Comments Add Comment

सरसफाइको नमूना मन्थलीमा धुलैधुलो

३१ वैशाख, रामेछाप । कुनै बेला सरसफाइको नमूना सहर बनेको मन्थली बजार अहिले धुलै धुलोको सहर भएको छ । मन्थली बजारको धुलो अहिले सबैको लागि टाउको दुखाइ बनेको छ ।

हरेक विहान घर अगाडिको सडक सामुहिक रुपमा सफा गर्ने मन्थली बजारवासीहरु अहिले धुलोले गर्दा घरबाट बाहिर निस्कनसमेत नसक्ने भएका छन् । बजार क्षेत्रमा उड्ने धुलोले घरहरु पुरै धुलाम्य भएका छन् भने सर्वसाधारणहरु सडकमा निस्कनै नसक्ने अवस्था आएको छ ।

सडकको कारण धुलो

मन्थली बजारमा अहिलेको धुलोको मुख्य कारण सडकनै हो । मन्थली बजार प्रवेश गर्ने रणजोर खोलादेखि मन्थली बजारको तामाकोसी सेवा समिति अगाडिसम्मको सडकमा नाला निर्माण गर्ने भन्दै सडक भत्काएर छाडेपछि धुलो उडेको हो ।

सो सडकमा नाला बनाउन भन्दै सडक डिभिजन कार्यालयले गएको वर्षको आसार महिनामा नै बाटो भत्काएको थिए । सडक भत्काएर छाडेको डिभिजनले एकवर्षसम्म केही काम गरेन । वर्षाको हिलो सो सडक भएर मन्थली भित्रने सवारी साधनहरुले ल्याउदा बजार क्षेत्र हिलाम्य भयो । बजार क्षेत्रमा हिलो आउन लागेपछि दैनिक सडक वढार्ने स्थानीयले सडक बढार्न छाडिदिए ।

‘बिहानभरी सडक बढार्यो पानी हाल्यो, ट्याक्टर र अन्यगाडी आएर हिलो पारेर छाडिदिन लागेपछि सडक सफा गर्न छाडिदियौँं, बजारवासी एवं नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुँगेलले बताए ।

काम छाडेको एक वर्षपछि अहिले फेरी सडक डिभिजन कार्यालयले मदनभण्डारी चोकदेखि रणजोर खोलासम्म नाला बनाउने भनेर सडक भत्काइ सडकमा माटो थुपारेको छ । सडकमा थुपारेको माटो हुँदै सवारीसाधनहरु गुड्दा सडकमा हिँड्नै नसक्ने अवस्था आएको छ ।

सडकमा हिँड्न मात्र हैन सडक किनार र आसपासका क्षेत्रका घरमा समेत बस्नै नसकिने अवस्था आएको स्थानीय व्यवसायी निराजन दाहालले बताए । ‘एकछिन अगाडि सफा गरेपछि  एकछिनमा उस्तै भइहाल्छ । अब त पसल र कोठामा समेत बस्न नसकिने भो’, दाहालले भने ।

नागरिकले असहयोग गरेको मेयरको गुनासो

मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत भने स्थानीय बासीहरुको असहयोगको कारण पनि यो समस्या आएको बताउँछन् । निर्माणको काम गर्दा केही समय समस्या हुने भए पनि नागरिकले सडकको काम छिटो गर्न असहयोग गरेकाले समस्या थपिएको उनको भनाइ छ ।

‘सडक बनाउने भन्यो नागरिक विद्युतको पोल सार्न दिँदैन, ज्यानजाल एकटुक्रा जग्गा छाड्दैन । अनि कसरी समयमा काम हुन्छ’, उनले गुनासो गरे ।

नागरिक आक्रोस बढ्दै

वर्षाभरी हिलो र हिँउदलागेसँग धुलो उडेर सडकमा हिँड्न मात्र हैन घरका कोठाभित्र समेत धुलो छिरेर बस्न नसक्ने भएपछि सर्वसाधारणको स्थानीय सरकार र सडक डिभिजन कार्यालय प्रतिको आक्रोस बढ्दै गएको छ ।

सर्वसाधारणले सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा समेत धुलो व्यवस्थापन गर्न नसकेको भन्दै आक्रोश पोख्ने गरेका छन् । स्थानीयले विरोध र्‍याली तथा नगरपालिकामा ग्यापनपत्र बुझाउने लगायतका काम गरि रहेका छन् । तर पनि धुलो नियन्त्रणका लागि कुनै काम हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment