+
+
Shares

खाने तेल, पानी र दूधको गुणस्तरमा समस्या

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ५ गते १६:२०

५ जेठ, वीरगञ्ज । खाने तेल, प्रशोधित पानी, दुध तथा दुग्ध जन्य पदार्थको स्वच्छता तथा गुणस्तरमा समस्या आउने गरेको पाइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा विभागका अधिकारीहरुले त्यस्तो जानकारी गराएका हुन् ।

विभागले ती वस्तुमा स्वच्छता तथा गुणस्तर अभिवृद्धिका सचेतना, अनुगमन, नियमनका लागि विशेष कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । शनिबार वीरगञ्जमा आयोजित कार्यक्रममा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत राजकुमार रिजालले खाने तेल, प्रशोधित पानी, दुध तथा दुग्धजन्य पदार्थको स्वच्छता र गुणस्तारमा बढी समस्या देखिएको बताए ।

‘खाने तेल, प्रशोधित पानी, दुध तथा दुग्धजन्य पदार्थमा जीवाणु भएको खण्डमा त्यसले उपभोक्तालाई हानी गर्छ । डायरिया, जन्डिस, टाइफाइडको संक्रमण हुन सक्छ’ उनले भने ।

त्यसैगरी महंगो तेलमा सस्तो तेल मिसाउने, तेलको गुणस्तर छिट्टै विग्रने, उद्योगमा अभिलेख नहुने, दुध गुणस्तीय नहुने, पिभीको समस्या, लेबलिङ र भ्रमपूर्ण विज्ञापन गर्ने जस्ता समस्या देखिएको बरिष्ठ खाद्य अधिकृत रिजालले बताए ।

पटक पटक भएका अध्ययन, अनुगमनले पानी, तेल, दुध तथा दुग्धजन्य बस्तुमा बढी समस्या देखिएकोलेसचेतनामुलक अभियानसँगसँगै अनुगमन र नियमनका कार्यहरु गरिरहेको विभागका महानिर्देशक सञ्जिव कुमार कर्णले बताए ।

‘ठेलामा उमालेको अण्डा होस वा स्टार होटलको खाना नै किन नहोस, खाँदा सुरक्षित वस्तु खाँए, यसले मेरो शरीरमा कुनै हानी गर्दैन भन्ने प्रत्याभूति उपभोक्तालाई होस भनेर हामी लागेका छौं’ उनले भने ।

उनले अघि भने ‘पहिलो चरणमा तेल, पानी, दुध र दुग्धजन्य पदार्थलाई फोकस गरेका छौं । त्यसो भन्दैमा अरु विषयलाई वेवास्ता गर्ने भन्ने होइन, पहिलो चरणमा जति बर्ष लागे पनि तेल, पानी र दुधलाई स्वच्छ बनाउँछौं भन्ने हो । त्यसका लागि सचेतना र नियमनको पाटोलाई सँगसँगै लगेका छौं ।’

उनले पटक पटक एउटै तेलमा विभिन्न बस्तु तार्दा र पत्रिकामा खानेकुरा राखेर खाँदा मानव शरीरलाई बढी हानी गर्ने भएकोले त्यसमा सचेत हुने आग्रह गरे ।

पानी, खाने तेल, दुध तथा दुग्धजन्य पदार्थ उत्पादन तथा प्रशोधन गर्ने उद्योगी व्यवसायीहरुले भने उत्पादन गर्दा स्तरीय वस्तु उत्पादन गर्ने गरेको भएपनि पसल, व्यवसायीले सुरक्षित तरिकाले नराखेको जिकिर गरे । उनीहरुले वीरगञ्जमा व्ययवस्थित र आधुनिक प्रविधि युक्त प्रयोगशाला ल्याब स्थापना हुनुपर्नेमा जोड दिएका थिए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले उद्योगबाट लिएको स्याम्पलमा त्रुटि देखिएमा मात्रै उद्योगीलाई कारबाही हुनुपर्नेमा जोड दिए । नेपाल डेरी एशोसिएसन प्रदेश २ का राजेश यादवले उद्योगमा भएको लगानीको संरक्षणको दायित्व राज्यको भएको बताए ।

वीरगञ्ज महानगरपालिकाका वरिष्ठ खाद्य अधिकृत विपिन कुमार लाल दासले उत्पादकले उपभोक्ता भएर सोच्दा स्वच्छता र गुणस्तरमा देखिएका अधिकांश समस्या समाधान हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?