Comments Add Comment

‘कान्स फेस्टिभल’मा प्रियंका, भन्छिन्–‘मलाई नेपाल चिनाउनुछ’

विश्वका चर्चित सेलिब्रिटीहरु उपस्थित हुने ‘कान्स फिल्म फेस्टिभल–२०१९’मा  नेपालले पनि सहभागीता जनाउने भएको छ । ७२ बर्ष लामो इतिहास बोकेको विश्वकै ठूलो यो फेस्टिभलमा नायिका प्रियंका कार्कीले पहिलो नेपाली नायिकाको रुपमा सहभागीता जनाउँदै छिन् ।

यो फेस्टिभल मे १४ देखि फ्रान्सको राजधानी पेरिसमा जारी छ । मे २५ सम्म यो महोत्सव चल्नेछ । महोत्सवमा हलिउडकी नायिका सेलेना गोमेजदेखि बलिउडका नायिकाहरु प्रियंका चोपडा, दिपिका पादुकोण, कंगना रनावत, ऐश्वर्या राय, हुमा कुरेसी लगायतले सहभागीता जनाइरहेका छन् ।

पहिलो पटक विश्वकै ठूलो महोत्सवमा सहभागीता जनाउन लागेकी नायिका कार्की यो कुराले निकै नै खुशी छिन् । उनलाई अप्रिल महिनामा नै यो प्रस्ताव आइसकेको थियो । कार्कीले अनलाइनखबरसँग उत्साहित हुँदै भनिन्–‘मलाई कान्सको टिमबाट नै निमन्त्रणा आएको हो । यहाँ आफै प्रवेश पाइदैन । कान्सका सदस्य नै मलाई भेट्न आउनुभएको थियो । मेरो इन्स्टाग्रामको सक्रियता हेरेपछि उहाँहरुले मलाई निमन्त्रणा गर्नुभयो ।’

प्रियंकाले भनिन्–‘यो मेरा लागि मात्र होइन, नेपालकै लागि पनि महत्वपूर्ण छ । किनकी, त्यहाँ म कुनै नेपाली चलचित्रको शोमा मात्र उपस्थित हुन लागेकी होइनँ । म मे २० देखि मे २४ सम्म हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउनेछु ।’
प्रियंका आज बेलुकी फ्रान्स उड्दैछिन् । उनी भोली नै रेड कार्पेटमा उपस्थित हुनेछिन् । प्रियंकाले भनिन्–‘भोली त म रेड कार्पेटमा मात्र हिड्नेछु । यसपछि पिस नाइट नामक एउटा कार्यक्रम हुँदैछ । जसलाई माइकल ज्याक्सनको परिवारले स्थापना गरेको फाउन्डेशनले आयोजना गर्दैछ । यसमा आफ्नो देशको संकृती झल्कने पहिरनमा प्रस्तुति हुनेछ । म यो कार्यक्रममा नेपाली कल्चरलाई विश्वमाझ चिनाउने प्रयास गर्नेछु ।’

प्रियंकाले आफ्नो उपस्थिती ‘रोयल गाला डिनर’मा पनि हुने बताइन् । ‘यो सुन्दा सामान्य लाग्ला, तर यसमा विश्वका निकै नै चर्चित सेलिब्रिटीहरुलाई निमन्त्रणा गरिएको हुन्छ । बलिउडदेखि हलिउडका कलाकारसँग मेरो यो डिनर पार्टीमा भेट हुनेछ ।’

प्रियंकाले अहिलेसम्म पनि आफूलाई कान्समा जान लागेको महशुश नभएको बताइन् । उनले भनिन्–‘म अझै पनि यो कुराको महशुश गरिरहेकी छैनँ । सायद, पेरिसमा पुगेपछि मलाई बल्ल त्यो कुराले छुन्छ होला ।’ प्रियंकाका अनुसार, उनी अक्सिनज भिल्लामा बस्नेछिन् । यो प्राइभेट भिल्ला हो । जसमा, चर्चित सेलिब्रिटीलाई मात्र राखिन्छ ।

प्रियंकाले उत्साहित हुँदै भनिन्–‘मलाई विश्वास छ, मैले नेपाललाई विश्वमाझ चिनाउनेछु । साथमा, म नेपाल र नेपाली कल्चरको पनि राम्रो प्रचार त्यहाँ गर्नेछु । अहिले बलिउडका सामान्य कलाकार पनि कान्समा उपस्थित हुन थालिसकेका छन् । मैले ढोका खोलेकी हुँ । म त अब हरेक बर्ष यो फेस्टिभलमा सहभागी हुनेछु । अरु कलाकार पनि सहभागी हुने वातावरण बनाउनेछु भन्ने आशा लिएकी छु ।’

कान्समा कलाकारले लगाउने पहिरनको पनि महत्व विशेष हुन्छ । प्रियंकाले नेपालको संकृती झल्कने पहिरनदेखि आधुनिक पहिरन सम्म तयार पारेको बताइन् । उनले भनिन्–‘नेपाल पनि आधुनिक ड्रेसमा पछि छैन भन्ने खालको डिजाइन पनि मैले तयार पारेकी छु । साथमा, नेपालको संकृती झल्कने पहिरन पनि तयार छ ।’

नायिका कार्कीले आफू यो महोत्सवमा सहभागी हुन पाउँदा अत्यन्तै उत्साहित भएको बताइन् । गतबर्ष अन्जली लामाले यो फेस्टिभलमा सहभागीता जनाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment