Comments Add Comment

अब बन्ने हुवावे फोनमा यूट्युब र गुगल म्याप नचल्ने

६ जेठ, काठमाडौं । सर्च इन्जिन गुगलले स्मार्ट फोन तथा टेलिकम उत्पादक कम्पनी हुवावेका फोनलाई उपलब्ध गराउँदै आएको प्राविधिक सहायता तथा सुरक्षामा कटौती गरेको छ ।  चिनियाँ कम्पनी हुवावे र अमेरिकाबीच विवाद बढिरहेका बेला गुगलले  प्रावधिक सहायता सीमित गर्ने निर्णय गरेको हो ।

एक विज्ञप्ति जारी गर्दै गुगलले अमेरिकी सरकारको निर्णय पालना गर्ने क्रममा रहेको जनाएको छ ।

गुगलको यस्तो निर्णयसँगै हुवावेले गुगलको सुरक्षा अपडेट र प्राविधिक सहयोग गुमाएको छ । र, हुवावेका नयाँ डिभाइसमा यूट्युब र गुगल म्याप पनि हुने छैनन् । चर्चित गुगल एप्समा पनि हुवावेका फोनले पहुँच पाउने छैनन् ।

हुवावेले गुगलकाे पछिल्लाे कदमबारे आफ्नो धारणा सार्वजनिक गरेको छैन । बीबीसीका अनुसार हुवावेले प्रतिक्रिया दिन  इन्कार गरेको छ ।

ट्रम्प प्रशासनले हुवावेलाई लाइसेन्सबिना अमेरिकी फर्महरुले कारोबार गर्न नसक्ने निर्णय गर्दै प्रतिबन्ध लगाएको थियो । आफ्ना नागरिकलाई हुवावे फोन खरीद नगर्न पनि अमेरिकाले भनिसकेको छ । अमेरिकासँगै बेलायत, न्युजिल्यान्ड र अष्ट्रेलियाले पनि फाइभ जी नेटवर्कमा हुवावेका उपकरण प्रयोगमा रोक लगाएका छन् ।

विश्वकै दोस्रो ठूलो स्मार्ट फोन निर्माण कम्पनी हुवावेले आफ्ना उत्पादनहरुमार्फत् जासुसी गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ । हालै गोप्य सूचना चोरी भएको भन्दै अमेरिकाले साइबर क्षेत्रमा राष्ट्रिय संकट घोषणासमेत गरेको थियो । यो घोषणा हुवावेप्रति नै लक्षित थियो ।

त्यसअघि अमेरिकाको न्याय विभागले चिनियाँ दूरसञ्चार कम्पनी हुवावे र यसकी प्रमुख वित्त अधिकृत मेङ वाङ्जुलाई क्यानडाबाट पक्राउ गरेको थियो । हुवावे र वाङ्जुमाथि बैंक ठगी, न्यायमा अवरोध, सूचना प्रविधि चोरीलगायतका २३ अभियोग अमेरिकाले लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment