Comments Add Comment

ट्राफिक नियम उल्लंघन गर्नुभयो ? बग्गीखानाबाट फोन आउँछ

४ जेठ, काठमाडौं । लैनचौरका आकाश पुडासैनीलाई १६ वैशाखमा महानगरीय ट्राफिक प्रहरी महाशखाबाट फोन आयो, ‘तपाईंले ट्राफिक नियम उल्लंघन गर्नु भएकाले बग्गीखानामा खानामा तुरुन्त आउनू ।’

सुरुमा त उनलाई फोनकर्ता ट्राफिक प्रहरी हो भन्नेमा शंका लाग्यो । ट्रू कलर एपले बग्गीखानाको नम्बर भएको देखाएपछि मोटरसाइकलमा हुइँकिने पुडासैनीले जवाफ फर्काए, मैले लेन मिचेको छैन ।’

फोन गर्ने ट्राफिक प्रहरीले प्रमाण हेर्न बग्गीखाना आउन निम्ता दिए । फोन राखेपछि उनी फ्ल्यासब्याकमा गए, कुन दिन कहाँ लेन अनुशासन उल्लंघन गरेछु । उनले कुनै दिन हतारमा लेन मिचेको हुनसक्ने अनुमान त गरे तर, कहाँ भन्ने ठम्याउन सकेनन् ।

त्यसपछि  बग्गीखाना पुगेका उनलाई ट्राफिक प्रहरीले भद्रकालीमा लेन अनुशासन उल्लंघन सीसीटीभी फुजेट देखाए । उनले आफ्नो गल्ती स्वीकार गरे र लेन अनुशासनको एक घण्टे कक्षा लिएर फर्किए ।

पुडासैनी मात्र होइन, उनी जस्तै १६५ जनाले वैशाखमा मात्र मात्र यस्तै फोन रिसिभ गरेका छन् । सीसीटीभी फुटेज हेरेपछि आफ्नो गल्ती स्वीकार गरेका छन् र ट्राफिकको कारबाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई सीसीटीभीबाट निगरानी गर्ने र बोलाएर कारबाही गर्न थालेको छ । महाशाखाका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षा (एसएसपी) बसन्त पन्त ट्राफिक प्रहरी नभएको स्थानमा नियम मिच्ने प्रवृत्ति बढेपछि सीसीटीभीबाट निगरानी सुरु भएको बताउँछन् ।

महाशाखाले सीसीटिभी शाखा बनाएको छ, जसले सडकहरुमा गुडिरहेका सवारीले नियम पालना गरे/नगरेको हेर्छ । नियम मिचेको देख्नासाथै सम्बन्धित क्षत्रेका ट्राफिक प्रहरीलाई यसबारे जानकारी दिन्छ ।

त्यहाँ खटिएका ट्राफिकले नियन्त्रणमा लिन नसकेका तथा नभ्याएका सवारीको नम्बर नोट गरिन्छ । सवारीको विस्तृत जानकारी यातायात कार्यालयसँग मागिन्छ । यातायातबाट प्राप्त विवरणका आधारमा महाशाखाले सवारी धनीलाई फोन गरेर हाशाखा बोलाइन्छ  ।

‘बोलाउँदा पनि नआए हामी फेरि फलो गर्छौं,’ पन्तले भने, ‘अझ अटेरी गरे पत्र नै काट्छौं ।’ तीनपटकसम्म अनुरोध गर्दा वेवास्ता गरेर सवारी साधन नै नियन्त्रणमा लिएर जरिवाना गर्ने गरिएको छ  ।

‘विगतमा ठक्कर दिएर र दुर्घटना गराएर भाग्ने सवारीका हकमा हामीले सीसीटिभीबाट निगरानी गर्ने गरेकै थियौं,’ एसएसपी पन्तले भन्छन्, ‘अहिले भने हामीले सवारी नियम मिच्ने सवारीको निगरानी गरेका छौं । हामीले अन द स्पट फेला नपारेपनि सीसीटीभी फूटेजका आधारमा बोलाएर कारवाही गर्छौं ।’

वैशाख महिनामा मात्रै ट्राफिक प्रहरीले १६५ जना चालकलाई यसैगरी जरिवाना गराएको छ ।

सीसीटीभी निगरानीका आधारमा सडकमै कारबाहीमा पर्नेको संख्या ९९४ छ । यसले गर्दा ट्राफिक प्रहरी नदेख्नासाथै नियम मिचेर अघि बढ्ने प्रवृति निरुत्साहित हुने विश्वास ट्राफिक प्रहरी महाशाखाको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment