१२ असोज, काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले पूर्वसभापति शेरबहादुर देउवालाई १५औं महाधिवेशनको उद्घाटन समारोहको अध्यक्षता गराएर बिदा गरिदिए आफूहरू एकताका लागि तयार रहेको बताएका छन् ।
गृहजिल्ला डोटीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले १६ असोजदेखि सुरु हुन गइरहेको महाधिवेशनको उद्घाटन समारोहको अध्यक्षता गराएर १७ गते विदा गरिदिए इतर समूह एकताका लागि तयार रहेको बताएका हुन् । ‘अझै पनि गगन थापाले १६ गतेको उद्घाटनको अध्यक्षता शेरबहादुर देउवालाई गराएर १७ गते बिदा गरिदियो भने पनि त्यसका लागि तयार छौं हामी,’ प्रदेश सभापति बलायरले भने ।
तल्लो तहका अधिवेशनहरू भइरहेका र आफूहरूको अधिवेशन सुरु हुन लागेकाले दुवै महाधिवेशनबाट आएका प्रतिनिधिहरूलाई समायोजन गरेर अझै पनि एकता गर्न सकिने उनको भनाइ थियो ।
‘यदि, पार्टीलाई मिलाउने हो भने दुवैतिरका महाधिवेशन प्रतिनिधिहरूलाई एकै ठाउँमा हालेर पनि तिथिमिति सार्न सक्नुपर्यो,’ बलायरले भने ।
पूर्वसभापति देउवाले २१ फागुनको निर्वाचनमा विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापाको दस्तखत भएको टिकट माग्दा पनि नपाउनु राजनीतिक रूपमा अर्थपूर्ण रहेको बलायरले जिकिर गरे । ‘शेरबहादुर देउवाले गगन थापाको दस्तखतको टिकट माग्दा पनि नपाउनु राजनीतिक रूपमा के हो ?,’ उनले प्रश्न गर्दै भने, ‘यी कुराहरू पत्रकारहरूले पनि बुझ्नुप¥यो ।’
विशेष महाधिवेशनबाट स्थापित भएको नेतृत्वले देउवाको चाहना पूरा गरिदिएको भए उचित हुने उनको भनाइ थियो । ‘विशेषलाई अस्वीकार गर्दागर्दै पनि विशेषबाट स्थापित भएको सभापतिको हातबाट म टिकट लिएर डडेल्धुरामा लड्छु भन्ने उहाँको इच्छा थियो,’ सभापति बलायरले भने, ‘उहाँको अन्तिम इच्छा पूरा गरिदिएको भए हुन्थ्यो नि ।’
प्रतिक्रिया 4