Comments Add Comment

मुम्बईले चौथो पटक जित्यो आईपीएलको उपाधी, एक रनले हार्‍यो चेन्नाई

३० वैशाख, काठमाडौं । आईपीएल क्रिकेटको १२ औं संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा चेन्नाई सुपर किंग्सलाई १ रनले स्तब्ध पार्दै मुम्बईले चौथो पटक आईपीएलको उपाधि उचालेको हो ।

हैदरावादको राजीव गान्धी स्टेडियममा पहिले टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रनको योगफल बनाएको थियो । १५० रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रनमात्र बनाउन सक्यो ।

मुम्बईको जितमा केइरन पोलार्डले सर्वाधिक ४१ रन बनाएका थिए । ओपनर क्वीन्टन डि ककले २९, इशान किसनले २३ र हार्दिक पाण्ड्याले १६ रन बनाए । रोहित शर्मा र सूर्यकुमार यादवले समान १५-१५ रन बनाए ।

बलिङतर्फ दीपक चहरले तीन विकेट लिए भने शार्दुल ठाकुर र इमरान ताहिरले २-२ विकेट लिए ।

चेन्नईका लागि शेन वाट्सनले ८० रन बनाए पनि जित दिलाउन सकेनन् । फाफ डु प्लेसिसले २६ र ड्वेन ब्राभोले १५ रन जोडे । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । कप्तान महेन्द्रसिंह धोनी २ रनमा आउट भए ।

बलिङतर्फ मुम्बईका लागि जस्प्रित बुम्राहले दुई विकेट लिए भने क्रुनाल पाण्ड्या, लासिथ मलिंगा र राहुल चहरले एक-एक विकेट लिए ।

रोमाञ्चक अन्तिम ओभर

चेन्नईका दुई ब्याट्सम्यान रनआउट भएका थिए । यही नै चेन्नाईका लागि भारी पर्‍यो । कप्तान महेन्द्रसिंह धोनीलाई इशान किसनले १३ औं ओभरमा २ रनमा रनआउट गरे । यस्तै शेन वाटसन ५९ बलमा ८० रन बनाएपछि अन्तिम ओभरको चौथो बलमा रनआउट भए । त्यसपछि चेन्नाईले अन्तिम २ बलमा चार रन पनि बनाउन सकेन र मुम्बई च्याम्पियन बन्यो ।

चेन्नाईलाई अन्तिम ओभरमा ९ रन चाहिएको थियो । बलिङमा लासिथ मालिङ्गा थिए । पहिलो तीन बलमा मालिंगाले चार रन दिए । चौथो बलमा शेन वाटसन रन आउट भए । पाँचौं बलमा शार्दुल ठाकुरले दुई रन बनाए । शार्दुललाई अन्तिम बलमा दुई रन बनाएर चेन्नाईलाई जिताउने अवसर थियो तर, मालिङ्गाले उनलाई एलबीडब्ल्यूको धरापमा पारे । अघिल्ला ३ ओभरमा ४२ रन खर्चिए पनि मालिंगाले अन्तिम ओभरमा महत्वपूर्ण विकेट लिँदै मुम्बईलाई उपाधि दिलाउन भूमिका खेले ।

यो जितसँगै मुम्बई आईपीएलको सबैभन्दा सफल टिम बनेको छ । उसले पछिल्लो सात वर्षमा चौथो पटक आईपीएलको उपाधि जितेको छ । यसअघि मुम्बई २०१३, २०१५ र २०१७ मा पनि आईपीएल च्याम्पियन बनेको थियो । सन् २०१७ मा पनि मुम्बईले एक रनको जित निकाल्दै आईपीएलको उपाधि जितेको थियो । त्यतिबेला मुम्बईले राईजिङ पुणे सुपरजाइन्ट्सलाई एक रनले हराएको थियो ।

जसप्रित बुम्राह म्यान अफ द म्याच बने । उनी सन् २०१७ को फाइनलमा पनि म्यान अफ द म्याच बनेका थिए ।

आईपीएल २०१९ को १२ औं संस्करणमा सबैभन्दा धेरै २६ विकेट लिन सफल इमरान ताहिर बने । दिल्लीका कगिसो रबाडालाई एक विकेटले पछि पार्दै इमरानले पर्पल क्याप जिते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment