Comments Add Comment

चितवनका ३ शैक्षिक परामर्श केन्द्रमा जिल्ला प्रशासनले लगायो ताला

३० वैशाख, चितवन । दर्ता नगरी अवैध रुपमा कक्षा सञ्चालन गर्दै आएका चितवनका तीन वटा शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) बन्द गराइएको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गएको संयुक्त बजार अनुगमन टोलीले भरतपुर क्षेत्रमा दर्ताविना नै सञ्चालनमा आएका तीन वटा शैक्षिक परामर्श केन्द्रमा ताला लगाएको हो ।

चितवन मावि अगाडिको मिसन इन्स्टिच्युट अफ टेक्नोलोजी, भरतपुर १० सप्तगण्डकी क्याम्पस अगाडि रहेको सी स्टार एजुकेशन कन्सल्टेन्सी प्रा.लि. र भरतपुर ११ मा रहेको ड्रिम्स एजुकेशन कन्सल्टेन्सी बन्द गराइएको जिल्ला प्रशासन कार्यालय चितवनका नायब सुब्बा तथा बजार अनुगमन अधिकारी उमेशचन्द्र पन्थीले जानकारी दिए ।

यसअघि अनुगमनका क्रममा दर्ता नभएका यी कन्सल्टेन्सीलाई दर्ता गराउन समय दिएको भए पनि उनीहरुले पटकपटक अटेर गर्दै आएका थिए । एसईई र प्लस टु परीक्षा दिएर बसेका विद्यार्थी विद्यार्थीलाई लक्षित गरी यी कन्सल्टेन्सीले विद्यार्थी भर्ना आह्वान गर्दै आएका थिए । यी कन्सल्टेन्सीले विभिन्न विषयका प्रवेश परीक्षा तयारी कक्षाका नाममा विद्यार्थीहरुसँग लाखौं रकम असुलेका थिए ।

बन्द गरिएको मिसन इन्स्टिच्युट, ड्रिम्स एजुकेशन र सी स्टार एजुकेशनलाई विद्यार्थीको पैसा फिर्ता गर्न पत्रमार्फत निर्देशन समेत दिइएको पन्थीले बताए । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको निर्देशन बमोजिम तीन वटै शैक्षिक परामर्श केन्द्रलाई बन्द गरिएको पन्थीले बताए ।

ड्रिम्स एजुकेशन चलाउँदै आएका हरेन्द्रकुमार यादवले जागृती चोकमा रहेको हिमालय आधारभूत विद्यालयको भवनमा मासिक १६ हजार रुपैयाँ भाडा तिरेर शैक्षिक परामर्श केन्द्र सञ्चालन गरेका थिए । विद्यालयले शैक्षिक तथा भौतिक अवस्था सुधारका लागि महायज्ञको आयोजना गरी उठेको रकमबाट पक्की भवन निर्माण गरेको थियो । महायज्ञ लगाएर भवन बनाउने अनि कन्सल्टेन्सीलाई भाडामा लगाउने कार्य निकै दुःखद भएको भन्दै अभिभावकहरुले पटकपटक गुनासोसमेत गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आइतबार अनुगमन टोलीले बन्द गराएको शैक्षिक परामर्श केन्द्रहरु शिक्षा मन्त्रालयमा दर्ताविनै सञ्चालनमा थिए । शैक्षिक परामर्श केन्द्र सञ्चालनका लागि विगतमा संघीय सरकार शिक्षा मन्त्रालयले अनुमति दिनुपर्ने नियम थियो । यस वर्षदेखि प्रदेश सरकारको अनुमति लिनुपर्ने नियम छ ।

जिल्लामा अनुगमनलाई व्यापक पारिने र विना दर्ता सञ्चालनमा रहेका सबै शैक्षिक परामर्श केन्द्रहरु बन्द गर्ने अनुगमन अधिकारी पन्थीले बताए । चितवनमा अवैध कन्सल्टेन्सी खोल्ने क्रम हाल मौलाउँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment