Comments Add Comment

जनताले टेलिफोन पाएको ऐतिहासिक दिन !

टेलिफोन खुल्यो !

‘बडो हर्षको कुरा छ कि, परम विवेकी प्रजाहितेच्छु श्री ३ महाराजबाट सकललाई सब कुराको सुविस्ता होस भन्ना निमित्त नेपालमा अनेक काम निकाली बक्सेको छ । केही दिन भयोे टेलिफोनको काम पनि शुरु गराई बक्सियेको थियो । यसको सूचना ८ र १० महिना पहिले पाठक महाशयमा जाहेर गरी सकेका छौँ ।

अब फेरि जाहेर गरिन्छ कि आज ज्येष्ठ १ गते सोमबारदेखि सारा दुनियाँदारका निमित्त पनि टेलिफोन खुल्यो । यसको महसुलको दर यहाँदेखि यहाँसम्मलाई भन्ने कुरा पछि दिइनेछ ।’

वि.स.१९७४ जेठ १ गते सोमबारको गोरखापत्रमा प्रकाशित यस समाचार अनुसार १९७४ जेठ एक गते देखि आम नेपाली जनतालाई सीमित रुपमै भए पनि टेलिफोन सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराइएको थियो । यस हिसावले २०७६ जेठ एक गते आम नेपाली जनताले सुविधाको रुपमा टेलिफोन सेवा उपभोग गर्न थालेको एक सय दुई वर्ष पूरा भएको छ ।

नेपालमा टेलिफोन सेवाको आरम्भ भएको सम्बन्धमा विभिन्न मिति उल्लेख भएकोे पाइने गरेता पनि प्रमाणिकरुपमा चाहिँ वि सं १९७३ असार २० गते देखि यो सेवा आरम्भ भएको र त्यसको करिव एक वर्ष पछि आम नागरिकलाई पनि यो सेवा उपलब्ध गराउन थालिएको विश्वसनीय आधार भेटिन्छ । १९७३ असार २० गते देखि नेपालमा टेलिफोन सेवा प्रारम्भ भएको कुरालाई पनि गोरखापत्रले महत्वका साथ यसरी प्रकाशित गरेको थियो ।

‘टेलिफोन स्थापित

हे प्रिय पाठक महाशय हो ! आज तपाञिहरूका अगाडि आनन्ददायक खबर जाहेर गर्न पाउनु हाम्रो ठूलो भाग्य रहेछ ! हिजो हामीहरूलाई “बिजुली बत्ति भनेको कस्तो होला ? कसरी बल्दो हो ? टेलिग्राम् भनेको कस्तो हुन्छ ? दश मिनटमा हजारन् कोश परको खबर कसरी जानिन्छ ? टेलिफोन भनेको कस्तो होला ? हजारन् कोशका बीचमा फासला राखी, वल्लाछेउमा र पल्लाछेउमा बसी एकै पलङ्मा बसी बात्चित् गरेझैँ कसरी गर्दा हुन् ?” भन्ने लाग्दथ्यो, आज परमेश्वरका असीम अनुग्रहले र श्री ३ महाराजका प्रखर प्रतापले “बिजुली बत्ति यस्तो हुँदो रहेछ, यसरी बल्दो रहेछ” भन्ने हामी नेपालबासीलाई पूरा बोध भयाका सबैलाई जाहेरै छ । हालमा श्री ३ महाराजका अनुग्रहले सबैलाई असल होस्, सबैको उपकार होस्भनि, मिस्टर वर्नेडपन्टेलाई लगाइ यौटाकाम फेरी तयार भयो । टुंडिखेलदेखी वीरगञ्जसम्म करीब ७२ माइल (…. करीब ३६ कोशको फासला) छ तेस्मा १५०।१५० फीटको फरक गरी काष्ठमय उचाखम्बा खडागराइ ती खम्बाका शिरशिरमा तामाको तारलाई यन्त्रादिको मेलन समेत गरी वीरगञ्जमा र यहाँ टुंडिखेलका नगीच पश्चिम पट्टी टेलिफोन अफिस खडाभै हाल क्षण भरमै नजीकै बसी बात्चित् गरेझैँ गरिनलाग्यो ! हाम्रा भाग्यले गर्दा ५ हजार कोश परको हालखबर पनि ५ घण्टा भित्रमा सुन्न पाउने भञौं । यसबाट खाली सर्कारलाई मात्र हैनकि दुनिञादारलाई समेत फाइदा हुने भयो ।

किनभने हेर्नु होस–…….. (सनातन धर्मवाला) हामीहरू हिन्दुस्थान तर्फको तीर्थ, सफर गर्न गयाको बेलामा दैबसंयोग कोही विपतमा पर्न गयो भने मैन्हासम्म घरका बालबच्चालाई केही खबर मिल्दैनथ्यो कदाचित् कसैले रक्सौलसम्म तारदिय पनी, वीरगञ्जबाट चिठी सरहमै, आउने हुनाले कालातीतभै दुनिञाले बडा अपशोच मनाउनु पर्दथ्यो, सो अब उदाराशय श्री ३ महाराजका दूरदर्शिता सहितको करुणा परंपराले गर्दा दूर भयो ! काठमाडौं देखी वीरगञ्जसम्म बराबर टेलीफोन चल्नलाग्यो । ७२ माइलका वरिपरि बसी सामुन्नेमा बात्चित् गरेझैँ गर्न हुन्छ यहाँ जस्तो बोल्यो वहाँ त्यस्तै सुनिन्छ, वहाँजस्तो बोल्यो यहाँ उस्तै सुनिन्छ, एकजात् फरक पर्दैन यस्ता यस्ता अद्भुत कार्खानाको आविष्कार गरी, देशोन्नति र सबैको उपकार गर्नमा तत्पर होइबक्याका प्रजावत्स्ल श्री ३ महाराजको र्दीघायु होस्, कीर्ति चारोतरफ फैलियोस् राज्यवृद्धिका साथ साथ चिरकालसम्म अटल रहोस् भन्ने परमेश्वरसित सतत प्रार्थना गर्दछौँ ।

गोरखापत्रमा प्रकाशित यो समाचार अनुसार काठमाडौंबाट वीरगञ्जसम्म काठको पोलमा तामाको तार तानी छिमेकी मुलुक भारतसम्म पनि टेलिफोनमार्फत सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको थियो । अर्थात नेपालमा टेलिफोन सेवा स्थापना हुँदा सुरुमै अन्तर्राष्ट्रिय सम्पर्क पनि गर्न सक्ने व्यवस्था गरिएको थियो ।

चन्द्रशमशेरले वि.सं. १९७२ मा टेलिफोन अड्डा स्थापना गरेका थिए (टेलिफोन अड्डाको सवाल–वि.सं. १९७२) । सो समाचारअनुसार काठमाडौको टुँडिखेलदेखि वीरगञ्जसम्म ७२ माइल (११५ कि मि ) काठको खम्बामा तामाको नाङ्गो तार तानी मेग्नेटो प्रविधिको ट्रंक टेलिफोन सेवा सुरु गरिएको थियो ।
त्यसका लागि बनार्ड पन्टेलाई विशेषज्ञको रुपमा काममा लगाई टुँडिखेल नजिक पश्चिमपट्टि टेलिफोन अफिस खडा गरिएको थियो । नेपालमा दूरसञ्चार सेवा सुरु हुँदाका बखत अत्यन्तै सीमित क्षेत्रमा यसको उपयोगिता हुन्छ भन्ने कुरालाई महत्व दिइएको थियो । त्यसबेला विशेषगरी भारतमा तीर्थयात्रामा गएका नेपालीहरु कुनै विपदमा पर्दा महिनौसम्म घरका बालबच्चालाई खवर हुननसकेको दुखद अवस्थालाई त्यसवेलाको गोरखापत्रले महत्वका साथ प्रकाशन गर्दै टेलिफोन सेवाको सञ्चालनले उनीहरुलाई सहज हुने उल्लेख गरेको थियो ।

लक्ष्मण अधिकारी

आज दूरसञ्चार सेवा, सूचना, मनोरञ्जन, स्वास्थ्य, शिक्षा, विज्ञान प्रविधि, यात्रा, व्यापार, सुरक्षा राजनीतिल, कुटनीतिलगायत जीवनजगतका समग्र पक्षमा अधिकतम रुपमा उपयोग भइरहेको छ । दूरसञ्चार सेवा कुन क्षेत्रको प्राथमिकतामा छैन भन्ने कुरा भन्न सकिने स्थिति नै छैन । अहिले त यो सेवा भ्वाइसमा मात्र पनि सीमित छैन । भिडियो कल र लिखित सन्देश तथा ग्राफिक्सहरुसमेत आदानप्रदान गर्न सकिने भएको छ । यसका लागि विभिन्न सेवाप्रदायकहरुले विविध प्रविधिका दूरसञ्चार सेवाहरु मुलुकभर कार्पेट कभरेजका रुपमा विस्तार गरेका छन् । प्राविधिक र आर्थिक दृष्टिलेसमते दूरसञ्चार सेवा सवैको पहुँचमा पुगेको छ ।

वि.सं.१९७३ अघि टेलिफोन

प्रमाणिक रुपमा भन्नुपर्दा विं सं १९७३ देखि टेलिफोन सेवा सञ्चालन भएको पाइए पनि विभिन्न दस्तावेजहरुमा त्यस अघिदेखि नै नेपालमा टेलिफोन सेवा सुरु भएको कुरा उल्लेख गरिएको छ । यस्ता दस्तावेजमा टेलिफोन सुरु भएको साल उल्लेख गरिए पनि यकिनका सात पूरा मिति उल्लेख गरिएको छैन र प्रमाणिक आधारहरु पनि प्रस्तुत गरिएको छैन । त्यस अघि सुरु भएको भनिएको टेलिफोन सेवा कहाँ, कसरी, कुन प्रविधिको भन्ने वारेमा पनि विस्तृत विवरण खुलाएको पाइँदैन । तर, पनि कुनै सीमित क्षेत्रमा कुनै निश्चित अवधिका लागि दूरसञ्चार सेवा स्थापना गरिएको केही आधारहरु भने भेटिन्छ ।
विक्रम संबत् १९७० मा पं. जगन्नाथ, बैजनाथ सेढाञीले चन्द्रमयूख नामक चित्रकाव्य तयार गरी प्रकाशन गरेका थिए । यो चित्रकाव्यमा मूख्यतः चन्द्र शमशेरका शासकीय गतिविधि वारे प्रकाश पारिएको छ र उनकै प्रसस्ति गाइएको छ । त्यसमा दूरसञ्चार सेवा सञ्चालन सम्बन्धमा पनि केही कुरा उल्लेख गरिएको छ ।

सो काव्यमा बयान गरिए अनुसार विक्रम संबत् १९६८ साल पुस महिना (१९११, डिसेम्बर ) मा बेलायतका बादशाह जर्ज पञ्चम नेपालको ठोरी जंगलमा सिकार खेल्न भारतको बाटो भई सपरिवार आएका थिए । शिकार खेल्नका लागि आउन तत्कालीन श्री ३ चन्द्र शमशेरले निमन्त्रणा पठाएका थिए । नेपाल आउनुभन्दा अघि जर्ज पञ्चमले चन्द्र शमशेरलाई चिट्ठी लेखेका थिए । चन्द्र शमशेरले ठोरीको जंगलमा अतिथिहरुका लागि महल पनि बनाएका थिए ।

केही दिन सिकार खेलेर जर्ज भारतको बाटो हुँदै फर्किए । यसैक्रममा ठोरी नजिक भारतको नरकटियागञ्जमा उनको क्याम्प रहेको थियो । जर्ज पञ्चमले त्यहाँबाट सिकारको तारिफ गर्दै सन् १९११ डिसेम्बर २८ मा चन्द्र शमशेरलाई तार खबर (टेलिग्राम) पठाएका थिए । उनले ठोरीमा बनाएको अतिथि गृहको समेत प्रशंसा गरेका थिए । बादशाह कलकत्ता सरकारी निवास पुगेपछि ५ जनवरीमा पुःन चन्द्र शमशेरलाई विस्तृत विवरणसहितको चिट्ठी तारमार्फत पठाएको उल्लेख छ ।

उक्त पुस्तकमा ‘बादशाहबाट श्रीमाहाराजमा तारखबर’ शीर्षकमा यस्तो लेखिएको छः

‘….बादशाहा जव ठोडि छोडि प्रभुमा प्रें बाधि फिर्नू भयो,

ठांम ठांमबाट चिठी र तार मजबुन् भेज्नू भयो लेखि यो .

………प्रभुबाट तार्खबर् वाँचि बक्सँदा,

कृतकृत्य भो मनमहाँ त नाथका,

गरछू वयान सव यो किताबमा,

यहि बात् रहेछ सुन लोक तारमा ।…’

यस्तै इतिहासकार डा श्रीरामप्रसाद उपाध्याय (नेपालको समीक्षात्मक इतिहास) का अनुसार वि सं १९६८ पुस ३ (सन् १९११, डिसेम्बर १८ ) मा नेपालका राजाको निमन्त्रणामा बेलायतका सम्राट जर्ज पञ्चमले चितवनको ठोरी जंगलमा शिकार खेल्न नेपालको भ्रमण गरेका थिए । नेपालका राजाको तर्फबाट नेपालका प्रधानमन्त्री चन्द्रशमशेरले राजकीय अतिथिहरुको स्वागत गरेका थिए । बेलायतका सम्राटको स्वागतको निम्ति ठोरीको जंगलमा विशेष तयारी गरिएको थियो । जंगलभित्र मोटर हिँड्ने बाटो र टेलिफोनको व्यवस्था गरिएको समेत सो पुस्तकमा उल्लेख गरिएको छ । तर कुन प्रविधिको र कहाँ कहाँ सम्पर्क गर्ने टेलिफोन सेवा सञ्चालन गरिएको भन्ने सम्बन्धमा विस्तृत विवरण पुस्तकमा उल्लेख छैन ।
इतिहासकार पुरुषोत्तमशमशेर राणाका अनुसार सवत् १९६८ (सन् १९११) मा चन्द्रशमशेर र जर्ज पञ्चम ठोरीमा शिकार खेल्नका लागि क्यम्पमा बसेका बखत भीम शमशेर कार्यबाहक श्री ३ महाराज थिए । पुरुषोत्तम शमशेरका हजुरबुबा कमाण्डिङ्ग जर्नेल रुद्रशमशेर औषधि गर्न कलकत्ता गएका थिए । यसै बखत राजा पृथ्वी वीरविक्रम विरामी परे । राजाले तुरुन्तै रुद्रशमशेरलाई भेट्ने इच्छा कार्यबाहक श्री ३ भीम शमशेरसमक्ष जाहेर गरे । भीम शमशेरले श्री ३ चन्द्रलाई जाहेर गर्नुपर्ने भयो । उनले यो सन्देश हेलियोग्राफ मार्फत राजाको सिकार क्याम्प ठोरीमा जाहेर गरी पठाएका थिए । त्यहाँबाट चन्द्र शमशेरले टेलिग्रामबाट कलकत्ता सन्देश पठाए । सन्देशमा महाराज पृथ्वी साह्रो भएकाले कलकत्ताबाट जातवाला नर्स लिएर आउनु भन्ने खबर आएकोले जातवाला नर्स पाइएन भन्नु भन्ने उल्लेख गर्दै रुद्रशमेरलाई टेलिग्राम पठाइएको थियो ।

यी लिखत तथा भनाइहरु मनन गर्दा वि सं १९६८ मा नै चितवनको ठोरी क्याम्पबाट नजिकै रहेको भारतको क्याम्पसम्म तारका माध्यमबाट खवर (टेलिग्राम) आदान प्रदान हुने गरेको देखिन्छ । तर त्यसबेला राजधानी काठमाडौबाट चितवनसम्म तारका माध्यमबाट खवर आदानप्रदान गर्ने कुनै पूर्वाधार भएको प्रमाण भने पाइँदैन । बादशाहको क्याम्प नेपाल सीमा नजिक भारतको नरकटियागञ्जमा रहेकाले त्यहाँबाट अस्थायी रुपमा चितवनको ठोरी र त्यसको निकट भारतको नरकटियागञ्जमा रहेको बादशाहको क्याम्पसम्म तार खबर पठाउने अस्थायी व्यवस्था गरिएको थियो कि भनेर अनुमानसम्म गर्न सकिन्छ । तर, यतिकै आधारमा नेपालमा त्यसैवेला टेलिफोन सेवा सञ्चालनमा थियो भन्न सकिने स्थिति भने छैन ।

किनभने ठोरीबाट नेपालका अन्य कुनै पनि ठाउँमा तार खबर पठाएको वा टेलिफोन सम्पर्क भएको प्रमाण पाइएको छैन । साथै जर्ज पञ्चम ठोरीमा शिकार खेल्न आउनु अघि र पछि पनि ठोरीबाट भारत वा अन्यत्र तारखवर आदानप्रदान भएको प्रमाण पनि पाइएको छैन । त्यसकारणले सीमित समयका लागि तारखवर आदानप्रदान गर्ने व्यवस्था गरिएको जस्तो बुझिन्छ ।

केही लेखकहरुले वि सं १९७० बाट नेपालमा टेलिफोन सेवा सञ्चालन भएको उल्लेख गरेका छन् । तर त्यसलाई पुष्टि गर्ने खालका लिखित तथा प्रमाणिक दस्तावेजहरु भने पाइएको छैन ।

नेपाली सेनामा सिग्नलको इतिहास २०६९, नेपाल दूरसञ्चार संस्थानः अतीत र वर्तमान २०५६, हिमालयन स्टडिज सेण्टरद्वारा तयार गरी वि.सं. २०४९ मा राष्ट्रिय योजना आयोगमा पेश गरिएको रिपोर्ट एवं टेलिकम्युनिकेसन प्रोजेक्टका सम्बन्धमा विश्ववैंकले तयार गरेको रिपोर्ट २०२६ मा नेपालमा वि.सं. १९७० सालमा टेलिफोन सेवाको थालनी भएको भन्ने उल्लेख गरिएको छ । यी दस्तावेजहरुमा वि.सं. १९७० सालको सुरुबाट श्री ५ महाराजाधिराज, श्री ३ महाराज र प्रधान सेनापतिबीच कुराकानी गर्न जमलस्थित रानीपोखरीको उत्तरतर्पm हाल नेपाल इन्जिनियरिङ्ग एसोसिएसनको कार्यालय पछाडि भएको पुरानो घरमा म्याग्नेटो एक्स्चेन्ज खडा गरी नारायणहिटी दरबार, सिंहदरबार र प्रधान सेनापतिको निबासमा टेलिफोन लाइन विच्छ्याइएको उल्लेख छ । तर यसको विस्तृत विवरण एवं यसलाई पुष्टि गर्ने खालका प्रमाणिक दस्तावेज पाइएको भने छैन ।

नेपालमा टेलिफोन सेवा आरम्भ भएको महत्वपूर्ण ऐतिहासिक दिनलाई विभिन्न लेखकहरुले फरक फरकरुपमा प्रस्तुत गरिदिदा आम सर्वसाधारणमा दुविधा उत्पन्न भएकोले सर्वसम्मत यकिन मिति तय गर्न नेपाल टेलिकमले २०७० जेठमा नेपालका ख्यातिप्राप्त संस्कृतिविद् तथा इतिहासकारहरुलाई भेला गराई छलफल गराएको थियो ।

उक्त छलफल कार्यक्रममा वरिष्ठ संस्कृतिविद् सत्य मोहन जोशी, भाषासेवी कमलमणि दीक्षित, संस्कृति शिरोमणि हरिराम जोशी, इतिहासकार पुरुषोत्तम शम्शेर ज.ब.रा, इतिहासविद् ज्ञानमणि नेपाल, इतिहासविद प्रा.दिनेश राज पन्त, इतिहासकार डा.श्रीराम प्रसाद उपाध्याय, इतिहासविद् प्रा.डा.विजय मानन्धर, इतिहासविद् प्रा.डा.भवेश्वर पंगेनी, इतिहासविद् प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ, पुरातत्वविद् प्रकाश दर्नाल, इतिहासविद् प्रा डा राजेश गौतम, नेपाल टेलिकमका पूर्वमहाप्रबन्धक ई. सुरेशकुमार पुडासैनी लगायतको सहभागिता थियो ।

उक्त छलफल पश्चात् सो सम्बन्धमा इतिहासविद्हरुबाटै थप अध्ययन गराइएको थियो । सो अध्ययनको निष्कर्षमा पनि नेपालमा सर्वप्रथम वि सं १९७३ असार २० गते टेलिफोन सेवा सञ्चालनमा आएको र वि सं १९७४ जेठ एक गते देखि सर्वसाधारणलाई टेलिफोन सेवा उपलब्ध गराउन थालिएको उल्लेख छ । त्यसकै आधारमा जेठ एक गतेलाई आम नेपाली जनताले टेलिफोन सेवा उपभोग गर्न पाएको गौरवपूर्ण दिनका रुपमा लिने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment