Comments Add Comment

दिल्लीलाई तेस्रो बनाउन मेरो पनि योगदान छ : सन्दीप

२९ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर सन्दीप लामिछाने आइतबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब २ घण्टा ढिलो गरी ल्यान्ड भएको एयर इन्डिया विमानबाट ओर्लिँदा उनी हर्षित देखिन्थे ।

भारतदेखि नेपालसम्मको छोटो यात्रा प्राविधिक कारणले लामो बनेको थियो । २ बजेर ३५ मिनेटमा ल्यान्ड हुने भनिएको बिमानले आकाशमै करिब २ घण्टा फन्को मार्दा सातो गएको सन्दीपले बताए । उनले भने, ‘मेरो जीवनकै सबैभन्दा खराब यात्रा अनुभव हो यो । ल्यान्ड हुनै लागेको प्लेन फेरि आकाशमा उडेर चक्कर काटिरहँदा म मात्रै नभएर सबै यात्रुहरुको होश उडेको थियो ।’

बिमानस्थलमा पत्रकारमाझ आफ्नो बिमान यात्रा अनुभव सुनाएपछि सन्दिपले आईपीएल यात्राबारे पनि केही प्रश्नोत्तर गरे, जुन यसप्रकार थियो ?

यो पटकको आईपीएल यात्रा कस्तो भयो ?

समग्रमा हेर्ने हो भने राम्रै भयो । गएको वर्षभन्दा बढि नै खेल्न पाएँ । राम्रो हुँदै गइरहेको छ । योपटक हाम्रो टिममा ब्याट्सम्यानको खाँचो हुँदा म केही खेलहरुमा बेन्चमै बस्नुपर्‍यो ।

आफ्नो प्रदर्शनबाट म सन्तुष्ट नै छु । टिमको प्रदर्शनमा पनि सन्तुष्ट छु । गएको वर्ष अन्तिममा रहेको टिम अहिले तेस्रो हुनु निकै राम्रो हो । तेस्रो पोजिसनमा दिल्ली आईपुग्न सबैको उतिकै महत्वपूर्ण योगदान छ भन्ने मैले बुझेको छु । मेरो पनि केही योगदान रह्यो होला ।

यो मेरो लागि एउटा ठूलो चुनौती थियो । किनभने आईपीएल विश्वकै सबैभन्दा ठूलो क्रिकेट लिग हो । त्यहाँ आफुलाई प्रमाणित गर्न सजिलो हुँदैन । प्रदर्शन तलमाथि भइहाल्छ । तर सम्रगमा राम्रै भएको छ ।

दबाब कतिको महसुस गर्नुभयो ?

अन्य देशका नाम चलेका खेलाडी थिए । त्योमाथि पनि लोकल कोटामै दुई जना लेग स्पिनर हुँदा हुँदै पनि मैले मौका पाउन सजिलो थिएन । तर टिमले मलाई विश्वास गर्‍यो ।

अघिल्लो संस्करणको लिगमा मैले अन्तिम तीन खेलमा मौका पाएको थिएँ । अहिले चाहिँ बीचतिर पाएँ । कहिले राम्रो गर्दा पनि बाहिर हुनु परेको थियो । टिमको निर्णय हो ।

अबको योजना के छ ?

धेरैपछि परिवारको लागि समय पाएको छु । अब म परिवारसँग नै समय बिताउने छु ।

प्रधानमन्त्री कप खेल्नु हुन्छ ?

अब म विश्राममै हुन्छु । किनभने मेरो हल्का ढाडको समस्या पनि छ । अहिले फेरी तत्काल खेलेँ भने पछि झनै समस्या आउन सक्छ । त्यसैले अब म विश्राममै हुन्छु ।

विश्वका प्राय सबै लिग खेल्नु भयो, आईपीएलमा चाहिँ के फरक पाउनुभयो ?

फरक चाहिँ के भने, त्यहाँ स्पिन बलरलाई खेल्ने ब्याट्सम्यान धेरै नै हुन्छन् । आईपीएलको वातावरण नै छुट्टै हुन्छ । किनभने यो विश्वको सर्वोत्कृष्ट लिग हो । आईपीएलमा ब्याट्सम्यान पनि त्यस्तै भेटाउनु हुन्छ, बलर पनि त्यस्तै हुन्छ ।

आईपीएलकै दौरानमा तपाईले सचिन तेन्दुलकरलाई भेट्नु भएको थियो । केही कुरा भएको थियो ?

म सबैसँग भेट्दा उहाँहरुले पनि नेपाली क्रिकेटको बारेमा सोधिराख्नु हुन्छ । उहाँहरु जस्ता ठूला मान्छेहरुले पनि नेपाली क्रिकेट पछ्याइ राख्नुहुन्छ । र उहाँले मलाई राम्रो प्रदर्शनको लागि शुभकामना दिनुभएको थियो ।

उहाँलाई नेपाली क्रिकेटको बारेमा त्यति धेरै थाहा नहोला तर नेपाली क्रिकेटले राम्रो गरिरहेको छ र हामी पहिलोको भन्दा माथि पुगिरहेका छौ । यो कुरा संसारको सबै क्रिकेट खेलाडीलाई थाहा हुन्छ नै ।

हामी जसरी अरु देशको क्रिकेटलाई पछ्याइरहेका हुन्छौं अरु देशले पनि हामीलाई पछ्याइरहेका हुन्छन् । उहाँहरुसँग मेरो भेट चाहिँ केही राम्रो सिक्न पाइन्छ भन्ने नै हो ।

तपाईको विचारमा दिल्ली किन फाइनलमा पुग्न सकेन ?

मेरो विचारमा हामीले त्यो खेलमा स्कोर पनि कम गर्‍यौं । बलिङ पक्ष पनि अलिक कमजोर भयो । ब्याटिङ पक्षमा हामीले अलिक सुधार गरेको भए केही हुने थियो । रिषव पन्त एक्लैले रन बनाइरहेका थिए । उनलाई अर्को साइडबाट कसैले साथ दिन सकिरहेका थिएनन् ।

सायद त्यो खेलमा रिषवले साथ पाएको भए राम्रो रन बन्ने थियो । उनले जसरी खेलिरहेका थिए, त्यसै नै अरुले खेलेका भए राम्रो रन बन्ने थियो ।

चेन्नाईको शेन वाट्सन र फाफ डु प्लेसिसले राम्रो खेले । हामी बलिङमा पनि चुक्यौं । त्यो हाम्रो दिन थिएन । त्यसैले हार्‍यौं ।

गत संस्करणको भन्दा यो पटक टिमले राम्रो गरेको छ । म आशा गर्छु की अब अर्को वर्ष हाम्रो टिमले फाइनल खेल्नेछ ।

विमान ढिलो गरी ल्यान्ड भयो । डर लागेको थियो ?

सातो गयो… । सातो चाहिँ गयो । चेन्नाइसँगको खेल सकाएर दिल्ली फर्किदा त्यतिबेला पनि ल्यान्डमा समस्या आएको थियो । त्यतिबेला मलाई लागेको थियो कि त्यो मेरो नराम्रो अनुभव हो । तर आज जे भयो योभन्दा नराम्रो अरु हुने छैन ।

किनभने रनवेमा आईसकेर पनि फेरी उडाउँदा निकै डरलाग्दो भएको थियो । आशा गर्दछु कि अब आउने दिनमा यस्तो नहोस् ।

तस्वीर : चन्द्र आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment