Comments Add Comment

सगरमाथामा ‘ट्राफिक जाम’ ! (भिडियो रिपोर्ट)

१ जेठ, काठमाडौं (आधार शिविरबाट फर्किएर) । वैशाख २८ गते शनिबार सगरमाथा आधार शिविरमा पुग्दा करीव एक किलोमिटरको ढुंग्यान क्षेत्रमा पहेँलै टेण्टहरु देखिन्थे । तीव्र हावा चलिरहने भएकाले टेण्टभित्रबाट आरोहण दलका सदस्यहरु विरलै बाहिर निस्कन्छन् ।

उनीहरुमध्ये अधिकांश कम्तिमा एक महिनाभन्दा लामो समयदेखि आधार शिविरमा आरोहणको उपयुक्त मौसम पर्खेर बसेका थिए । आरोहणमा पोख्त शेर्पाहरुको टोली बाटो पहिल्याउँदै र बनाउँदै क्याम्प फोरसम्म पुगेर फर्किसकेको थियो । माथिसम्म अक्सिजन लगायत सामान पुर्‍याएर फर्किएका आङदावा एक दुई दिनभित्रै आरोहण शुरु गर्न सकिने आँकलन सुनाइरहेका थिए ।

नभन्दै वैशाख ३१ गते मंगलबार आठ जना शेर्पा सगरमाथाको चुचुरोमा पुगेर फर्किए । उनीहरु अरु आरोहीका लागि बाटोमा डोरी टाँग्दै अघि बढेका थिए । आठजनाको टोली फर्किए लगत्तै यो वसन्त ऋतुको सगरमाथा आरोहणका लागि बाटो खुलेको छ । मौसमले पनि यसपटक साथ दिएको उनीहरुले बताए ।

सगरमाथामा मानव पाइला पुगेको ६६ वर्षको इतिहासमै पहिलो पटक यो वर्ष सबैभन्दा धेरै आरोही सगरमाथाको शिखर चुम्ने सपना बोकेर अहिले आधार शिविरमा छन् । सरकारको आधिकारिक तथ्यांकले पनि यही भन्छ ।

पर्यटन विभागले मंगलबार साँझ उपलब्ध गराएको तथ्याङ अनुसार यो वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि नेपाल सहित बिभिन्न देशका ४२ टोलीका ३७९ जनाले अनुमति लिएका छन् । त्यसो त ल्होत्से हिमाल चढ्नेहरु पनि क्याम्प फोरसम्म सगरमाथाकै बाटो प्रयोग गर्छन् । मंगलबार साँझसम्म ९८ जनाले ल्होत्से आरोहणको अनुमति लिएका छन् ।
उनीहरुमध्ये कतिको सपना पूरा हुने हो अहिले भन्न सकिन्न तर, सगरमाथामा अहिले ठूलो मानव भीड लागेको छ, एक प्रकारको ट्राफिक जाम नै छ ।

सगरमाथा, ल्होत्से र नुप्से चढ्ने मात्र होइन, पुमोरी, आमादब्लम लगायतका हिमाल आरोहण गर्ने आरोही तथा सहयोगीहरुको टिम पनि सगरमाथा आधार शिविर तथा आसपासमै बस्ने भएकाले अहिले विश्वको सर्बोच्च शिखरको फेदीमा ‘ट्राफिक जाम’ रहेको आरोही फुर्वा शेर्पाले बताए ।

सबैभन्दा कम समयभित्र ८ घण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर विश्व रेकर्ड बनाएका पेम्बा दोर्जे शेर्पाले यसवर्ष सगरमाथामा ट्राफिक बढेको टिप्पणी गरे ।

आधार शिविरमा भेटिएका विभिन्न आरोहण दलका अनुभवी शेर्पाहरुले पनि विगतको तुलनामा यसवर्ष सगरमाथा आरोहीको संख्या र भीडभाड बढेको बताए । उनीहरुले यसरी भीड अनियन्त्रित हुँदै जाने हो भने सगरमाथामा समस्या थपिन सक्ने भन्दै सरकारले आरोहण अनुमतिको नीतिमा समयानुकुल परिवर्तन गर्नु उपयुक्त हुने सुझाव समेत आधार शिविरबाटै दिएका छन् ।

आधार शिविरमै भेटिएका पर्यटन विभागका एक अधिकारीले सगरमाथामा यसरी भीडभाड बढ्न दिइरहने हो भने अस्थित्वमा नै संकट आउन सक्ने चिन्ता व्यक्त गरे । औपचारिक प्रतिक्रिया दिन नचाहने ती अधिकारीले राजश्वको लोभमा जसलाई पनि आरोहण अनुमुति दिने प्रचलनमा ब्यापक फेरबदल आवश्यक रहेको बताए ।

पर्यटन विभागका धेरै कर्मचारी अहिले आधार शिविरमा छन् । उनीहरुका अनुसार ५ वर्षयता सगरमाथा आरोहीको संख्या घटेकामा यो वर्ष हृवात्तै धेरै भएको छ । २०७२ सालको महाभूकम्पमा परी आधार शिविरमै केही आरोहीको मृत्यु भएको थियो ।

भूकम्पपछि आरोहण नै रोकिएको थियो । त्यसको अघिल्लो वर्ष खुम्बु आइसफलमा आएको हिमपहिरोले आरोहण शुरु नहुँदै १६ जना शेर्पाको ज्यान लिएपछि त्यो वर्षका सम्पूर्ण आरोहण रोकिएको थियो । शेर्पाहरु सगरमाथा आरोहीका लागि बाटो बनाउँदै अघि बढ्दा हिमपहिरोमा परेका थिए । दुई ठूला दुर्घटनापछि कम भएको आरोहण यो वर्ष रेकर्ड ब्रेक गर्ने अवस्थामा पुगेको छ ।

स्मरणीय के छ भने सगरमाथा आरोहणको अनुमति लिने ३७९ जना मात्र चुचुरोमा जाने होइनन् । प्रत्येकसँग कम्तिमा एकजना शेर्पा अनिवार्य हुन्छन्। त्यसो गर्दा कम्तिमा ७५० मान्छे यो वर्ष सगरमाथाको आरोहणमा पुग्न खोज्दैछन् । अझ कतिपयले त दुईतीन जनासम्म शेर्पामार्फत बोकिएर भएपाि सगरमाथाको चुचुरोमा पुग्ने अभिलाशा राख्छन् ।
त्यही कारण आधार शिविरमा सानोतिनो बजार नै लागेको हुन्छ । एकदेखि दुई महिनासम्मका लागि खाना पकाउने र अन्य सामाग्री बोक्ने सहयोगी तथा भरियाहरु आधार शिविरमा बसिरहेकै छन् । हेलिकोप्टरले खाद्यान्न, अक्सिजन लगायतका अत्यावश्यक सामाग्रीहरु ढुवानी गरिरहेका छन् ।

हेलिकोप्टरबाट आधार शिविरसम्ममात्रै पुगेर आनन्दित हुने शौखिनहरुको संख्या पनि उल्लेख्य छ ।

सगरमाथा आधार शिविरमा नेपालको राष्ट्रिय झण्डा फहराइरहेको छ । हरेक देशका आरोहीले आआफ्ना देशका झण्डा पनि गाडेका छन् । जलवायु परिवर्तनको असरले गर्दा सानातिना हिमालमा हिउँ पग्लिएर काला चट्टानहरुमात्र देखिन्छन् । बाक्लै गुजुमुज्ज टेण्टहरु टाँगेर बसेका आधार शिविरको बसाईमा कसैले एक्लो महशुस गर्दैनन् । सामान सरसापट र किनबेच पनि चलिरहेको हुन्छ ।

बिगतमा जथाभावी फोहोर गरेको भनेर आलोचना बढेपछि अहिले आधार शिविरको सरसफाइमा भने कडाइ गरिएको छ । आधार शिविरमा उत्सर्जन भएको फोहोर व्यवस्थित ढंगले संकलन गरप् हेलिकोप्टरमार्फत पठाइन्छ । यसका बाबजुद सगरमाथा आधार शिविरमा सरसफाइमा जति कडाइ गरिएपनि अनियन्त्रित भीडभाड रोक्नेतर्फ बेलैमा वैज्ञानिक उपाय सोचिएन भने बढ्दो चापले सगरमाथाको अस्थित्व नै संकटमा नपर्ला भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment