News Summary
Generated by OK AI. Editorially reviewed.- मौसमविद् सञ्जीव अधिकारीका अनुसार उत्तर प्रदेश आसपासको न्यूनचापीय क्षेत्र कमजोर हुँदै जाँदा नेपालमा वर्षा क्रमशः घट्नेछ।
- आज दिउँसो सुदूरपश्चिम, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षा हुने र एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।
- चितवन आसपास र गण्डकीको तल्लो तथा पहाडी भूभाग, मधेश र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना कायम छ।
११ असोज, काठमाडौं । भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालमा वर्षाको गतिविधि पनि क्रमश: घट्दै जाने मौसमविद्ले बताएका छन् । यद्यपि आज दिउँसो देशका विभिन्न भूभागमा वर्षा हुने तर एक–दुई स्थानमा मात्र भारी वर्षा हुने पूर्वानुमान छ ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार उत्तर प्रदेश आसपास अवस्थित न्यूनचापीय क्षेत्र नेपालको लुम्बिनी र सुदूरपश्चिम प्रदेशको दक्षिणतर्फ रहेकाले ती क्षेत्रमा वर्षाको गतिविधि केन्द्रित भएको हो ।
न्यूनचापीय क्षेत्रसँगै बंगालको खाडीबाट जलवाष्प बोकेको हावा पनि गएराति नेपालको मध्य भूभागतर्फ केन्द्रित भएको थियो । त्यसका कारण रातिको समयमा पनि नेपालको मध्य भूभागका विभिन्न स्थानमा ठूलो वर्षा भएको अधिकारीले बताए ।
अहिले न्यूनचापीय प्रणाली विस्तारै कमजोर भइसकेको र त्यसको थोरै मात्र प्रभाव बाँकी रहेकाले आज पनि वर्षाका केही गतिविधि हुने उनले बताए ।
भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय क्षेत्रका साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ आइरहेकाले मधेश, बागमती र कोशी प्रदेशको पश्चिमी भूभागमा अहिले बादल लागेको छ । त्यसैले ती क्षेत्रमा पनि वर्षा हुने सम्भावना रहेको छ ।
यस्तै, नेपालको पश्चिमी भूभागका धेरै स्थानमा बादल लागे पनि तत्काल ठूलो वर्षा भइरहेको अवस्था नरहेको उनले बताए।
चितवन आसपास र गण्डकीमा भारी वर्षाको सम्भावना कायम
अधिकारीका अनुसार आज दिउँसो विशेषगरी सुदूरपश्चिम प्रदेशका हिमाल, पहाड र तराईका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । कोशी प्रदेशको पूर्वी भूभागमा भने तुलनात्मक रूपमा कम वर्षा हुने देखिएको छ ।
कर्णालीदेखि पूर्वतर्फ मधेश प्रदेशसम्मका विभिन्न भूभागमा दिउँसो पनि वर्षाको क्रम जारी रहने भए पनि अधिकांश स्थानमा भारी वर्षा हुने सम्भावना नरहेको अधिकारीको भनाइ छ । यद्यपि एक–दुई स्थानमा मात्र भारी वर्षा हुन सक्ने सम्भावना भने रहेको छ ।
उनका अनुसार मधेश प्रदेश, बागमतीको तल्लो भूभाग तथा चितवन आसपास, गण्डकीको तल्लो तथा पहाडी भूभाग, हिमाली क्षेत्र, लुम्बिनी प्रदेशका दक्षिणी भूभाग तथा सुदूरपश्चिमका हिमाल, पहाड र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ ।
तर आज रातिको समयमा भारी वर्षाको सम्भावना नरहने र मौसममा धेरै हदसम्म सुधार आउने मौसमविद् अधिकारीले बताएका छन् ।
प्रतिक्रिया 4