Comments Add Comment

अमेजन मालिक बेजोसको योजना : चन्द्रमामा बसोबास

अमेजन कम्पनीका मालिक तथा विश्वको नम्बर वान धनाढ्य जेफ बेजोसले पत्रकार सम्मेलन बिरलै गर्दछन् ।

उनले हालै एउटा पत्रकार सम्मेलनको आयोजना गरे र आफ्नो सबैभन्दा लगावको परियोजना ‘ब्लु ओरिजिन’का बारेमा कुरा गरे भने चन्द्रमामा उतार्ने यानका बारेमा पनि कुरा गरे ।

उनले परिकल्पना गरेको ब्लू मून नामको यान चन्द्रमामा जाने अद्वितीय साधन बन्नेछ । उनका अनुसार अब बसोबासका लागि चन्द्रमामा जाने समय भएको छ ।

यसको अर्थ बेजोस तत्कालै झिटिगुण्टा कसेर चन्द्रमामा बसाई सर्न लागेका होइनन् । उनले अन्तरीक्षका लागि लक्षित गर्दै पूर्वाधारको निर्माण गर्ने योजना भने बनाएका छन् । जुन परियोजनाको नाम उनले ब्लु ओरिजिन राखेका छन् । उनको यो परियोजना सफल भएमा दशौं लाख मानिसलाई अन्तरीक्षमा भ्रमण गर्ने अवसर प्राप्त हुनेछ ।

जेफ बेजोसको परिकल्पनाको चन्द्रयानको निर्माण पछिल्लो तीन वर्षदेखि चलिरहेको छ । सन् २०२४ सम्ममा चन्द्रमामा यात्रुहरु ओराल्ने योजना उनको छ ।

यद्यपि अन्तरीक्षको विषयमा रुची राख्ने अर्बपति केवल बेजोस मात्र होइनन् । टेस्ला कम्पनीका सिइओले पनि अन्तरीक्षमा व्यवसायिक भ्रमण गराउने उद्धेश्यका साथ एपेस एक्स कम्पनी खडा गरेर काम अघि बढाइरहेका छन् । त्यस्तै बेलायतका धनाढ्य रिचार्ड ब्रान्सनले पनि अन्तरीक्षमा आधारित पर्यटनको क्षेत्रमै काम गर्नेगरी भर्जिन ग्यालाक्टिक नामक कम्पनी खडा गरेका छन् ।

आफ्ना सबै योजनाहरु भावी पुस्ताप्रति समर्पित रहेको जेफ बेजोसको जिकिर छ । ‘अहिले मैले तय गरेको योजना भनेको निश्चित रुपमा बहुपुस्ता दृष्टिकोण हो’, उनले पत्रकार सम्मेलनमा भने ।

उक्त योजना केवल एउटा पुस्तामा मात्र पूरा नहुने भन्दै उनले यस क्षेत्रमा भावी पुस्तालाई पनि उत्प्रेरित गर्दै लैजानु आवश्यक रहेको बताए ।

विश्वका सर्वाधिक धनी मानिस अन्तरीक्ष यात्राको विषयलाई पहुँचयोग्य बनाउन निकै गम्भीर ढंगले लागिपरेका छन् । तर अन्तरीक्ष यात्राको वास्तविक खर्च कति हुन्छ ? भन्ने कुरा अहिलेसम्म कसैले खुलाएको छैन । तर यो पक्का छ कि चन्द्रमासम्मको यात्रा र त्यहाँ गएर बसोबास गर्ने भन्ने कुरा दुनियाका धेरैजसो मानिसको पहुँचभन्दा टाढा हुनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment