
३ जेठ, काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले पार्टीको तत्कालको कार्यक्रम जनताको जनवाद र दीर्घकालिन रणनीति समाजवाद रहेको भन्दै पुराना बिचार दोहोर्याउन आवश्यक नरहेको बताएका छन् ।
जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृतिसभालाई मदननगर बल्खुमा सम्बोधन गर्दै प्रचण्डले महाधिवेशनबाट नयाँ विचार निर्माण हुने बताए ।
ईश्वर पोखरेललगायतका नेकपा नेताहरुले पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद हुनुपर्ने भनेर सार्वजनिक रुपमा बहस चलाइरहेका बेला प्रचण्डले पुराना कुरा दोहोर्याएर अहिलेको आवश्यकता पूरा नहुने बताए । उनले तत्कालीन एमालेको जबज र माओवादीको एक्काइशौं शताब्दीको जनवादलाई नयाँ ढंगले संश्लेषण गरेकै कारण पार्टी एकता सम्भव भएको बताए ।
प्रचण्डले भने, ‘आज हामी कमरेड मदन भण्डारीलाई सम्मान गर्न उपस्थित भएका छौं । हामीले कमरेड मदनले जे–जे भन्नुभयो त्यही दोहोर्याउने हो कि, उहाँले विकास गरेका विचारमा टेकेर अझ अगाडि जाने ? मदनको विचारलाई अझ परिमार्जन र विकसित गर्ने हो । पुराना कुरा दोहोर्याएरमात्र बसिरहनु भएन ।’
अध्यक्ष प्रचण्डले मदन भण्डारीले जस्तै परिस्थितिको विश्लेषण सही ढंगले गरेर नयाँ बिचार प्रयोग गरेकै कारण पार्टी एकता सम्भव भएको बताए । ‘विचारलाई जड मानेर मदन भण्डारी बस्नुभएन, अहिलेको हाम्रो नेतृत्वले पनि मदनकै अनुशरण गरेकाले मात्र एकता सम्भव भएको हो’, उनले भने ।
प्रचण्डले एमालेको तत्कालीन नवौं महाधिवेशनले समाजवाद भने पनि ततत्कालीन माओवादीले पनि समाजवादमा जाने भने पनि अहिले नै समाजवाद स्थापना भइहाल्ने स्थिति बनिनसकेको बताए । उनले समाजवाद नेकपाको रणनीति भए पनि तत्कालको कार्यक्रम जनताको जनवाद नै रहेको बताए ।
उनले भने–जनताको जनवाद तत्कालको लागि हो । हामीले समाजवादलाई रणनीतिक रुपमा लिपिवद्ध गरेका छौं । हामी यही वैचारिक धरातलमा छौं । महाधिवेशनसम्म पुग्दा विश्व कम्युनिस्ट आन्दोलनका सबै अनुभवको आधारमा महान विवाद र महान बहसको बीचबाट सबैको मेहनतबाट नयाँ विचार आउँछ ।
आफू र केपी ओलीले पार्टी एकताको हस्ताक्षर गर्दा नै पार्टीको विचारलाई परिमार्जन र विकसित गर्ने भनेकाले पुराना कुरा दोहोर्याउन आवश्यक नरहेको प्रचण्डले बताए । उनले अहिलेसम्म मदन भण्डारीलगायतका अग्रजले गरेका योगदानको आधारबाटै नयाँ विचार बन्ने बताए ।
प्रतिक्रिया 4