित्राएका एयरबस कम्पनीका चारवटा जेट विमान खरिद प्रक्रियामै त्रुटी छ । त्रुटीको निष्कर्ष संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छानविन गरेर निकालेको हो ।

अन्नपूर्ण पोष्टले नेपालको कुटनीति नै भद्रगोल रहेको मुख्य समाचार छापेको छ । साथै परराष्ट्र मन्त्रालयको युरोप-अमेरिका महाशाखामा जनशक्ति पनि कम रहेको समाचार लेखिएको छ । ‘युरोप अमेरिका महाशाखाले विदेशस्थित १० दूतावास र ८३ मुलुक हेर्दै आएको छ । अमेरिका, क्यानडा, दक्षिण अमेरिका, युरोपका सबै दूतावास यही महाशाखाअन्तर्गत पर्छन् । तर ती मुलुकसँगको प्रत्यक्ष अन्तर्रक्रियामा एक सहसचिव, एक उपसचिव, एक अधिकृत र एक सुब्बामात्र खटिएका छन्,’ अन्नपूर्ण पोष्टले लेखेको छ ।

नागरिक दैनिकमा संसदमा प्रधानमन्त्रीको अभिव्यक्ति असंसदीय ठहर भएको मुख्य समाचार छ ।

नयाँ पत्रिका दैनिकले नेपाल अवैध शरणार्थीको केन्द्र बन्दै गएको समाचार छ ।

राजधानी दैनिकले देशभर डाक्टर अभाव रहेको र असनको घडी घरमा भूमाफियाको आँखा लागेको समाचार छापेको छ ।

नेपाल समाचारपत्र दैनिकले भने व्यक्तिको नाममा गरिएका सार्वजनिक जग्गाको खोजी सरकारले सुरु गरेको विषयलाई ब्यानर समाचार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment