Comments Add Comment

संसदीय समितिमा पहिलो पटक झुल्किए देउवा

१ जेठ, काठमाडौं । संसदीय समितिमा सधै गयल हुँदै आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलो पटक झुल्किएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिका सदस्य रहेका पूर्वप्रधानमन्त्री देउवा पहिलो पटक बुधबार बैठकमा सहभागी भएका हुन् ।

समितिले बुधबार बिहान ८ बजेका लागि बैठक बोलाइएको थियो । खानेपानी मन्त्रालयको आगामी आर्थिक वर्षका बजेट तथा कार्यक्रमका विषयमा छलफल गर्न बोलाइएको बैठकमा देउवा पहिलो पटक झुल्किएका हुन् ।

देउवा सदस्य रहेको विकास समितिका दर्जनौं बैठकहरु यसअघि सम्पन्न भइसकेका छन् । कुनै पनि बैठकमा सहभागी नभएको समाचार अनलाइनखबरमा केही समयअघि प्रकाशित भएको थियो ।

यो पनि पढ्नुहोस ‘मिनी संसद’मा देउवा सधैं गयल, प्रचण्ड एकपटक झुल्किए !

बैठक शुरु भएको एक घण्टा ढिला प्रवेश गरेका देउवा धेरै समय बसेनन् । आफ्नो भनाइसमेत राखेनन् । हाजिर मात्रै गरेर बाहिरिए ।

गत साउन २१ गतेदेखि माघ मसान्तसम्म मात्रै समितिका ३४ वटा बैठक बसेका छन् । तर, सभापति देउवा कुनै पनि बैठकमा सहभागी भएका थिएनन् ।

सभापति देउवाको उपस्थितिका विषयमा समिति सभापति कल्याणीकुमारी खड्काले स्वयं देउवा र कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडलाई भेटेरै ध्यानाकर्षण गरेको अनलाइनखबरलाई बताएकी थिइन् ।

संसदीय समिति बैठकलाई राजनीतिक दलका शीर्ष नेताहरुले नै बेवास्ता गर्ने गरेका छन् । देउवा मात्रै होइन प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्डलगायतका नेताहरु पनि खासै उपस्थिति जनाउँदैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment