Comments Add Comment

दोस्रो आईपीएलमा सन्दीप कति सफल ?

३० वैशाख, काठमाडौं । टी–२० क्रिकेटका ग्लोबल स्टारको छवि बनाएका नेपाली स्पिनर सन्दीप लामिछाने दोस्रो आईपीएल यात्रा सकेर स्वदेश फर्किसकेका छन् । चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्सबीचको फाइनल भिडन्त उनले टेलिभिजनमै हेरे ।

सन्दीपको टिम दिल्ली क्यापिटल्स इतिहास रच्दै पहिलोपटक क्वालिफायर्ससम्म पुग्यो । तर, सन्दीपको व्यक्तिगत प्रदर्शन भने अपेक्षाकृत भएन । प्रतियोगितामा ६ वटा म्याचमा मौका पाएका उनले समग्रतामा आफ्नो स्तरभन्दा न्यून प्रदर्शन गरे । एक वर्ष अगाडिदेखि अन्तराष्ट्रिय टी–२० लिगमा आफ्नो उत्कृष्टता देखाइरहेका उनका लागि यो पहिलो ‘सेटब्याक’ हो ।

त्यसो त विश्वका महान खेलाडीहरुबाट पनि सँधै एकनास प्रदर्शन आशा गर्न सकिँदैन । त्यसमाथि क्रिकेटमा त खेलाडीको प्रदर्शनलाई धेरै पक्षहरुले प्रभावित पारेका हुन्छन् । त्यसर्थ सन्दीपले खराब बलिङ गरेको भन्दा पनि उनको बललाई ब्याट्सम्यानहरुले राम्ररी ‘रिड’ गर्न थालेका छन् । धेरै ब्याट्सम्यानहरु सन्दीपलाई रोक्नेभन्दा आक्रमण गर्ने रणनीतिमा देखिए ।

समग्र प्रतियोगितामा ६ खेल खेलेका सन्दीपले ८ विकेट लिएका छन् । तर, उनको बलिङ भने खर्चिलो सावित भयो । उनले २३ ओभर बलिङ गर्दा ९.१७ को इकोनोमीमा २ सय १० रन खर्चिए ।

इकोनोमीको हिसाबले उनको यो अहिलेसम्म खेलेका अन्तर्राष्ट्रिय लिगमा महंगो हो । प्राय म्याचहरुमा कसिलो बलिङ गर्दै आएका यस आईपीएलमा भने ब्याट्सम्यानहरुले सम्मान दिएनन् ।

आईपीएलको अघिल्लो संस्करणमा सन्दीपलाई अन्तिम ३ म्याचमा मात्र मौका दिएको दिल्लीले यसपाली भने सुरुबाटै खेलाउने अनुमान थियो । तर, अघिल्ला दुई म्याचमा उनले बेन्चकै शोभा बढाए । दिल्लीले तेस्रो म्याचमा कलकत्ताविरुद्ध सन्दीपलाई खेलायो । त्यो खेलमा सन्दीपले सबैभन्दा किफायति बलिङ गरेका थिए । रनको वर्षा भएको म्याचमा सन्दीपले ४ ओभरमा २९ रन मात्रै खर्चिए र एक विकेट लिए । सुपर ओभरमा पुगेको सो म्याच दिल्लीले जितेको थियो ।

कलकत्ताविरुद्धको प्रदर्शनले सन्दीपलाई पञ्जावविरुद्ध सुरक्षित गर्‍यो । सो म्याचमा सन्दीपले शानदार प्रदर्शन गरे । ओपनर साम कुरान र मध्यक्रमका सरफराज खानको महत्वपूर्ण विकेट लिएका उनको प्रदर्शनले पञ्जाब ठूलो स्कोर बनाउन चुकेको थियो । उनले चार ओभरमा २७ रन मात्रै खर्चिए, जुन सबैभन्दा किफायती थियो । तर, दिल्लीले हार्‍यो । यदि जितेको भए सन्दीप म्यान अफ दि म्याचका दावेदार हुन सक्थे ।

सहज जिततर्फ उन्मूख भएको दिल्ली नाटकीयरुपमा पतन भएको थियो । दिल्लीलाई हराउने क्रममा कुरानले ह्याट्रिक विकेट लिएका थिए, जसमा अन्तिम विकेट सन्दीपकै थियो । यस प्रतियोगितामा सन्दीपले ब्याट समाएको यही एउटा मौका थियो, जसमा उनले एक बल पनि सामना गर्न सकेनन् ।
त्यसपछि सनराइजर हैदरावादविरुद्ध सन्दीपले चौथो खेल खेले, जसमा उनको औसत प्रदर्शन रह्यो । दिल्लीले पराजय व्यहोरेको खेलमा उनी ओपनिङ बलरकै रुपमा आएका थिए । ४ ओभरमा ३२ रन खर्चिएका सन्दीपले दिपक हुडाको विकेट लिए । खेलमा सन्दीपको तुलनामा दिल्लीका अन्य दुई स्पिनर अक्षर पटेल र राहुल टेवतियाको बलिङ राम्रो थियो ।

रोयल च्यालेन्जर्सविरुद्ध सन्दीप जम्न सकेनन् । उनी अत्यधिक खर्चिलो बनेका थिए । खासगरी बिराट कोहली र मोइन अलीले सन्दीपलाई आक्रमणको तारो बनाएका थिए । चार ओभरमा ४६ रन खर्चिएका उनले मोइन अलीलाई आउट गरे । कंगिसो रबाडाले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिँदै दिल्लीलाई जिताए ।

आरसीबीविरुद्ध खर्चिलो बनेपछि अर्को खेलमा दिल्लीले सन्दीपलाई बेन्चमा राख्यो । कोलकोत्ता नाइट राइडर्समाथि दिल्ली विजयी भयो । सनराइजर्सविरुद्ध पनि सन्दीप प्लेइङ ११ मा परेनन् । यो खेल पनि दिल्लीले जित्यो । मुम्बई इन्डियन्सविरुद्ध पनि सन्दीप बेन्मै रहे । त्यो खेल भने दिल्लीले हार्‍यो ।

त्यसपछि पञ्जावविरुद्ध सन्दीपले उत्कृष्ट पुनरागमन गरे । उक्त खेलमा उनले पञ्जाबका खतरनाक ओपनरहरु केएल राहुल र क्रिस गेललाई आउट गर्न सफल भए । त्यसैगरी मध्यक्रमका साम कुरानको विकेट पनि उनको पोल्टामा पर्‍यो । ४ ओभरमा ४० रन दिएका सन्दीप केही महंगो बने पनि उनले लिएका विकेटहरुले म्याचलाई दिल्लीको पक्षमा मोडेको थियो ।

दिल्लीले जितेको म्याचमा सन्दीप म्यान अफ द म्याचका दावेदार थिए । तर, ५८ रन बनाएका श्रीयस ऐरलाई सो अवार्ड दिइयो ।

पञ्जावविरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि राजस्थान रोयल्सविरुद्ध सन्दीपलाई खेलाएन । रोमाञ्चक म्याचमा दिल्लीले ६ विकेटको जित हासिल गर्‍यो । आरसीबीविरुद्धसन्दीप फेरि टिममा फर्किए । तर, त्यही खेल यस आईपीएलमा उनका लागि अन्तिम बन्यो । उक्त खेलमा सन्दीपले ३ ओभरमा ३६ रन खर्चिए पनि विकेट लिन सकेनन् । सन्दीपले कुनै पनि म्याचमा खेल्दा पूरा चार ओभर बलिङ गर्न नपाएको सम्भवः यो एक मात्र अवसर थियो ।

दिल्लीका अन्य दुई स्पिनर अक्षर पटेल र अमित मिश्रले उत्कृष्ट प्रदर्शन गर्दै दिल्लीलाई जिताए । स्पिन बलिङलाई सहयोग गरेको पीचमा पनि सन्दीप असफल भएपछि बाँकी खेलमा उनले अवसर पाएनन् ।

आईपीएलका कुनै पनि टिममा पर्न विदेशी खेलाडीलाई ४ वटा मात्र कोटा हुन्छ । एउटा म्याचमा प्रदर्शन अलि कमजोर भयो भने पनि अर्कोमा आफ्नो स्थान गुमाउनुपर्ने हुन सक्छ । सन्दीपलाई त्यस्तै भयो । उनको टिममा कोलिन मुन्रो, क्रिस मोरिस, कंगिसो रबाडा, कोलिन इन्ग्राम, किम पाउल, सेर्फेन रदरफोर्ड, ट्रेन्ट बोल्टजस्ता विदेशी खेलाडी छन् ।

सन्दीपको कमजोरी भनेको ब्याटिङ गर्न सक्दैनन् । मोरिस, किम पाउल, रदरफोर्ड जस्ता बलरहरुले थोरबहुत ब्याटिङ पनि गर्ने भएकाले टिमलाई त्यो प्लस प्वाइन्ट हुन्छ । त्यसैले आगामी दिनमा रेगुलर टिममा स्थान बनाउने हो भने सन्दीपले आफ्नो ब्याटिङमा पनि सुधार ल्याउनुपर्ने देखिन्छ ।

अन्य स्पिनरको प्रदर्शन

भारतका पीचहरु प्राय स्पिनरलाई सहयोग गर्ने खालका छन् । त्यसैले आईपीएलमा स्पिनरको प्रदर्शन तुलनात्मक रुपमा राम्रो हुने गर्छ । यद्यपि, कहिले काहीँ ओसले स्पिनरलाई दुःख दिन्छ ।

यस सिजन आईपीएलमा सर्वाधिक विकेट लिनेको १० जनाको सूचीमा ५ स्पिनर छन् । चेन्नइका इमरान ताहिरले १७ खेलबाट २६ विकेट लिएर शीर्ष स्थानमा रहँदा दिल्लीका फास्ट बलर कंगिसो रवाडा भने १२ खेलमा २५ विकेट लिदै दोस्रो स्थानमा रहेका छन् ।

टप १० मा राजस्थान रोयल्सका श्रेयस गोपाल, आरसीबीका यजुभेन्द्र चहल, सनराइजर्सका रासिद खान र चेन्नईका हरभजन सिंह छन् । यद्यपि, उनीहरु सबैले सन्दीपभन्दा धेरै म्याच खेलेका छन् ।

विश्वका नम्बर एक स्पिनर मानिने अफगानिस्तानका रसिद खान विकेट तालिकामा आठौं नम्बरमा रहे । उनको इकोनोमी भने सर्वोत्कृष्ट छ । रसिदले १५ म्याचमा तीन सय ७७ रन खर्चेर १७ विकेट लिएका थिए । उनको इकोनोमी ६.२८ मात्रै छ, जुन टी–२० मा उत्कृष्ट हो ।

अर्का चर्चित स्पिनर वेस्ट इन्डिजका सुनिल नारान भने यसपालि सफल भएनन् । १२ म्याच खेलेका उनले १० विकेट मात्र लिन सफल भए र ७.८२ को औसतमा रन खर्चिए ।

भारतीय स्पिनरहरु भने प्रतियोगितामा निकै सफल ठहरिए । श्रेयस गोपाल, यजुभेन्द्र चहल, हरभजन सिंह, रवीन्द्र जडेजा, रवीचन्द्रन आश्विनहरुको बलिङ निकै राम्रो भयो । तर, भारतकै चर्चित स्पिनर कुलदीप यादव भने फ्लप भए ।

सन्दीपसँग दाँज्ने गरिएका अफगानिस्तानका युवा स्पिनर मुजिब उर रहमानको प्रदर्शन निराशाजनक रह्यो । पञ्जाबले २ करोडमा खरिद गरेका उनले आफ्नो मूल्यको सार्थकता पुष्टि गर्न सकेनन् ।

सन्दीपको भविश्य
अघिल्लो आईपीएलमा खेलेका तीन खेलले अन्तर्राष्ट्रिय टी–२० लिगमा सन्दीपको ढोका खुलेको थियो । आईपीएलपछि उनी वर्षभरि नै विभिन्न अन्तर्राष्ट्रिय लिगहरुमा व्यस्त रहे र सबैमा आफ्नो प्रभाव छोड्न सफल भए । गत वर्ष सबै टिमबाट राम्रो खेलेकाले यस वर्ष पनि त्यही टिमले निरन्तरता दिन सक्छन् ।

जहाँसम्म अर्को आईपीएलको सवाल छ, सन्दीपलाई दिल्लीले रिटेन गर्ने सम्भावना बढि छ किनभने दिल्लीले सन्दीपका लागि न्यूनतम रकम खर्चेको छ । २० लाख भारुमा सन्दीपको स्तरको अर्को खेलाडी भित्र्याउन दिल्लीले सक्दैन । यही आईपीएलको कुरा गर्दा सन्दीपले कम्तिमा दुईवटा खेलमा आफ्नो टिमलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

सन्दीपसँग दिल्ली ३ वर्षको करार गरेकाले पुरानै मूल्यमा रिटेन गर्न सक्ने अधिकार पनि छ ।

दिल्लीले रिलिज गरेको खण्डमा मात्रै सन्दीप मूल्य बढाबढमा जान सक्छन् । अबका दिनमा सन्दीपले आफ्ना कमजोरीहरु पत्ता लगाएर त्यसलाई सुधार्न र आफूलाई निखार्न मिहिनेत गर्नैपर्छ । र, ब्याटिङमा पनि प्रयास गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment