Comments Add Comment

‘लुम्बिनीमा २० लाख पर्यटक भित्र्याउँछौं’

प्रदेश ५ सरकारले २०७६ साललाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउँदैछ । भ्रमण वर्ष कार्यकारी समितिको अध्यक्ष रहेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी सरकारले यसलाई गौरवको कार्यक्रम मानेको बताउँछन् । गत फागुनदेखि प्रचार–प्रसार सुरु भएको लुम्बिनी भ्रमण वर्षको औपचारिक उद्घाटन २५६३औं बुद्ध जयन्तीका अवसरमा जेठ ४ गते हुँदैछ ।

मन्त्री गिरीसंग भ्रमण वर्षका विविध पक्षमा बुटवलस्थित अनलाइनखबरकर्मी टोपराज शर्माले गरेको कुराकानी :

लुम्बिनी भ्रमण वर्ष के उद्देश्यका लागि आयोजना गरिएको हो ?

‘समृद्ध प्रदेश खुसी जनता’ प्रदेश ५ सरकारको नारा छ । यो नारालाई मूर्त रुप दिन पर्यटन उद्योगलाई आर्थिक समृद्धि र दिगो विकाससँग जोड्ने नीति प्रदेश सरकारले लिएको छ । यही नीति अनुरुप पर्यटनको विकास र प्रवर्द्धनका लागि २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउने निर्णय भएकोे हो ।

खासमा लुम्बिनीलाई केन्द्रमा राखेर यस क्षेत्रको समग्र पर्यटन विकास गर्नेमा केन्द्रित छौं । समृद्धिको दीर्घकालीन बलियो आधारका रुपमा हामीले पर्यटनलाई लिएका हौं । प्रदेश ५ पर्यटनको हिसावले अत्यन्तै सम्भावनायुक्त प्रदेश हो । गौतम वुद्वको जन्मस्थल लुम्बिनी यहीँ छ ।

चार प्रमुख बौद्ध गन्तब्यस्थलमध्ये सबैभन्दा महत्वपूर्ण हुनुका कारण विश्वभरिका डेढ अर्ब वौद्धमार्गीको लागि लुम्बिनी आकर्षक छ । ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक हिसाबले पनि यो स्थान उत्तिकै महत्वपूर्ण छ ।

दुनियाँभरिका बुद्धमार्गीहरूलाई लुम्बिनी र नेपालको भ्रमणमा आकर्षित गर्न सकिन्छ भनेर प्रदेश सरकारले लुम्बिनी भ्रमणवर्ष मनाउन लागेको छ । यसको सफल कार्यान्वयनबाट यो प्रदेशको मात्र नभई देशकै पर्यटन उद्योगमा नयाँ अवसर सिर्जना हुने विश्वास छ ।

अहिले आन्तरिक र वाह्य गरी वार्षिक करिब १५ लाख पर्यटक लुम्बिनी आउने गरेका छन् । भ्रमण वर्षमा यो सख्या २० लाख पुर्‍याउँछौं ।

लुम्बिनी संघीय सरकार मातहत छ तर, भ्रमण वर्ष प्रदेश सरकारले आयोजना गरेको छ । कार्यक्रम कार्यान्वयनमा समस्या आउँदैन ?

लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन प्रवर्द्धन गर्ने कुरामा समस्या आउँदैन । यो हानथाप वा प्रतिस्पर्धाको कुरा होइन । बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने पवित्र उद्देश्य लिएर काम गरिरहेका छौं । यसमा सबैले सहकार्य हुन्छ ।

संघीय सरकारको समन्वयमा यहाँका स्थानीय तहलाई समेटेर काम गरिरहेका छौं । यहाँका नीजि क्षेत्र, सामाजिक संघ–संस्था, नागरिक, सञ्चारकर्मी सबैसंग प्रदेश सरकारले सहकार्य गरिरहेको छ ।

भ्रमण वर्षमा के कस्ता कार्यक्रमहरु हुन्छ ? विदेशमा पनि कार्यक्रम हुन्छन् ?

लुम्बिनी भ्रमण वर्षको सीमा लुम्बिनी क्षेत्रमात्र होइन । सिद्धार्थ गौतम बुद्ध भन्दा अगाडि जन्मिएका क्रकुच्छन्द र कनकमणि बुद्ध कपिलवस्तुको गोटीहवा र अरौराकोटमा जन्मेका हुन् ।

त्यसो हुनाले लुम्विनी क्षेत्र बुद्ध जन्मस्थल मात्र होइन, बौद्ध दर्शन र शान्तिको उद्गमस्थल समेत हो । वौद्ध संस्कृति र सभ्यताको हिसाबले कपिलवस्तु खुला संग्रहालय नै हो ।

त्यसबाहेक बुद्धको मावली देवदह, कोलीय सभ्यताको केन्द्र रामग्राम, सैनामैना लगायत बुद्ध परिपथसँग सम्बन्धित दर्जनौं स्थल पर्यटकीय दृष्टिले आकर्षणका केन्द्र हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मात्र कम्बोडिया र भियतनाममा विश्व समुदायलाई लुम्बिनी भ्रमणको निम्तो दिइसक्नु भएको छ । सम्माननीय प्रधानमन्त्रीले नै संघदान, भिक्षादान, वृक्षारोपण गर्ने कार्यक्रम राखिएको छ । हामीले देशका सबै प्रदेश पुगेर निम्तो गरेका छौं ।

लुम्बिनी भ्रमण वर्षको बजेट कति हो र कसरी खर्च हुँदैछ ?

एक वर्षे कार्यक्रमका लागि कुल चार करोड १९ लाख ६० हजार बजेट विनियोजन भएको छ । भ्रमण वर्षको लोगो, ब्रोसर र होर्डिङ बोर्डदेखि विशाल राष्ट्रिय झण्डा उठाउने, सबै खाले समारोह गर्ने र सडक प्रदर्शनीसम्मका गतिविधि यही बजेटभित्रबाट हुन्छ ।

उदघाटनमा ७० लाख र समापन समारोहमै १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ । बुद्ध जयन्तीकै दिन परेकाले उद्घाटन समारोहका लुम्बिनी विकास कोषले पनि ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

बजेटबाट फजुल र अनुत्पादक खर्च हुने भयो भनेर टिकाटिप्पणी हुन थालेका छन् नि ?

अत्यावश्यक खर्च मात्र भएको छ र हुनेछ । खर्चका लागि कार्यविधि र मापदण्ड छ । कुरा नबुझेर टिकाटिप्पणी भएको हुनसक्छ । सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, माननीय मन्त्रीहरु, मुख्यमन्त्री, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सभाका सदस्यहरु, विदेशी पाहुनाहरुलाई लुम्बिनीमा निम्ता गरेर भव्य कार्यक्रम गर्दैछौं, यो चानचुने विषय होइन ।

स्थानीयलाई कसरी सहभागी गराउँदै हुनुहुन्छ ?

पर्यटन प्रवद्र्धनका लागि हुने कार्यक्रममा स्थानीय समुदायको सहभागीता अनिवार्य हुन्छ । सबैसँग समन्वय र सहकार्य भइरहेको छ । यहाँका सबैले अपनत्व महसुस गर्ने गरी कार्यक्रम गर्दैछौं । स्थानीय तहका जनप्रतिनिधिहरु विभिन्न जिम्मेवारीमा हुनुहुन्छ । उहाँहरुसँग सहकार्यमै कार्यक्रमहरु अगाडि बढेका छन् ।

लुम्बिनी भ्रमण वर्ष मनाइरहँदा बुद्ध सर्किटबारे के कस्ता योजना र कार्यक्रमहरु छन् ?

बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर बुद्ध हुर्केको कपिलवस्तुको तिलौराकोट, मावली तथा ससुराली रुपन्देहीको देवदह, अस्तुधातु रहेको नवलपरासीको रामग्राम लगायतका वौद्वस्थललाई जोडेर पर्यटन विकास गर्ने हो । लुम्बिनी आउने पर्यटकलाई साइटहरुसम्म लैजाने, घुमाउने, चिनाउने र त्यसमार्फत आय आर्जन बढाउने कार्यक्रमहरु हुन्छ ।

विश्व सम्पदा सूचीमा रहेको लुम्बिनी उद्योगहरुका कारण प्रदूषणको चपेटामा छ । यसबारे प्रदेश सरकारले के सोचेको छ ?

प्रदूषण हटाउने मात्रै होइन, उद्योगहरु स्थानान्तरण गर्नेसम्मका विषयमा योजना बनाउँदैछौं । पहिलेका कतिपय नीतिगत अस्पष्टता र अलमलहरु हटाउँदै संवैधानिक सीमामा रहेर कानूनहरु बनाउने काम भएको छ । कतिपय कानूनहरु बनिरहेका र बन्ने क्रममा पनि छन् ।

लुम्बिनी गुरुयोजना अझै पनि पूरा हुन सकेको छैन, यसबारे प्रदेश सरकारको धारणा के हो ?

जापानी प्रोफेसर केञ्जो टाँगेले सन् १९७८ मा बनाउनुभएको लुम्बिनी गुरुयोजना झण्डै चार दशकमा पनि पूरा हुन नसक्नु विडम्बना हो । लुम्बिनीलाई विश्व शान्ति शहरका रुपमा विकास गर्ने, वृहत लुम्बिनी बनाउने जस्ता कैयौं महत्वपूर्ण विषयहरु पनि जोडिएर आएका छन् । हिंजो जे–जे कारणले ढिलाई भयो, भइसक्यो । अब हामी अलमल गर्दैनौं ।

लुम्बिनीमा पर्यटकको बसाई लम्ब्याउन के योजना छ ?

लुम्बिनी क्षेत्रमा आउने पर्यटकको संख्या गनेर मात्र लाभ हुँदैन । बसाई लम्ब्याउन हामीले टूर इभेन्टको प्रवद्र्धन गर्न विशेष कार्यक्रम ल्याएका छौं । यसअन्तगर्त ‘फूलमून डे’ को दिन रातैभरी त्यहाँ जागा बसेर प्रार्थना गर्ने, मायादेवी प्रसुति उत्सव, सुजाता खीर उत्सव जस्ता कार्यक्रमहरु राखिएका छन् ।

सुरु भइसकेका कार्यक्रमहरु हरेक वर्ष विस्तार गरेर बुद्धसँग सम्बन्धित सबै क्षेत्रमा पुर्‍याउने योजना छ । यसो गर्दा यहाँका सांस्कृतिक झाँकीहरु, रहनसहन र संस्कृतिलाई उजागार गर्दै पर्यटन प्रवद्र्धन हुन्छ । यसबाट पर्यटकको बसाई स्वतः लम्बिने छ ।

भैरहवाको गौतमबुद्ध विमानस्थल विस्तार भइसकेपछि र यहाँका सडकहरु चौडा भएपछि पर्यटकलाई सहज हुनेछ । हामीले टुरिष्ट गाइड उत्पादनदेखि होमस्टे सञ्चालनसम्मका कामलाई प्राथमिकतामा राखेका छौं । यी काम पूरा भएपछि लुम्बिनी क्षेत्रमा पर्यटकको आकर्षण बढ्ने र बसाई लम्बिने अपेक्षा गरेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment