+
+

एनएमबि र ओम डेभलपमेन्ट बैंकबीच मर्ज गर्ने सहमति

मर्जरपछि कति बलियो बन्दैछ एनएमबि ?

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २ गते १८:४५

२ जेठ, काठमाडौं । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच आपसमा मर्ज गर्ने (गाभिने) सहमति भएको छ । प्राइम कमर्सियल बैंकसँग मर्जरमा जाने सहमति गरेको ओम डेभलपमेन्ट बैंकले एनएमबिसँग मर्जरमा जाने सम्झौतापत्रमा बिहीबार हस्ताक्षर गरेको छ ।

एनएमबिले सञ्चालक प्रदीपराज पाण्डेको संयोजकत्वमा र ओमले सञ्चालक योगेन्द्रलाल प्रधानको संयोजकत्वमा मर्जर समिति बनाएका थिए । बिहीबार आयोजित मर्जरसम्बन्धी सम्झौता पत्रमा एनएमबिका तर्फबाट पाण्डे र ओमका तर्फबाट प्रधानले हस्ताक्षर गरे ।

यसअघि प्राइम कमर्सियल बैंकसँग मर्जरमा जाने ओमले सहमति गरिसकेको थियो । गत भदौमा दुई बैंकबीच भएको सहमति कार्यान्वयन भने हुन सकेन । प्राइमले एक्लै साधारणसभा बोलाएपछि ओम रुष्ट बनेको थियो ।

सहमति कार्यान्वयन नहुनेदेखे पछि राष्ट्र बैंकले दुबै बैंकलाई स्पष्टिकरणसमेत सोधेको थियो । तर प्राइमकै आन्तरिक समस्याका कारण मर्जमा जान नसकिएको ओमले राष्ट्र बैंकलाई स्पष्टिकरण बुझाएको थियो ।

सम्झौता कार्यान्वयन हुनेमा शंका नगर्न दुबै बैंकको आग्रह 

सम्झौता पत्रमा हस्ताक्षरपछि दुबै बैंकका अध्यक्षले मर्जरबाट पछि नहट्ने बताएका छन् । एनएमबिका अध्यक्ष पवन गोल्यानले ओमसँगको मर्जरपछि बैंक थप शक्तिशाली हुने बताए । मर्जरपछि गण्डकी प्रदेशमा पनि बैंकको उपस्थिति बलियो हुने उनले बताए । अब बैंकले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने समेत उनले बताए ।

गोल्यानले भने, ‘मर्जर पछि हामी थप बलियो हुँदैछौं, प्रदेश ६ र ७ मा हामी कमजोर छौं त्यसलाई प्राथमिकतामा राख्दै कृषि क्षेत्रमा लगानी पनि बढाउनेछौं ।’ उनले अब मर्जर भाँडिने सम्भावना नरहेको पनि दावी गरे । मर्जरलाई बिवाहसँग तुलना गर्दै अध्यक्ष गोल्यानले यो सहमति भंग भए दुबै पक्षलाई नराम्रो हुने बताए ।

ओमका अध्यक्ष सुशीलकुमार गोशलीले एनएमबिसँगै मर्जर हुने लेखेका कारण यसअघिको मर्जर तोडिएको बताए । ‘लेखेको मात्रै हुन्छ देखेकाले हुँदैन भनेजस्तै भयो’ उनले भने, ‘हामीले अर्कै देखेका थियौं, एनएमबि लेखेको रहेछ ।’

उनले प्राइमसँग मर्जर भाडिनुमा आफ्नो बैंकको कारण नरहेको समेत दावी गरे । अर्कोतर्फ सहमतिको बुँदा नम्बर १९ मा उल्लिखत सहमति विपरीत प्राइमले एक्लै साधारणसभा बोलाएर सहमति भंग गरेको समेत उनले आरोप लगाए ।

प्राइमले सहमति तोडेका कारण डिमर्ज गरिपाउँ भनेर राष्ट्रसँग आग्रह गरिएको उनले बताए । यद्यपि उनले अब एनएमबिसँग त्यस्तो नहुने बताए । उनले भने, ‘अब आकासै खस्यो भने त के भनौं, नत्र मर्जर तोडिदैन ।’

अहिले एनएमबि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । ओमको दुई अर्ब ५१ करोड रुपैयाँ छ । स्वाप रेसियो भने कति हुने टुंगो लागिनसकेको बताइएको छ ।

एनएमबि बैंकका सीइओ सुनील केसीले पनि सम्झौता कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गरे । ४ वर्षअघि ५ वटा संस्थाहरु मर्जर गराउन एनएमबि बैंक सफल भएको स्मरण गर्दै उनले यो मर्जर पनि सहजै सफल हुने दावी गरे ।

कति बलियो बन्दैछ एनएमबि ?

दुई बैंक मर्जपछि पनि एनएमबि बैंक नै नाम रहने सहमति पत्रमा उल्लेख गरिएको छ । हाल एनएमबिले ११० वटा शाखा तथा ४ एक्सटेन्सन काउन्टरबाट सेवा दिदै आएको छ ।

उता ओमले ५३ वटा शाखा र एक काउन्टरबाट सेवा दिदै आएको छ । मर्जरपछि बैंकको शाखा संख्या १६३ पुग्नेछ भने एक्सटेन्सन काउन्टर ५ वटा पुग्नेछ ।

एनएमबिको हाल १०१ एटीएम र ओमका १९ एटीएम छन् । मर्जरपछि बैंकको एटीएम संख्या १२० पुग्नेछ । यसैगरी मर्जरपछि बैंकको कूल पुँजी तथा जगेडा कोषमा वृद्धि भई २० अर्ब ४२ करोड रुपैयाँ हुनेछ ।

यसैगरी निक्षेप रकम १ खर्ब १९ अर्ब रुपैयाँ पुग्ने छ भने कर्जा १ खर्ब १३ अर्ब रुपैयाँ पुग्नेछ । मर्जरपछि कर्जा तथा निक्षेपका आधारमा एनएमबि २८ वाणिज्य बैंकमध्ये शीर्ष ७ भित्र पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?