Comments Add Comment

बारपाक जोड्ने सडक कालोपत्रेमा ठेकदारको चरम लापरवाही

३ जेठ, गोरखा । ठेकदारको लापरवाहीले गोरखाको बारपाक जोड्ने सडक कालोपत्रेको काम अलपत्र परेको छ ।

आउँदो असार मसान्तसम्म कालोपत्रे सक्ने गरी ठेक्का सम्झौता भएकामा हालसम्म ६० प्रतिशत काम मात्र सकिएको छ । ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयका प्रमुख रवीन्द्रलाल दासका अनुसार ४६ किलोमिटरमध्ये १२ किमीमात्र कालोपत्रे भएको छ ।

‘चाँडै काम सक्ने भनेर चार प्याकेजमा ठेक्का लगाएका हौँ,’ उनले भने, ‘तर ठेकदारले काममा आलटाल गरिरहेको छ ।’ ठेक्का पाएकामध्ये दुईवटा निर्माण कम्पनीको म्याद सकिसकेको छ । उक्त सडकखण्डको ८ देखि १७ किमी कालोपत्रे गर्ने जिम्मा पाएको नागर्जुन त्रिशुली जेभीको एक बर्षअघि नै सम्झौता सकिएको कार्यालय प्रमुख दासले बताए ।

तर उक्त निर्माण कम्पनी कार्यालयको सम्पर्कमासमेत छैन । ‘काम छाडेर वेपत्ता भएपछि तीन दिनभित्र सम्पर्कमा आउन भनेर पत्र पठाएका थियौ,’ कार्यालय प्रमुख दासले भने, ‘सम्पर्कमा आएर काम शुरु गर्छु भनेको थियो अहिले फेरि सम्पर्कविहीन छ ।’

आठ करोडमा ठेक्का लिएको उक्त निर्माण कम्पनीले सम्पन्न गरेको कामको सबै भुक्तानी लगिसकेको छ । अब सम्पर्कमा नआए कालोसूचीमा राख्ने कार्यालय प्रमुख दासले चेतावनी दिए ।

१७ देखि २२ किमी कालोपत्रेको जिम्मा पाएको कन्काइ गोरखा जेभीले ७० प्रतिशत काम सकेको छ । आठ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको उक्त कम्पनीको यही असार मसान्तसम्म म्याद रहेको कार्यालयका इन्जिनियर राजेशकुमार यादवले बताए ।

२२ देखि ३० किमी कालोपत्रेको जिम्मा पाएको लोहनी एण्ड व्रर्दशले ५० प्रतिशत काम सकेको छ ।

लामो सयमसम्म सम्पर्कविहीन रहेका ठेकदारले आइतबारदेखि काममा आउने आश्वासन दिएको कार्यालयले जनाएको छ । ‘काम गर्न आए जरिवाना गरेर म्याद थप गर्छौ, आएन भने कारवाही अगाडि बढाउछौं,’ यादवले भने । उक्त कम्पनीसँग करिव ९ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

३० देखि ४६ किमी कालोपत्रेको ठेक्का पाएको सूर्य कन्स्ट्रक्सनको कामको प्रगति ६० प्रतिशत मात्रै छ । ३३ करोडमा ठेक्का लिएको कन्स्ट्रक्सनको ठेक्का अवधि गत चैत्रमा सकिएको हो । काम भइरहे पनि हाल म्याद थप नभएको कार्यालयले जनाएको छ ।

ठेकदारले कार्यालयको निर्देशनलाई समेत अटेर गर्दै आएका छन् । तर आयोजना कार्यालयले भने यो वर्ष थप १२ किलोमिटर कालोपत्रे हुने बताएको छ । अर्को आर्थिक बर्षभित्र कालोपत्रेको काम सकिने कार्यालष्को दावी छ । बाह्रकिलो बारपाक सडकको पहिलो खण्ड ५ किलोमिटर पाँच बर्ष अघि नै कालोपत्रे भएको हो । तर कालोपत्रे उप्किएर अहिले सडक जीर्ण बनेको छ । दुई करोड ५० लाख रुपैयाँमा मर्मत सम्भार गर्ने कार्यालयको तयारी छ ।

‘ठेक्का लागिसक्यो अव सम्झौता गरेर काम शुरु गर्नमात्र बाँकी छ,’ इन्जिनियर यादवले भने । बाह्रकिलो बारपाक सडकको ५ देखि ८ किमी मध्यपहाडी लोकमार्गमा पर्ने भएकाले स्तरोन्नती मात्र गर्ने तयारी भएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment