Comments Add Comment

मनाङ : प्राकृतिक सुन्दरता र संस्कृतिको अनुपम छटा

मनाङ भन्नेवित्तिकै तपाईंको दिमागमा के आउँछ ? प्राकृतिक सुन्दरता ! अवश्य पनि मनाङको प्राकृतिक सुन्दरता अवर्णनीय छ । तर, हिमाली जिल्लाको पहिचान यसमा मात्रै सिमित छैन ।

अन्नपुर्ण शृंखलाको उत्तरी काखमा रहेको मनाङमा प्रकृति र संस्कृतिको कलात्मक सम्मिश्रण देख्न पाइन्छ । अग्ला सुन्दर हिमालहरु, गड्गडाएर बग्ने नदी, शान्त ताल, हरिया वनपाखा, विभिन्न प्रजातिका फूलहरु, लोपोन्मुख जनावरहरु, हजारौं वर्ष पुराना गुम्बाहरु र यिनै परिवेशमा छुट्टै पहिचान बनाएर बसेका मनाङेहरु यहाँका पहिचान हुन् । मेथापर्व अर्थात तीर हान्ने पर्वको रमणीय माहोल, चिसो मौसम र बौद्ध धर्मको आत्मिक भावनाले यस भेगलाई थप मौलिकता प्रदान गरेको छ ।

मनाङ जिल्लाको सदरमुकाम चामे सबै किसिमका यात्रु र पर्यटकहरुको लागि सुविधासम्पन्न ठाउँ । चामेबाट उकालो लागेपछि ३ हजार मिटरभन्दा माथिको उचाई पुग्न थालिन्छ । यसै क्रममा करिब ३२०० मिटर उचाईमा अवस्थित ढिकुरपोखरी भन्ने ठाउँमा बास बस्न सकिन्छ । ढिकुरपोखरीबाट तल्लो पिसांग हुँदै हुम्दे पुगिन्छ ।

हुम्देमा मनाङको पुरानो विमानस्थलको संरचना अझै बाँकि छ । हुम्देबाट केहीबेरमै पुगिन्छ प्रमुख गन्तव्य मनाङ ।

मनाङ जिल्ला समुन्द्री सतहबाट करिब २००० मिटरदेखि ८००० मिटरसम्म फैलिएको छ । जिल्लामा करिब ३५०० मिटर उचाईमा सानो सहर मनाङ पनि पर्छ । यो आफैंमा एउटा सुन्दर सहर हो । क्रमैसँग मिलेका साना-साना आकर्षक घरहरु, दक्षिणमा देखिने गङ्गापूर्ण हिमालको मनोरम दृश्य ।

दक्षिणबाट बहने मनसूनलाई अग्ला हिमालले छेकिदिंदा यहाँ पानी निकै कम पर्छ । बरु पानीको सट्टा हिउँ पर्छ । त्यसैले यहाँको भूभाग सुक्खा प्रकारको छ । मनाङका बासिन्दाहरु गुरुङ र तिबेतियन मुलका छन् । उनीहरुको आयआर्जनको श्रोत खेतीपाती र पर्यटन व्यवसाय हो । खेतमा फापर, आलु तथा विभिन्न सागसब्जी उत्पादन गर्छन् । सिजनको बेला भने उनीहरु स्याउ खेती पनि गर्छन् ।

अन्नपुर्ण सर्किट पदयात्रा गर्ने यात्रुहरुको लागि मनाङ सबैभन्दा महत्वपूर्ण ठाउँ हो । करिब ५००० मिटर उचाईमा पर्ने तिलिचो ताल, करिब ४६०० मिटर उचाईमा रहेको आइस लेक, करिब ५४०० मिटर उचाईमा पर्ने थोरंगला पास जानका लागि मनाङ केन्द्रबिन्दु हो । करिब ३५०० मिटरउचाईमा रहेको मनाङमा एक दिन बसेर यात्रुहरु उचाईसँग आफूलाई अभ्यस्त बनाउने गर्छन् ।

त्यसैले मनाङमा पर्यटन व्यवसाय पनि निकै फस्टाएको छ ।

निकै पुरानो गाउँ भएकाले मनाङमा भ्रमण गर्ने ठाउँहरु थुप्रै छन् । त्यसमध्ये प्रमुख हो तिलिचो ताल । गंगापूर्ण हिमालबाट हिमनदी बगेर बनेको यो ताल अत्यन्तै सुन्दर छ ।

यहाँको पानी निकै चिसो छ । मुख्य शहर मनाङबाट करिब २० मिनेट हिँडेपछि यो ताल पुगिन्छ । तालको आडैमा रहेको गंगापूर्ण हिमालको दृष्य केहीबेर हेरिरहन मन लाग्छ । गंगापूर्णबाट र्फकदा बाटोमा मस्र्याङ्दी नदी कलकल बगेको देख्न पाइन्छ । अनि ठुला फाँटहरुमा घोडा चढेर घुम्न पनि पाइन्छ ।

मनाङमा घोडाजस्तै चौरीगाइ, भेडा र च्यांग्रा पनि घरपालुवा जनावरका रुपमा पाल्ने गरिन्छ । मनाङमा विभिन्न लोपोन्मुख जनावरहरु पनि पाइन्छ । यी जनावरहरु मानिसहरुको बसोवास नभएको ठाउँहरुमा बस्ने गर्छन् ।

यहाँ धेरैजसा मानिसहरु बौद्धधर्म मान्ने गर्छन् । उनीहरु पुनर्जन्ममा बिश्वास गर्ने भएकाले उनीहरुले मान्ने धर्मलाई काक्यपा पनि भन्ने गरिन्छ । त्यसैले मनाङमा सयौं वर्ष पुराना गुम्बाहरु धेरै छन् । मनाङबाट करिब ४५ मिनटको यात्रापछि ब्रागा नामक गाउँ पुगिन्छ । त्यहाँ करिब ६०० वर्ष पुरानो एउटा गुम्बा छ । यो गुम्बा प्राचिनकालदेखि नै निकै महत्वपुर्ण मानिन्छ । बौद्ध धर्मावलम्बी विभिन्न चाडपर्व मनाउन यस गुम्बामा आउने गर्छन् ।

तस्वीरः विजय मगर/केशव दुलाल/सुदन बुढाथोकी र सौरभ लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment