Comments Add Comment

‘ख्याल गर्नुस्, हामीले पाएको मत दुई तिहाई होइन’

१ जेठ, काठमाडौं । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दुई तिहाईको दम्भ नदेखाउन सरकारलाई आग्रह गरेका छन् ।

अहिले पनि धेरै जनताको विश्वास जित्न बाँकी रहेको उनले बताए । युवा संघ नेपालको २९ औ वार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा नेता नेपालले भने, हामीले ५५ प्रतिशत जनताको मत प्राप्त गरेका छौं, ख्याल गर्नुहोस् दुई तिहाई होइन ।’

उनले अहंकार छाड्न र जनताको मन जित्ने काम गर्न सुझाव समेत दिएका छन् । अंहकारी दृष्टिकोण, गलत चिन्तन र सर्वश्रेष्ठताको भ्रमले पतनतर्फ डोर्‍याउने उनको धारणा छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘हाम्रो काम र व्यवहारले जनताको मन जित्न सक्छ । जनताका पीर, मर्कामा सहयोगी भयौं, जनताको दुःख कष्टमा साथ दियौं र जनताको सुखमा पनि रमायौ भने अनि जनताले हामीलाई मन पराउनेछन् ।’

‘जनताका समस्या के हुन् ? चाहना के हुन् ? त्यो सुन्नुहोस् । म जोड दिन चाहन्छु, हाम्रो बानी के भएको छ भने भन्ने धेरै बोल्ने। कम सुन्ने ।’

कम्युनिस्ट  नेताहरुको आचरण र व्यवहार परीक्षणमा रहेको भन्दै वरिष्ठ नेता नेपालले युवा नेताहरुलाई सचेत समेत गराएका छन् । ‘हाम्रो आचरण र व्यवहारमा कतै ठूला समस्या त खडा भएका छैनन् ? अनौठो खालका विकृतिहरु झांगिएका त छैनन् ? पारदर्शीता छ कि छैन ? कमिटीभित्र सबै कुराहरु छलफल हुन्छ कि हुँदैन ? कामको बाँडफाँड गरिन्छ कि गरिँदैन ? योग्यता क्षमताको मूल्यांकन गरिन्छ कि गरिँदैन ? जम्मै कुराहरुलाई हेर्नुहोस्’ उनले भने, ‘किनभने अन्त्यमा तपाईंको व्यवहारले नै मान्छेको मन जित्छ ।’

भाषणको प्रतिष्पर्धामा नजाने भन्दै उनले सामाजिक न्यायसहित सम्मृद्धि मुठ्ठी भरको जमातका लागि नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment