३ जेठ, चितवन । आज जेठ ३ गते । तत्कालीन एमालेका महासचिव रहेका मदनकुमार भण्डारी र जीवराज आश्रितको ०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।
जेठ ३ गते बिहान करिब पौने ५ बजे दासढुंगाबाट त्रिशुली नदीमा जीप खस्दा भोलिपल्ट जीपभित्रै जीवराज आश्रितको शव भेटिएको थियो । मदन भण्डारीको शव करीव ३२ किलोमिटर तल पश्चिम चितवनको गाँजीपुरमा भेटिएको थियो ।
मदन भण्डारीका शव भेट्टाउने ४ जना युवामध्ये दुईजना श्यामबहादुर थापा मगर साउदी अरबमा र टेकबहादुर आले मलेसियामा बैदेशिक रोजगारीका लागि गएका छन् । हेमबहादुर थापामगर र श्याम ठकुरी भने नेपालमै छन् ।
गाँजीपुरका यी युवा सधैं माछा मार्न भनेर नारायणीमा जाने गर्थे । भर्खरै १५/१६ बर्षका यी युवाहरुको दैनिकी हुन्थ्यो माछा मार्ने । नदीमा माछा मारेर नै उनीहरुले जीविका चलाउँदै आएका थिए ।
डुंगा लिएर माछा मार्न जाने यी युवाहरु सधैं जस्तै जेठ ४ गते विहान पनि माछा मार्न निस्किए । त्यसको नेतृत्व हेमबहादुरले गर्थे । जेठको चर्को घाममा नारायणीमा माछा पनि मार्ने, पौडी पनि खेल्ने उनीहरुको योजना हुन्थ्यो । बिहान करीव ११ बजेतिर माछा मार्ने भन्दै उनीहरु नारायणीमा गए । त्यतिबेला नारायणीमा निकै माछा पाइन्थ्यो । हिजोआज माछा कम पाइन्छन् । पाइए पनि निकुञ्जले मार्न दिँदैन ।
छप्की जाल लिएर माछा मार्न हिँडेका ४ युवाहरु मध्येका हेमबहादुरले नदीको एक भंगालोमा दुई चट्टानको बीचमा एउटा मुढाजस्तो देखिने वस्तु तैरिरहेको देखे । उनले साथीहरुलाई लास देखेको खबर गरे । हेमबहादुरले आफ्ना साथीहरुलाई देखाउँदै भने, ‘केटाहरु उ त्यो लास हो कि मुढा हो ?’ त्यसपछि सबै जना त्यतै लागे ।
नजिक गएपछि थाहा भयो, लास नै रहेछ । हेमबहादुर अगाडि सरे । लासको नजिकै पुगे । घोप्टो अवस्थामा लास अड्किएर बसिरहेको थियो । उनीहरुलाई त्यो मदन भण्डारीको शव हो भन्ने पत्तो भएन । न त उनीहरुलाई कोही मान्छे वेपत्ता भएको छ भन्ने नै जानकारी थियो ।
पानीमाथिको सतहभन्दा आधा फिटमा लास डुबेको थियो । लास सडेको थिएन, फ्रेस थियो । हेमबहादुर र उनका साथीहरुले नजिकै भएको बाँसको घारोको सहयोगमा लासलाई नदी किनारमा निकाले । ओल्टाई पोल्टाई हेरे ।
आँखाको नानीको माथिल्लो भागमा हल्का चोट लागेको थियो । अन्य ठाउँमा चोट थिएन । ‘लास हेर्दा लाग्थ्यो, भरखरै उठेर बोल्छ जस्तो’ अनलाइनखबरसँग विगत २६ बर्ष पुरानो स्मृतिलाई ताजा गराउँदै हेमबहादुरले भने, ‘शरीरमा खैरो रङको लामो बाउले सर्ट थियो, सर्टका टाँक पनि सग्लै थिए, पेन्टी मात्रै थियो, पाइण्ट भने थिएन । दुवै खुट्टामा मोजा थिए । घुँडामा हल्का काटेको रगत बग्ला जस्तो ! कालोकालो अनुहार । रगत बग्ला जस्तो । आँखाको माथिल्लो भाग परेला नजिक रातो थियो । ’
त्यति नै बेला चितवन राष्ट्रिय निकुञ्जको गस्तीमा खटिएका चारजना नेपाली सेना आइपुगे । उनीहरूले पनि लास हेरे । सेनाहरुलाई मदन भण्डारीको मृत्युबारे थाहा रहेछ ।
हेरेपछि सेनाहरुले यो त कालो अनुहारको छ भन्दै कुनै भारतीय नागरिक हुन सक्ने बताए । लासलाई बगाउन खोजे । तर, हेमबहादुरहरुले बगाउन दिएनन् ।
त्यसदिन साँझ पर्न थाल्यो । लासलाई त्यहीँ छाडेर हेमबहादुर र उनका अन्य तीनजना साथीहरु घर फर्किए ।
घरमा पुगेर हेमबहादुरले आफ्ना बाजेलाई लास भेट्टाएको बारे जानकारी गराए । बाजेलाई थाहा रहेछ, मदन भण्डारी नारायणीमा हराएको भन्ने । बाजेले भने ‘शायद मदन भण्डारीको लाश होला ।’ पुलिसलाई खबर गर्न भने बाजेले । तर, पुलिसलाई खबर गर्ने आँट नगरेको हेमबहादुरले अनलाइनखबरलाई बताए ।
जेठ ५ गते हेमबहादुर कुलो खन्दै थिए । गाँजीपुरमा एक हुल मानिसहरु दासढुङ्गाबाट एउटा टोली पौडी खेल्न जान्ने मान्छे को होला भन्दै खोज्दै आए । टोलीसँग हेमबहादुरका बुवाको भेट भएछ । हेमबहादुर बुबाले आफ्नो छोराहरुले नारायणी नदी किनारमा लास भेट्टाएको टोलीलाई जानकारी दिए । त्यसपछि अरु मानिसहरु पनि आउन थाले । लगत्तै त्यही टोलीसँग काठे डुङ्गा लिएर हेमबहादुर लास भएको ठाउँतिर लागे ।
नभन्दै त्यो लास जननेता मदन भण्डारीको रहेछ । डुंगामा लास हालेर वारि ल्याइयो । जुन ठाउँमा अहिले मदन भण्डारी स्मृति पार्क बनिरहेको छ, त्यहीँ नै ल्याएर लास राखियो । फर्केर आउँदा मान्छे चौरमा अटाएका थिएनन् । त्यहाँ ठूलो मेला लागेको जस्तो भीड लाग्यो । अनि पत्रकारहरुले हेमबहादुर र उनका साथीहरुलाई सोधी खोजी गर्न लागे । जिल्ला प्रशासनबाट आएका कर्मचारीहरुले पनि सोधे । धेरै दिनसम्म हेमबहादुर र उनका अरु तीन जना साथीलाई घटनाबारे मान्छेहरुले सोधिरहे ।
ठूलो मान्छेको लास भेटेकोमा आफूलाई भाग्यमानी र अभागी दुबै ठान्छन् हेमबहादुर । अहिले पनि त्यो घटनाक्रम हेमबहादुरका आँखै अगाडि घुमिरहन्छ ।
अठार वर्षको हुँदा लास भेटाएका हेमबहादुर अहिले ४३÷४४ वर्ष पुगेका छन् । त्यति ठूलो नेताको लास भेटाउँदा त्यतिबेला सरकारले नेपाली सेनामा जागिर दिन्छ कि भन्ने आश लागेको थियो । त्यस समयमा सिपाहीको लास भेटाउने मान्छेले नेपाली सेनामा जागिर खान पाउँथे ।
हेमबहादुरले कुरा पनि चलाए, तर जागिर पाएनन् । त्यसपछि अरबतिर लागे । बैदेशिक रोजगारीका लागि भन्दै साउदी अरबमा १२ बर्ष काम गरेर उनी स्वदेश फर्किए । अहिले विदेशबाट फर्किएको ११ वर्ष भयो । उनले एउटा ट्रयाक्टर किनेका छन् । आर्थिक अवस्था कमजोर छ । त्यही ट्याक्टर चलाएर उनले आफ्नो परिवार धानेका छन् ।
आफूले देशमा जागिर माग्दा नपाएको र उमेरसमेत ढल्किन थालेको बताउँदै हेमबहादुरले भने ‘मैले अब के नै मागौं र ? मेरा छोराछोरीलाई अवसर दिए हुन्थ्यो भन्ने लाग्छ ।’
हेमबहादुर गाँजीपुरमा नै रहेको मदन भण्डारी स्मृति पार्कको सदस्य पनि छन् । त्यही सिलसिलामा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पार्ककै विकासको योजनासहित डेलिगेशनमा उनी काठमाण्डौं पनि पुगे । उनलाई अरुले मदन भण्डारीको लास भेट्टाउने उहाँ नै हो भनेर चिनाइदिए । राष्ट्रपतिले हेरिन् मात्रै, केही जवाफ फर्काइनन् ।
हेमबहादुर विदेश रहेका बेलामा नै पार्टीले उनका नाममा एउटा प्रशंसापत्र दिएको थियो । त्यसलाई उनले निकै जतन गरेर हिफाजतपूर्ण तरिकाले राखेका छन् । हेमबहादुरको इच्छा छ, सरकारले गाँजीपुरको विकासमा ठोस काम गरोस् ।
मदन भण्डारीको शव ल्याएर जहाँ सुताइयो, त्यही ठाँउमा पार्क छ । त्यही पार्कलाई लगानी गरेर मदन भण्डारीको स्मृतिलाई चिरस्थायी बनाउने काम सरकारबाट होस् भन्ने चाहान्छन् हेमबहादुर ।
गाँजीपुरमा मदन भण्डारीको अर्धकदको शालिक राख्ने भनेर शिलान्यास पनि भयो । तर, अहिलेसम्म शालिक राख्ने ठाँउ नबन्दा शालिकलाई स्मृति पार्कका अध्यक्ष गौरस तामाङको घरमा रातो र सेतो कपडाले बेरेर काठले छोपेर राखिएको छ । मदन भण्डारीको शालिक यसरी राख्दा आफूलाई दुःख लागेको हेमबहादुर बताउँछन् ।
‘अहिले नेकपाकै सरकार छ, राष्ट्रपति स्वयं मदन भण्डारीकै श्रीमती विद्यादेवी भण्डारी हुनुहुन्छ’ हेमबहादुरले भने, ‘अब यतिबेला उहाँहरुलाई यो क्षेत्रको विकास गर्न कसैले रोक्न र छेक्न सक्दैन, न त अरुलाई दोष लगाउने ठाँउ नै छ ।’
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4