Comments Add Comment

बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा

५ जेठ, काभ्रे । २५ सय वर्ष अगाडिदेखि काभ्रेको बनेपाका नेवार समुदायले मनाउँदै आएको चण्डेश्वरी जात्रामा अझै उल्लाहासमय बनेको छ ।

बनेपा साता गाउँमा हरेक वर्ष चण्डी पूणिर्मादेखि तीन दिनसम्म जात्रा मनाउने गरिन्छ । जात्राको पहिलो दिन विहान सबेरै मत पूजा (चिराग यात्रा) गरिन्छ ।

दोस्रो दिन बिहानसम्ममा सोही स्थानमा रहेको देवी सहितको खटलाई विधिपूर्वक पूजाआजा सकेर पुनः खटलाई बनेपाको वकुटोलतर्फ ल्याउने गरिन्छ ।

खटलाई प्राचीन लायकू दरबारसम्म पुर्‍याइन्छ र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने गरिन्छ ।

मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पुर्‍याएपछि जात्रा सकिने गर्छ ।

धिमे, नायि्खं, छुस्यालगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आ-आफ् नो घरबाट चिराग बोक्दै बनेपाको लायकुमा जम्मा भइ जलेश्वर महादेव (जसिगा)सम्म पुगेर विसर्जन गर्ने प्रचलन रहेको चण्डेश्वरीका जानकार ज्ञानकाजी मानान्धरले बताए ।

जात्राको क्रममा चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरुलाई १२ वटा बोका बलि दिने र ती मध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने चलन छ भने बाँकी बोकाको मासु कलंदान गरिन्छ ।

पूणिर्माकै दिन बनेपाको तीनधारामा बनाइएको पांग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई बिभिन्न बाजागाजासहित युवाहरुले बोकेर ल्हाका पालुं हाः भन्दै चण्डेश्वरी पुर्‍याउने प्रचलन छ ।

खटलाई मन्दिर नजिक पुर्‍याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ ।

कलंदान जात्रामा मासुलाई प्रसाद स्वरुप भीडमा फालिन्छ । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहक लगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकोले यो जात्रालाई विशेष महत्वकासाथ लिइने गरिएको छ ।

सबै समुदायसँग प्रत्यक्ष जोडिएको हुनाले यो जात्रालाई वनेपाका बासिन्दाले दशैं तिहारभन्दा ठूलो पर्वको रुपमा लिने गरेका छन् ।

किंवदन्ती अनुसार २५ सय वर्ष अगाडि आराध्यदेवी चण्डेवरी माइको जात्रा धार्मिक कथन अनुसार दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाए ।

त्यसपछि पाताल, मच्छेमण्डल र स्वर्गमा चण्डासुरले हाहाकार मच्चाउन थालेपछि उनीहरु भागेर बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा पुगे ।

स्वर्गका राजालाई समेत चण्डासुरले जितेपछि देवताहरुको भागाभाग भयो । देवताहरु ज्यान जोगाउनका लागि पन्छीको रुप धारण गरी वनबाट अलप भए ।

चण्डासुरका अनुयायीले रक्तचन्दन वनमा कोही नभएको र एउटी राम्री युवती चम्पक वृक्षभित्र बसेको बताएपछि चण्डासुरले वृक्षमा प्रहार गरे । त्यहाँबाट कुमारी चण्डेश्वरी प्रकट भइन, चण्डासुरलाई मार्न प्रयास गरिन् तर सकिनन् ।

त्यसपछि उनी भगवतीको रुपमा प्रकट भएर चण्डासुरको बध गरेर देवताको रक्षा गरेको खुसीयालीमा जात्रा मनाइँदै आएको जनविश्वास रहिआएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment