Comments Add Comment

सामुदायिक विद्यालयमा नयाँ भवन बन्दै, विद्यार्थी घट्दै

२९ वैशाख, रामेछाप । जिल्लामा भूकम्पपछि धमाधम सामुदायिक विद्यालयका सुविधासम्पन्न भवनहरु पुनर्निर्माण भएका छन् । विद्यालय भवन आधुनिक बने पनि पढ्ने विद्यार्थी नै भेटिन मुश्किल हुन थालेको छ ।

जिल्लाका ३ सय ९७ विद्यालयमध्ये १० वटामा अहिले ९ जना भन्दा कम विद्यार्थी रहेका छन् । त्यस्तै १८ वटा विद्यालहरुमा १५ जना भन्दा कम र २४ वटा विद्यालयहरुमा ५० भन्दा कम विद्यार्थीहरु छन् ।

पछिल्लो समय छोराछोरीलाई अंग्रेजी शिक्षा पढाउने अभिभावकको रहर र सामुदायिक विद्यालयको स्तर खस्किएको भन्दै सहरी क्षेत्रका निजी विद्यालयमा बालबालिका पढाउने प्रचलन बढेको छ ।

रामेछाप जिल्लामा भूकम्पपछि २१ अत्याधुनिक सुविधासम्पन्न विद्यालय भवनहरु बनेका छन् । ती भवनहरु अपाङ्ग, छात्रामैत्री तथा विज्ञान प्रयोगशालासहितका छन् ।

रामेछाप, दोलखा, सिन्धुली लगायका जिल्लालाई केन्द्र बनाएर स्थापना गरिएको रामेछापको शारदा संस्कृत माविमा समेत विद्यार्थीको संख्या अत्यन्त न्युन हुँदा विद्यालयको संरचनालाई कसरी थेग्ने भन्ने चिन्ता विद्यालय व्यवस्थापन, अभिभावक तथा जनप्रतिनिधिलाई समेत परेको छ ।

युएसएडको आर्थिक सहयोगमा सो विद्यालयमा २६ कोठाका ५ वटा अति सुविधासम्पन्न भवनहरु बनेका छन् । भवन आइतबार ए कार्यक्रमको आयोजना गरी युएसएडका प्रतिनिधि निक लिड्युको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको छ । तर विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थीको संख्या भने एक सय लगभग छ । करोडौंको लगानीमा बनेका संरचनाको संरक्षण गर्न र विद्यार्थीहरुलाई गाउँमै रोक्न चुनौती भएको रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापा मगर बताउँछन् ।

नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपाने गुणस्तरीय शिक्षा दिन नसके अब सामुदायिक विद्यालयमा विद्यार्थी नरोकिने बताए । यसको लागि योजना बनाएर लाग्नुपर्ने उनको भनाइ छ ।

नेकपाका नेता आनन्द श्रेष्ठ गाउँमा गुणस्तरीय शिक्षा दिन नसक्दा गाउँनै उजाड बन्दै गएको बताउँछन् । छोराछोरीलाई पढाउनकै लागि मानिसहरु सहर झरेको उनको भनाइ छ ।

रामेछापकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी नयाँ बनेका संरचनाको उचित प्रयोग गर्नका लागि पनि सामुदायीक विद्यालयले पढाइको गुणस्तरमा ध्यान दिनुपर्ने बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment