Comments Add Comment

अष्ट्रेलियाको प्रधानमन्त्रीमा मोरिसनको चमत्कारिक जित

५ जेठ, काठमाडौं । अष्ट्रेलियाको प्रधानमन्त्रीमा फेरि पनि स्कट मोरिसन निर्वाचित भएका छन् । कन्जरभेटिभ गठबन्धनलाई नै चुनेको भन्दै मोरिसनले मतदातालाई धन्यवाद दिएका छन् ।

अष्ट्रेलियाको लेबर पार्टीका नेता बिल शोर्टनले आफ्नो पार्टीको पराजयलाई स्वीकार गरेका छन् । उनले पार्टीको नेताको रुपमा आफूले पदबाट राजीनामा दिने घोषणा पनि गरेको बीबीसीले जनाएको छ ।

अष्ट्रेलियामा आम चुनावका लागि शनिबार मतदान भएको थियो । १.६४ करोड मतदाताले आफ्नो नेता चुन्न भोट हालेका थिए ।

चुनावको अन्तिम परिणाम आउन भने अझै बाँकी छ । तर ७० प्रतिशत मत गणना सकिँदा गठन्बन स्कट मोरिसनको जित पक्का भएको छ । बहुमतका लागि ७६ सिट आवश्यक पर्दछ । मोरिसन अझै ७४ सिटमा अगाडि छन् । यसैगरी लेबर पार्टी ६६ सिटमा अगाडि छ ।

यसलाई मोरिसनको चमात्कारित जित मानिएको छ । किनभने मत सर्वेक्षणहरुमा लिबरल-नेशनल गठबन्धन झण्डै बहुमत ल्याउने नतिजाहरु सार्वजनिक गरिएको थियो ।

विगतका जति पनि मत सर्वेक्षण गरिएको थियो, त्यसमा गठबन्धन लेबर पार्टीभन्दा पछाडि थियो । त्यसैले यस पटक लेबर पार्टीले नै सरकार बनाउने अनुमान धेरैको थियो ।

सिड्नीस्थित बीबीसी सम्वाददाता भन्छन्- मैले यस्तो एउटा व्यक्तिको खोजी गरिरहेको छु, जसले यस्तो परिणाम आउने विश्वास थियो भनोस् । तर, मैले त्यस्तो व्यक्ति एक जना पनि पाएको छैन ।

स्वयम् मोरिसनलाई पनि यस्तो नतिजा आउला भन्ने संसय थियो । आफ्नो जित सुनिश्चित भएपछि उनले मतदातालाई सम्बोधन गर्दै भनेका छन्- मलाई सधैं चमत्कारमा विश्वास थियो ।

यसैगरी लेबर पार्टीका नेता शोर्टेनले आफ्ना मतदातालाई सम्बोधन गर्दै भनेका छन्- लेबर पार्टी आगामी सरकार बनाउन सफल भएन ।

शोर्टेनले मोरिसनलाई फोन गरेर बधाई दिएको र अब आफू पार्टीको नेताको रुपमा चुनाव नलड्ने जानकारी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment