Comments Add Comment

पछाडि बस्नेले हेल्मेट लाउँदा १२ अर्बको व्यापार !

हेल्मेट अनिवार्य गर्ने ट्राफिक प्रहरीको प्रस्ताव व्यवहारिक ?

६ जेठ, काठमाडौं । यातायात व्यवस्था ऐनमा संशोधन गरेर दुई पाग्रे सवारीमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी भइरहेको छ ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्तराज पन्तले आइतबारका अनुसार आईएसओ मान्यता प्राप्त हेलमेट मात्र प्रयोग गर्नुपर्ने बताए । यो नियम लागू भइसकेको छैन किनकी ऐन संशोधन गर्न बाँकी नै छ ।

तर, व्यवस्था कति आवश्यक छ कि छैन ? व्यवहारिक छ कि छैन भन्ने बहस भने सुरु भएको छ ।

यो बहस सुरु गर्नुअघि देशभर कति छन् दुईपांग्रे सवारी साधन भन्ने चर्चा गरौं । यातायात व्यावस्था विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/०७५ सम्ममा २५ लाख ३० हजार ७२२ वटा दुई पांग्रे सवारी साधन दर्ता भएका छन् । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा कति थपिए भन्ने तथ्याङ्क आइसकेको छैन ।

तर अघिल्लो तीन वर्षको औषत तथ्याङ्कलाई आधार मान्ने हो भनेे यो वर्ष पनि दुई लाख हाराहारी स्कुटर तथा मोटरसाइकल थपिएका छन् ।

दैनिक ६०० मोटरसाइकल तथा स्टुकर थपिने नाडा अटोमोवाइल एसोसिएसन बताउँछ ।

यातायात व्यवस्था विभागको तथ्याङ्कले पनि पछिल्ला तीन आर्थिक वर्षमा दुईपांग्रे सवारी थविने क्रम उच्च देखाएको छ । आर्थिक वर्ष ०७२/०७३ मा दुई लाख ६७ हजार ४३९, आर्थिक वर्ष ०७३/०७४ मा ३ लाख ५४ हजार ७१ तथा र ०७४/०७५ मा तीन लाख ४१ हजार ६२३ मोटरसाइकल तथा स्कुटर विभागमा दर्ता भएका छन् ।

समग्रमा देशभर २७ लाख मोटरसाइकल तथा स्कुटर दर्ता भएका छन् । तर, यसमध्ये कति चालु अवस्थामा छन् भन्ने अनुमान लगाउन गाह्रो छ । तर, यदि पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने नियम लागू हुने हो भने एकै पटक लाखौं हेलमेटको माग हुन्छ ।

आईएसओ मान्यता प्राप्त हेलमेट

ट्राफिक प्रहरी महाशाखाले विभागलाई पठाएको संशोधनमा यात्रुले प्रयोग गर्ने हेलमेट आईएसओ मान्यता प्राप्त हुनुपर्ने पनि उल्लेख छ । तर, अहिले मोटरसाइकल तथा स्कुटर चालकले प्रयोग गरिरहेको सबै हेलमेट आईएसओ मान्यता प्राप्त छन् भन्ने पनि छैन ।

यो पनि पढ्नुहोस ट्राफिकको नयाँ नियम : अब मोटरसाइकलमा पछाडि बस्नेलाई पनि हेलमेट

त्यसैले नयाँ नियम लागू भयो भने हेलमेटको ब्यापार हृवात्तै बढ्ने प्रष्ट छ । हेलमेट व्यावसायीहरुका अनुसार आईएसओ मान्यता प्राप्त हेलमेटको मूल्य न्युनतम् ३५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म पर्छ । यदि नयाँ पुराना गरेर २७ लाख हेलमेट मात्र विक्री भयो र त्यसको औसत मुल्य ४५ सय मान्ने हो भने १२ अर्ब बढीको कारोबार हुन्छ ।

किन हेल्मेट अनिवार्य गरियो ?

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्र ११ हजार १०१ मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेका छन् । उक्त दुर्घटनामा ३ हजार १ सय ८६ जना घाइते भएका छन भने १५७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अधिकांशको मृत्युको कारण टाउकोमा लाग्ने चोटका कारण हुने महाशाखा प्रमुख एसएसपी बसन्त पन्त बताउँछन् । प्रायः दुर्घटनास्थल पुग्दा मृतकको टाउको फुटेको देखिन्छ । पन्तका अनुसार दुर्घटना भएर लड्दा अधिकांश चालकको टाउकोबाट हेल्मेट फुत्किसकेको हुन्छ । हेल्मेटकै कारण नागरिकको मृत्युदर घटाउन यस्तो व्यवस्था सिफरिस गर्नु परेको पन्त बताउँछन् ।

ट्राफिक प्रहरीको प्रस्ताव व्यवहारिक छ ?

तत्कालीन राजा ज्ञानेन्ऽ शाहको प्रत्यक्ष शासनकालका स्वास्थ्यमन्त्री भएका डा.उपेन्ऽ देवकोटाले मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याएका थिए । तर, निरन्तरता पाउन सकेन । पूर्वडीआईजी केशव अधिकारी ट्राफिक प्रहरीको यो प्रस्तावलाई व्यापारिक वर्गको स्वार्थबाट प्रेरित भएको बताउँछन् ।

कुनै अध्यायन बिनै चर्चाको लागि यस्तो कुरा गरिएको उनको तर्क छ । अधिकारीका अनुसार १७ वर्ष अगाडि ल्याइएको दुवै जनाले हेल्मेट लगाउने नियम कालान्तरमा स्वार्थ प्रेरित भएको प्रमाणित भएपछि तुहिएको थियो । सडकको डिजाइन, चालकको जनचेतना स्तर लगायतका कारण नेपालमा फलामै फलामको हेल्मेट लगाए पनि दुर्घटनाले हुने मृत्युदर नघट्ने अधिकारी बताउँछन् ।

यो पनि पढ्नुहोस हेल्मेट भिर्दैमा सुरक्षित भइँदैन, गुणस्तर पनि हेरौं

तर, सडक सुरक्षा विज्ञ पदमबहादुर शाही ट्राफिक प्रहरीको सुझाव मनन योग्य रहेको बताउँछन् । हरेक निर्णय आर्थिक विषयसँग जोडिने भन्दै उनले सुरक्षालाई पैसासँग दाँज्न नमिल्ने बताउँछन् ।

सवारी तथा यातायात व्यवस्था ऐन ,२०४९ को दफा १३० को उपदफामा २ मा दुई पांग्रे सवारीमा बस्ने यात्रुका लागि पनि हेल्पेट लगाउनु पर्ने उल्लेख छ । उक्त दफामा मोटरसाइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालक तथा उक्त सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्छ भनिएको छ ।

ऐनलाई टेकेरै ट्राफिक प्रहरी यो नियम कार्यन्वयनका लागि जान सक्छ । गुणस्तरहीन हेल्मेट प्रयोग अत्याधिक पाइएकाले ऐन संशोधनमार्फत आईओएस मान्यता प्राप्त हेल्मेट लगाउनुपर्ने प्रस्ताव गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख पन्तले बताए ।

पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने प्रस्ताव कुनै स्वार्थ समूहबाट प्रेरित नभई जनताको जीउधनको सुरक्षाको लागि भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment