Comments Add Comment

किन नष्ट गरिन्छ घरेलु मदिरा ?

मदिराः न खुसी बढाउँछ, न दुःख घटाउँछ

हामीले बेलाबखत सुन्छौ, ‘प्रहरीले २० लिटर घरेलु मदिरा नष्ट गरे ।’ घरेलु मदिरा भनेको स्थानिय प्रविधिबाट तयारी गरिएका जाँड र रक्सी ।

भर्खरैमात्र खबर आएको छ, ‘काठमाडौं बूढानीलकण्ठ नगरपालिका र गोकर्णेश्वर नगरपालिकाका बिभिन्न स्थानबाट प्रहरीले १० हजार ९ सय लिटर अवैंध घरेलु मदिरा बरामद गरेर नष्ट गरे ।’

तपाईंमा प्रश्न उठ्न सक्छ, घरेलु मदिरा किन नष्ट गरिन्छ ?

जवाफ यस्तो छ, ‘यो अवैंध र विषाक्त हुने भएकाले ।’

पक्कैपनि मदिराजन्य पेय राम्रो होइन, स्वास्थ्य र समाज दुबैका लागि । मदिराले शरीरलाई कहिले पनि र कुनैपनि हालतमा लाभ मिल्दैन । यो कुरा मदिरा पिउने सबैलाई थाहा छ । कोहीपनि यस्ता छैनन्, जसलाई मदिराको असरबारे थाहा नहोस् ।

यद्यपी मान्छेहरु मदिरा पिउँछन् । झै-झगडा गर्छन् । समाज विथोल्छन् । परिवारलाई तनाव दिन्छन् । आफ्नै शरीर पनि नष्ट गर्छन् । त्यसकारण मदिरा पिउनयोग्य पेय होइन । जस्तोसुकै ढंगले उत्पादन गरिएको मदिरा पनि विषाक्त नै हुन्छ ।

त्यसो भए घरेलु मदिरा नष्ट गरिने, बजारमा खुलमखुला बिक्री गरिने विदेशी वा आयतित र यहीं उत्पादित मदिरा किन नष्ट नगरिएको हो ?

दुबैले उस्तै असर गर्छ । चाहे घरेलु होस् वा विदेशी नै । महंगो होस् वा सस्तो । ब्रान्डेड होस् वा सामान्य । मदिराले गर्ने असर उही हो ।

यदि दुबै मदिरा स्वास्थ्यका लागि घातक छ, समाजका लागि अहितकारी छ भने घरेलु मदिरा मात्र किन नष्ट गरिएको ?

यसमा राज्य-प्रशासनले दिने जवाफ हो, ‘घरेलु मदिरा अवैंध भएकाले ।’

राज्यको अनुमति बिना, राज्यको नीति र नियमहरु उपेक्षा गर्दै, आफुखुसी उत्पादन गर्ने र जथाभावी विक्री गर्ने कुनैपनि कुरा वैंध मानिदैन । मदिरा अरुको लागि उत्पादन गरिन्छ भने यसको सोझो प्रभाव अरुको स्वास्थ्यमा पर्छ । अतः जथाभावी मदिरा उत्पादन गर्नु र विक्री गर्नु भनेको अरुको स्वास्थ्यमा खेलबाड गर्नु हो । यसरी उत्पादन गरिएको मदिराले अरुको स्वास्थ्यमा कुनै समस्या आएमा, मृत्यु भएमा त्यसको जिम्मेवार कसले लिने ? क्षतिपूर्ति कसले दिने ?

कोही हुँदैनन् ।

यसरी जथाभावी उत्पादन र विक्री गरिने मदिराले जनस्वास्थ्यमा पार्ने असरको जिम्मेवारी कसैले नलिने भएकाले यो अवैंध उत्पादनमा पर्छ ।

घरेलु मदिरा उत्पादन ः हातमुख जोर्ने मेलोमेसो

अब प्रश्न उठ्छ के घरेलु मदिरा उत्पादन गर्नेहरु अपराधी हुन् ? के उनीहरुले अरुको स्वास्थ्यमा खेलबाड गर्नका लागि मदिरा उत्पादन गरेका हुन् ?

पक्कै पनि होइन ।

घरेलु मदिरा उत्पादन गर्नु उनीहरुको वाध्यता, आवश्यक्ता पनि हो । किनभने घरेलु मदिरा बनाएर विक्री गर्नेहरु धनाड्य होइनन् । उनीहरु राजनीतिक पहुँच भएका, उच्च वर्गका, सम्पन्न होइनन् । गरिब, निमुखा, असाह्यहरु नै यस्तो काममा लागेका हुन्छन् । किनभने उनीहरुले हातमुख जोर्ने मेलोमेसो नै यसलाई बनाएका हुन्छन् । जाँड रक्सी नबनाए कतिपय बिहान बेलुकीको छाक टार्न सक्दैनन् । छोराछोरीलाई पढाउन सक्दैनन् । चाडपर्व मनाउन सक्दैनन् ।

जसले अन्य स्रोतबाट आयआर्जन लिन सक्दैनन् । खेतीबाली छैन । व्यापार गर्ने पूँजी छैन । वैंक-वित्तिय संस्थाले पत्याउँदैन । जागिर खानका लागि प्रमाणपत्र हुँदैन । अरु काम गर्नका लागि सीप हुँदैन । राजनीति गरेर पैसा कमाउने चार्तुय हुँदैन । यिनै वर्गका मान्छेहरु घरेलु मदिरा बनाउँछन् र विक्री गर्छन् । यसबाट उनीहरुले अथाह पैसा कमाउने नभई पारिवारिक गर्जो टर्ने गर्छन् ।

उनीहरुले अरुलाई बिगार्नका लागि आफ्नो गर्जो टार्न मदिरा उत्पादन गर्छन् । उनीहरुमध्ये कतिपय थाहा नहुन सक्छ कि आफुले मदिरा उत्पादन गरेर विक्री गर्दा कसरी अपराध हुन्छ ? यसले राज्यलाई कसरी हानी गर्छ ?

मदिरा एक पेय हो । मदिरामा थोरै मात्र गडबडी गरिदिने हो भने त्यसले मानव स्वास्थ्यमा गंभिर असर गर्छ । यसकारण गुणस्तर मापन नगरी जथाभावी उत्पादन र विक्री गरिने मदिराले मानव स्वास्थ्यमा कुनैपनि किसिमको क्षति पुर्‍याउने जोखिम रहन्छ ।

के घरेलु मदिरा नष्ट गर्नैपर्छ ?

घरेलु मदिरा बरामत गरेर नष्ट गर्दा त्यसले मदिरा उत्पादन गर्ने कामलाई हतोत्साही गर्छ कि उनीहरुको ‘गरिखाने’ मेलोमेसोमा असर गर्छ ?

घरेलु मदिरा बरामत गरेर त्यसलाई नष्ट गर्दा यसले सही प्रतिफल दिन्छ ? मदिरा उत्पादन र विक्रीमा कमी आउँछ ? मदिरा उत्पादन गर्नेहरु सचेत हुन्छन् ? सर्तक हुन्छन् ?

वास्तवमा कुनैपनि कुरालाई निषेध गरेर, बर्जित गरेर, नष्ट गरेर असफल बनाउने प्रयास नै अवैज्ञानिक, अव्यवहारिक र अन्यायपूर्ण हो । मदिरा कसैले बनाउँछ । बेच्छ । यो उनले गरेको अवैंध कर्म हो । ठिक त्यसैगरी उनको मदिरा पक्राउ गर्दै नष्ट गर्नुपनि अन्यायपूर्ण हो । किनभने, त्यही धन्दाबाट उनको जीविका चलेको हुनसक्छ । त्यही धन्दाबाट उनले औषधी उपचार खर्च जुटाएका हुनसक्छ । त्यही धन्दाबाट उनले बालबच्चा पढाएको हुनसक्छ । त्यही धन्दाबाट उनले चाडपर्व मनाएको हुनसक्छ ।

जब उनलाई यी सबै कामबाट विमुख गराइन्छ, तब उनीहरु थप समस्यामा पर्न सक्छन् । उनीहरुको पारिवारिक, आर्थिक कुरा लथालिंग हुनसक्छ ।

यसर्थ घरेलु मदिरा उत्पादन गर्नै नदिने, मदिरा बरामत गर्ने, नष्ट गर्ने भन्दा पनि यसरी मदिरा उत्पादन गर्नेहरुलाई यो अवैंधानिक र हानिकारक काम हो भन्ने कुरामा सर्तक गराउनु बढी न्यायसंगत हुन्छ । यसैगरी उनीहरुलाई आयआर्जनको अन्य विकल्प र अवसर दिनु बढी व्यवहारिक हुन्छ ।

यसका लागि साना तथा मझौला किसिमको उद्योग, व्यवसायमा सहयोग गर्ने मेलोमेसो मिलाइयो भने त्यसले उनीहरुलाई पुरानो धन्दाबाट अर्कैतर्फ मोड्न सकिन्छ ।

मदिरा नै नष्ट गर्नेभए

मदिरा खुलम-खुला रुपमै विक्री गरिन्छ । मदिरा उत्पादनका लागि राज्यले नै अनुमति दिन्छ र ठूलो लगानीमा मदिरा उत्पादन गरिन्छ । विदेशबाट उत्तिकै मदिरा आयत गरिन्छ ।

एक तथ्यांक अनुसार दिनहुँ करिब ३० हजार लिटर मदिरा भने नेपाल भित्रिने गरेको पाइन्छ । यसबाहेक ‘ड्युटी प|mी’बाट पनि दिनहुँ मदिरा भित्रिन्छन् ।

नेपालमै मदिरा उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थको आयत पनि उच्च मात्रामा हुनेगर्छ । त्यसो त मदिरा उत्पादन र आयतबाट पनि राज्यले आर्थिक लाभ लिदै आएको छ । भनिन्छ, देशमा उठ्ने कुल राजस्वको २५ प्रतिशत हिस्सा मदिराबाट भइरहेको छ । यसरी राजस्व प्राप्त हुने भएकाले नै विदेशी वा स्वदेशी मदिरा आयत र उत्पादनलाई ‘अपराध’ मानिएको छैन । किनभने यी मदिरा उत्पादन, आयत र विक्रीका लागि राज्यले तय गरेको निश्चित कानुनी सर्त पालना गर्नुपर्छ ।

यद्यपी घरेलु मदिरा उत्पादनलाई अपराध मान्ने राज्यले विदेशी मदिरा आयत, स्वदेशी मदिरा उत्पादन र विक्री के पूर्णत निषेध गर्न सक्दैन ? मदिरा हानिकारक पेय हो भन्ने कुरालाई स्विकार्ने हो भने राज्यले सबै किसिमका मदिरालाई किन निषेध गर्दैन ?

गाउँमा एक गृहणीले दुखजीलो गरेर बनाएको मदिरा प्रहरीले नष्ट गर्छ तर संभ्रान्त वर्ग, नेता, उद्यमीको घर-घरमा भएको ‘होम बार’माथि आँखा चिम्लनु कति न्यायसंगत हो ?

अतः सबै किसिमको मदिरा स्वस्थ्यवर्द्धक र फाइदाजनक पेय होइन । विदेशी होस् वा घरेलु, सबै मदिराले व्यक्ति, परिवार, समाज र राज्यलाई नै नोक्सान पुर्‍याइरहेको हुन्छ । यसर्थ मदिराको हानीलाई स्विकार्ने हो भने मदिरा उत्पादन, आयत, विक्री सबैमा नियन्त्रण गर्नु बढी प्रभावकारी हुन्छ ।

 मदिरा : न खुसी बढाउँछ, न दुःख घटाउँछ

‘मदिराले हानी गर्छ’ भन्ने जान्दाजान्दै पनि मान्छेहरु किन मदिरा पिउँछन् भने यसले ‘रमाइलो गराउँछ’ भन्ने मानसिकता छ । मदिरा पिएपछि यसले स्नायु प्रणालीमा पार्ने प्रभावकै कारण मान्छेले क्षणभर आफ्नो वास्तविकतालाई भुल्छन् । उनीहरुले आफ्नो दुःख, समस्या, ऋण, दुःख सबै भुल्छन् । यो क्षणमा जुन किसिमको अनुभूत हुन्छ, त्यसैलाई मान्छेले ‘रमाइलो’ ठान्छन् ।

त्यही कारण दुःख वा सुख, जुनसुकै अवस्थामा मदिरा पिउनु एउटा वाहाना बनिदिन्छ । दुःख पर्दा मदिरा पिउँछौ, यसकारण कि ‘दुःख’ भुल्न सकियोस् । खुसी हुँदा मदिरा पिउँछौ, यसकारण कि ‘खुसीको डोज बढोस्’ ।

रमाइलोका लागि होस् वा दुःख भुल्नका लागि ‘मदिरा’ कुनै उपचार होइन । यसले क्षणभर हामीलाई भ्रममा पार्ने मात्र हो । मदिरा त्यो हानिकारक पेय हो, जसले शरीरका अंग र कार्यसंचालनमा नराम्रो असर पुर्‍याउँछ । मदिरा सेवनकै कारण कलेजोको रोग लाग्छ । मदिरा सेवनकै कारण ज्यान पनि जान्छ ।

मदिरा पिएपछि मान्छेहरु उत्तेजित हुन्छन् । उनीहरुले होश गुमाउँछन् । त्यसकारण उनीहरु झगडा गर्न एवं नराम्रो काम गर्न तम्सन्छन् । यसले समाजमा नकारात्मक असर पार्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment