Comments Add Comment

गाउँघरको अँध्यारो कथाः पारिवारिक विचलन, बालबच्चा विल्लीवाठ

गाउँघर अहिले उजाड र रुखो हुँदैछ । त्यहाँ युवाहरु छैनन् । बुढापाकाले घर रुँघेर बसेका छन् । चाडपर्व, भोज भत्तेरमा रमाउने मान्छे छैनन् । हाँसखेल गर्ने साथीसंगी छै्रनन् । आँगनमा उन्मुक्त खेल्ने बालबच्चा छैनन् । सर्वत्र सुनसान र उराठलाग्दो छ ।

यस्ता घर छैनन्, जहाँ वैदेशिक रोजगारीको प्रभाव नहोस् । हरेकका लक्का जवान छोरा विदेशिएका छन् । कतिका नव-जवान श्रीमान् विदेशिएका छन् । बालबच्चाले आफ्ना पिताको न्यानो स्पर्श र सुरक्षा गुमाएका छन् ।

यसरी विदेशिनेको दुःख उस्तै छ ।

कति दलालको ठगमा परेर विदेशमै हराएका छन् । कतिले भनेजस्तो काम पाएका छैनन् । कति सग्लो फर्किएका छैनन् । कति बर्षौदेखि परिवारबाट बिच्छेद छन् ।

अदृश्य कथा

दम्पतीबीच आपसमा सल्लाह हुन्छ, एकजना विदेश जाने, अर्कोले छोराछोरी सम्हाल्ने ।

श्रीमान् विदेश जान्छन् । श्रीमती सदारमुकाम/शहर पस्छन् । डेरा लिन्छन् । छोराछोरीलाई अंग्रेजी स्कुलमा भर्ना गरिदिन्छन् । छोराछोरीलाई राम्रो शिक्षा/दिक्षा दिन पाएकोमा श्रीमान् ढुक्क हुन्छन् । सासु-ससुरासँग अलग भएर शहरमा डेरा बस्दा श्रीमतीले पनि हलुंगो महसुष गर्छिन् ।

श्रीमान् दुःखजिलो गरेर विदेशबाट पैसा पठाउन थाल्छन् । विदेश जाने क्रममा लागेको ऋण तिर्छन् । छोराछोरीको विद्यालय शुल्क, कोठाभाडा पठाइदिन्छन् । यहाँसम्म दम्पतीबीचको तालमेल मिलेकै हुन्छ ।

तर, समय सधै एकनास हुँदैन । विदेशमा श्रम बेचेर सधै एकनासले कमाई नहुन सक्छ । समयमा पैसा पठाउन सक्दैनन् । यता विद्यालयको शुल्क, डेरा भाडा, रासन खर्च लगायत बुझाउने भार श्रीमतीको टाउकोमा आइलाग्छ ।

यतिबेला गाउँ-शहरमा लघुवित्त घुसि्रएको छ । पैसाको संकट परेको र श्रीमान् नभएका महिलाहरु उनीहरुको पहिलो शिकार हुन् । महिलाहरुको समूह बनाउने र समूहलाई नै जमानत राख्ने गर्छन् । समूहको मञ्जुरीमा हात-हातमै पैसा दिइन्छ । आपत परेको अवस्थामा यति सजिलै पाइने पैसा चलाउन थाल्छन् ।

त्यसै त लघु वित्तबाट लिएको ऋणको ब्याजदर औधी महंगो हुन्छ । त्यसमाथि यसरी लिएको ऋण उनीहरुले आफुखुसी खर्च गर्छन् । कति आफ्नो अभाव टार्छन् भने, कति फजुल खर्च गर्छन् ।

यता ऋण बढ्दै जान्छ । एकातिरको ऋण तिर्न अर्कोतिर माग्नुपर्ने अवस्था आउँछ । उता श्रीमानले रगत-पसिना बगाएको पैसा ऋण तिर्दैमा सकिन्छ ।

अब श्रीमान र श्रीमतीबीच संवाद पातलिदै जान्छ । ऋणै ऋणको चंगुलमा फसेर उनीहरुको घरबार लथालिंग हुन्छ । आखिरमा श्रीमान्-श्रीमतीबीच फाटो आउँछ ।

अर्कोतिर कस्तो प्रवृत्ति पनि पाइन्छ भने, छोराछोरी विद्यालयमा, श्रीमान् विदेशमा । श्रीमती एक्लै डेरामा । उनीहरुलाई दिनभर यसै बस्न पट्यार लाग्छ । विदेशिएका श्रीमानसँग महंगा मोवाइल मगाउँने । फेसबुक आइडी खोल्ने । वाइफाई वा डाटाबाट दिनभर इन्टरनेट चलाएर श्रीमान्-श्रीमती भिडियो च्याट गर्ने ।

यही क्रममा उनीहरु नयाँ-नयाँ साथीसँग जोडिन थाल्छन् । लामो समयसम्म छुटिएका दम्पतीले शारीरिक सुखभोग खोजिरहेकै हुन्छन् । आखिरमा फेसबुकमार्फत जोडिन आउने नयाँ साथीसँग उनीहरुको सम्बन्ध स्थापित हुन्छ । सामान्य चिनजान, भलाकुसारी बाक्लिदै जाँदा उनीहरुबीच अन्तरंग कुराकानी हुन्छ । र, उनीहरु शारीरिक सम्बन्ध बनाउने मोडसम्म पुग्छन् । यस किसिमको कृत्य गोप्य रहँदैन । श्रीमान्-श्रीमतीमा एकअर्काको पोल खुल्छ । विदेशबाट घर र्फकदा न सम्पति हुन्छ, न श्रीमती । छोराछोरीको बिल्लीबाठ ।

झट्ट सुन्दा यी आधारहिन लाग्नसक्छ । वा काल्पनिक जस्तो पनि । तर, वर्तमानमा हाम्रो समाजले झेलिरहेको समस्या हो । यसले समाजमा ठूलो विचलन ल्याएको छ । परिवारमा विखण्डन ल्याएको छ । धेरै बालबच्चाले आमाबुवा गुमाएका छन् । वैदेशिक रोजगारीसँगै बढेको आकंक्षा, सुविधा भोग गर्ने चाहना, परपुरुष वा स्त्रीसँगको सम्बन्ध आदिले धेरैको घरबार बिगि्रएको छ । जीवनको सिलसिला टुटेको छ ।

विथोलिदैछ घरबार

वैदेशिक रोजगारी अहिले अनिवार्य जस्तै हुन थालेको छ । दिनहुँ औसत १५ सय युवा बाहिरिदैछन् । यसबाट राज्यलाई रेमिट्यान्स प्राप्त भएको छ । कति घर-परिवारले आर्थिक उन्नती पनि गरेका छन् । विदेशमा सीप सिकेर नेपालमै उद्यम गर्नेहरु पनि छन् । तर, यसको अर्को पाटो भने निकै भयावह छ ।

वैदेशिक रोजगारीले धेरैजनाको घरबार विथोलिएको छ । श्रीमान्-श्रीमती अलग भएपछि कति बालबच्चाको विल्लीवाठ भएको छ ।

यसरी घरबार बिग्रनुमा दम्पतीबीचको संवाद, घरायसी छलफल कम हुनु पहिलो कारण हो । घर व्यवहार चलाउनका लागि श्रीमान र श्रमितीबीच आपसमा सरसल्लाह हुनुपर्छ । तर, अलग-अलग भूगोलमा बसेका श्रीमान् र श्रीमतीलाई नियमित रुपमा घरायसी सरसल्लाह गर्ने अनुकुलता मिलदैन । यही कारण उनीहरुको घर व्यवहारको तालमेल बिग्रदै जान्छ ।

अर्को कारण चाहि, वैदेशिक रोजगारीको कारण श्रीमान र श्रीमतीको ओछ्यान अलग हुन्छ । दुबैमा शारीरिक भोग गर्ने इच्छा भएपनि त्यसलाई दबाएर बस्छन् । जब कुनै किसिमको अनुकुलता वा मौका प्राप्त हुन्छ, उनीहरु आफ्नो मर्यादालाई भुलेर विवाहेत्तर सम्बन्ध बनाउन तयार हुन्छन् । यसले एकअर्कामा शंका-उपशंका पैदा हुने नै भयो । आखिरमा दम्पतीबीचको विश्वास र भरोसा नै टुट्न जान्छ ।

अहिले गाउँघरभरी छ्यापछ्याप्ती लघुवित्त पसेको छ । यसले महिलालाई लक्षित गरेर उद्यम व्यवसायका लागि भनेर ऋण उपलब्ध गराउँछ । यसरी दिएको ऋणको चर्को व्याज असुल्छ ।

खासमा महिलाहरुमा उद्यमसिलता विकास गर्नका लागि भनेर लघुवित्तले ऋण लगानी गर्नुपर्ने हो । तर, अहिले भइरहेको अभ्यास फरक छ । जसरी हुन्छ व्याज असुल्ने चक्करमा जथाभावी ऋण प्रवाह गरेको छ । घर-दैलोमा पाइने ऋणले पनि थुप्रैको घरवार बिगारिदिएको छ । पारिवारिक सल्लाह र योजना बिना लिइने यस्ता ऋणले धेरैको घरव्यवहार लथालिंग बनाइदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment