Comments Add Comment

ट्वीटरले किन बन्द गर्‍यो डेढ लाख अकाउन्ट ?

माइक्रो ब्लगिङ साइट ट्वीटरले गत वर्षको जुलाईदेखि डिसेम्बर सम्ममा १ लाख ६० हजार भन्दा धेरै ट्वीटर अकाउन्ट बन्द गरिदिएको छ ।

शून्य सहनशीलता नीति लागू गरेसँगै ट्वीटरले उक्त अवधिमा १ लाख ६६ हजार ५१३ अकाउन्ट बन्द गरेको हो ।

ती ट्वीटर अकाउन्टहरुले आतंकवादलाई बढावा दिएको र आतंकवादी संगठनहरुद्वारा आफ्ना गतिविधिको प्रचारका लागि प्रयोग गरिएको पाइएपछि ट्वीटरले यस्तो कदम उठाएको हो ।

आतंकवादप्रति ट्वीटरको शून्य सहनशीला नीति लागू भएसँगै आतंकवादी संगठनहरुले यो प्लाटफर्मको प्रयोग गर्ने दरमा तिव्र गतिमा कमी आएको दाबी ट्वीटरको रहेको छ ।

ट्वीटरको कानूनी, नीतिगत तथा सुरक्षा विभागका अधिकारीका अनुसार यो वर्ष सन् २०१८ को पहिलो ६ महिनाको तुलनामा पछिल्लो ६ महिनामा आतंकवादसँग सम्बन्धित ट्वीटमा १९ प्रतिशतले कमी आएको छ ।

अधिकारीका अनुसार निलम्बन गरिएका अकाउन्ट मध्ये ९१ प्रतिशत अकाउन्टका सामाग्रीहरु आपत्तिजनक रहेको तथ्य ट्वीटरको आन्तरिक प्राविधिक टूल्सले पत्ता लगाएको थियो ।

त्यस्तै, उक्त अवधिमा विश्वका विभिन्न ८६ देशका सरकारहरुले ट्वीटर समक्ष आफ्नो देशका ट्वीटर प्रयोगकर्ता सम्बन्धी सूचना माग गरेका थिए । त्यसरी माग गरिएकामध्ये ३० प्रतिशत माग अमेरिकी सरकारबाट प्राप्त भएका थिए ।

त्यस्तै ट्वीटरमा जानकारी उपलब्ध गराइदिन माग गरिएका अनुरोध मध्ये जापानबाट २४ प्रतिशत, भारत तथा जर्मनीबाट ६–६ प्रतिशत तथा फ्रान्सबाट ५ प्रतिशत रहेको ट्वीटरले जनाएको छ । त्यस्तै ट्वीटरले पहिलोपटक बुल्गेरिया, मेसेडोनिया तथा स्लोभेनिया लगायतका देशका सरकारहरुबाट समेत ट्वीटर अकाउन्ट सम्बद्ध जानकारी उपलब्ध गराउने अनुरोध प्राप्त गरेको छ ।

तर पछिल्लो समयमा विश्वका सरकारहरुद्वारा निश्चित ट्वीटर अकाउन्टहरुबाट सामाग्रीहरु हटाइदिनका लागि गरिने अनुरोधमा ८ प्रतिशतले कमी आएको ट्वीटरको भनाइ छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment