+
+
Shares

कांग्रेस फुटाउने कि एकताबद्व गर्ने बल सभापतिकै कोर्टमा छ : वीरबहादुर बलायर

तर, सभापति थापाको नियत नै पार्टी फुटाउने भएमा एकता नजोगिने उनको भनाइ थियो । ‘

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १२:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले पार्टी एकताबद्ध गर्ने दायित्व सभापति गगनकुमार थापाको भएको बताएका छन्।
  • बलायरले भने, \'नेतृत्व तहबाट पार्टी फुटाउन खोजिएको हो भने यसको कुनै औषधि छैन र जोगाउन सकिँदैन।\'
  • १० जेठमा धनगढीमा प्रदेश समितिको आयोजनामा हुने भेलालाई गुटको भेलाका रूपमा नलिन बलायरले आग्रह गरेका छन् ।

६ जेठ, धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले पार्टीलाई एकताबद्ध गरेर लैजाने दायित्व नेतृत्वको भएको बताएका छन् ।पार्टीको वृहत् एकता र पुर्नजागरणका लागि भन्दै १० जेठमा धनगढीमा प्रदेश समितिको आयोजनामा हुने भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै बलायरले पार्टी एकताबद्व गर्ने दायित्व सभापति गगनकुमार थापाको भएको बताएका हुन् ।

तर, सभापति थापाको नियत नै पार्टी फुटाउने भएमा एकता नजोगिने उनको भनाइ थियो । ‘हामीले फुटको लागि जागरण भेला गरिरहेका होइनौं । यदी नेतृत्व तहबाट पार्टी फुटाउन खोजिएको हो भने यसको कुनै औषधि छैन ।जोगाउन पनि सकिँदैन,’ बलायरले भने, ‘विशेष महाधिवेशनबाट चयन भएका सभापति गगनकुमार थापाको कोर्टमा सबै कुरा छ । उहाँ सिंगो कांग्रेसको सभापति हुन चाहानुभएको छ भने कुनै पनि हालतमा कांग्रेस फुटको संघारमा जाने स्थिति देखिँदैन् ।’

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई मत नै नहालेका मानिसहरूले पार्टी फुटको हल्ला चलाइरहेको बलायरको टिप्पणी छ । १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा अन्य नेताहरूलाई अपमानपूर्ण व्यवहार भने सह्य नहुने उनको भनाइ छ ।

‘हामीले हिजोका पदाधिकारीलाई स्थापित गर्न भनेका छैनौँ । तर नेतृत्व गरेका नेताहरूको मानमर्दन गरिनुहुँदैन, ’ उनले भने, ‘१५औँ महाधिवेशनको सुनिश्चितताका लागि हाम्रो एकता आवश्यक छ ।’ निवर्तमान सभापति शेरबहादुर देउवा समूहले काठमाडौंमा खोलेको सम्पर्क कार्यालयलाई फुटको रूपमा बुझ्न नहुने उनको तर्क छ ।

कांग्रेसलाई कसरी अघि बढाउन सकिन्छ भन्नेबारे छलफल र विचार मन्थन गर्न जेठ १० गते प्रदेशस्तरीय भेला आयोजना गरिएको उनको भनाइ छ ।

´सुदूरपश्चिम प्रदेशबाट आगामी दिनमा कांग्रेस कसरी अगाडि लैजाने भन्ने विषयमा छलफल गर्न हामीले कार्यक्रम राखेका छौँ, ’ उनले भने, ‘नेतृत्वलाई केही दिनुपर्ने सुझाव लगायतका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल हुन्छ ।’

तर कार्यक्रमलाई गुटको भेलाका रूपमा नलिन उनको आग्रह छ । विदेशमा रहेका निवर्तमान सभापति शेरबहादुर देउवाको चिन्ता पनि कांग्रेसलाई एकताबद्व कसरी राख्ने भन्नेमै रहेको बलायरको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?